Close This

भन्सार नाकाबाट आयात बढ्दै, निर्यात न्यून

मंगलबार श्रावण १, २०७५/ Tuesday 07-17-18
Paschim Today

पश्चिम टुडे, धनगढी १ साउन । 
कैलाली भन्सार नाका भएर आयात वर्सेनि बढ्दै गए पनि निर्यातमा भने बढोत्तरी हुन सकेको छैन ।
यो नाका भएर भारतमा दशक अगाडि जुन वस्तु निकासी हुन्थ्यौ, अहिले पनि त्यहिमात्रै भइरहेका छन् । कैलाली भन्सार कार्यालयले दिएको जानकारी अनुसार यहाँबाट कट्ठा, कच, टार्पेनटाइनमात्रै निर्यात हुने गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ को असार २९ गतेसम्म कैलाली भन्सार भएर ६२ करोड ४५ लाख मूल्य बराबरको वस्तुहरु निर्यात भएको छ । भारततर्फ क्वारेन्टाइन चेकपोष्ट नरहेकाले वस्तु निर्यातमा बढोत्तरी हुन नसकेको भन्सार अधिकृत एवम् सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।
‘हिजोका दिन जे चीज निकासी हुन्थ्यौं, अहिले पनि त्यहि मात्रै यो नाकाबाट निर्यात भइरहेको छ’, उहाँले भन्नुभयो । भारततर्फ क्वारेन्टाइन चेकपोष्ट बनेमा निर्यातमा बृद्धि हुने उप्रेतीले विश्वास व्यक्त गर्नुभयो । भारतले गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट बनाउने तयारी गरिरहेको जनाइएको छ ।
निर्यातमा बृद्धि हुन नसके पनि आयात भने वर्सेनि बढेको बढ्यै छ । चालू आर्थिक वर्षको असार २९ गतेसम्म मुख्य सात प्रकारका वस्तुमात्रै सात अर्ब ८८ करोड मूल्य बराबरको आयात भएको छ ।
सबैभन्दा बढी पेट्रोलियम पदार्थ कैलाली भन्सार नाका भएर आयात हुने गरेको छ । कुल आयातको ४५ प्रतिशत पेट्रोलिम पदार्थले ओगटेको छ । डिजेल चार अर्ब ३० करोड, पेट्रोल ८१ करोड १६ लाख, ग्याँस ४४ करोड २७ लाख मूल्य बराबरको आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
यसैगरी, विस्कुटले ७ प्रतिशत, पेपरले ३ देखि ४ प्रतिशत, दालमोठ, पापड, नमकिन, भुजियाले २ देखि ३ प्रतिशत, स्प्रिटले १ देखि २ प्रतिशत कुल आयातको स्थान ओगटेको छ । चामलले कुल आयातको डेढ प्रतिशत ओगटेको छ ।
आर्थिक वर्ष २०७४/०७५ को असार २९ गतेसम्म ८२ करोड ५३ लाख मूल्य बराबरको १७ लाख ४५७ मेट्रिकटन चामल आयात भएको कैलाली भन्सारले जनाएको छ । सो कार्यालयले चामल आयातबाटमात्रै पाँच करोड ३१ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को वैशाखसम्म ७४ करोड मूल्य बराबरको १२ हजार ७२० मेट्रिकटन चामल आयात भएको थियो । आव २०७४/०७५ को वैशाखसम्म १२ हजार ६८० मेट्रिकटन चामल आयात भएको छ ।
कैलाली भन्सार नाका भएर काठमाण्डौंका लागि तयारी मनसुली र यहाँ सञ्चालित मिलका लागि चामल आयात हुने गरेको सूचना अधिकारी उप्रेतीले जानकारी दिनुभयो ।
देउकी खुट्खाले दुई करोड ६४ लाख मूल्य बराबरको सूर्ती आयात गरेको छ । सूर्ती आयातबाट चार करोड ६९ लाख राजस्व सङ्कलन भएको छ । १७ करोड १२ लाख रुपैया बराबरको ११ हजार ८२४ मेट्रिकटन कोइला आयात भएको छ । कोइला आयातबाट तीन करोड ३२ लाख रुपैया राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
कैलाली भन्सार नाका भएर आयात बढ्दै गएकाले राजस्व सङ्कलनको लक्ष्य पनि बढ्दै गएको सूचना अधिकारी उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४० प्रतिशत बृद्धि गरेर यो भन्सार कार्यालयका लागि पाँच अर्ब ३७ करोड रुपैया राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा कैलाली भन्सारले लक्ष्यको ८ प्रतिशत बढी चार अर्ब २० करोड रुपैया राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्षमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।
सबैभन्दा बढी जेठ महिनामा ४५ करोड ४३ लाख र असारमा ४२ करोड रुपैया राजस्व सङ्कलन भएको सूचना अधिकारी उप्रेतीले जानकारी दिनुभयो । भन्सार कार्यालयले साउन र भदौं महिनामा भने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन । साउनमा २७ करोड १५ लाख लक्ष्य रहेकोमा १९ करोड ४३ लाख र भदौमा ३१ करोड तीन लाख लक्ष्य रहँदा २१ करोड ९६ लाख रुपैया राजस्व सङ्कलन गरिएको थियो ।
भन्सारमा लागू भएको राजस्व सङ्कलनको नयाँ प्रणाली एक्सपोर्ट र इम्पोर्ट कोडका कारण आर्थिक वर्षको सुरुवाती दुई महिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको उप्रेतीले बताउनुभयो ।
कैलाली भन्सारले आर्थिक वर्ष २०७३/०७४ मा दुई अर्ब सात करोड रुपैया लक्ष्य पाएकोमा लक्ष्यभन्दा बढी दुई अर्ब ९२ करोड रुपैया राजस्व सङ्कलन गरेको थियो ।
४५ करोड ९४ लाखको तरकारी, फलफूल
कैलाली भन्सार नाका भएर एक वर्षको अवधिमा भारतबाट ४५ करोड ९४ लाख रुपैया बराबरको तरकारी र फलफूल आयात भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को असार ८ गतेसम्म यति मूल्य बराबरको तरकारी र फलफूल आयात भएको कैलाली भन्सार कार्यालयले जानकारी दिएको छ । यद्यपि, गत विगतभन्दा यो आर्थिक वर्षमा तरकारी र फलफूल आयात केहि घटेको भन्सार अधिकृत एवम् सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/०७५ मा ३२ करोड ८६ लाख मूल्य बराबरको तरकारी १८ हजार ६५६ मेट्रिकटन आयात भएको छ । तरकारी आयातबाट भन्सार कार्यालयले एक करोड ६६ लाख रुपैया राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा ५२ करोड ९६ लाख मूल्य बराबरको २३ हजार ६८७ मेट्रिकटन तरकारी आयात भएको थियो । त्यसबाट दुई करोड ८० लाख रुपैया राजस्व संकलन भएको थियो । भारतबाट आलु, प्याज, टमाटर, हरियो साग आयात हुँदै आएको भन्सार अधिकृत उप्रेतीले जानकारी दिए ।
यसैगरी, फलफूलमा स्याउ, सुन्तला, आँप, अङ्गुर भारतबाट आयात हुँदे आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १३ करोड ८ लाख रुपैया बराबरको दुई हजार ४१२ मेट्रिकटन फलफूल आयात भएको छ । जसबाट ६५ लाख रुपैया राजस्व संकलन भएको भन्सारले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा १३ करोड ५६ लाख मूल्य बराबरको तीन हजार २७४ मेट्रिकटन फलफूल आयात भएको थियो । उक्त आवमा फलफूल आयातबाट ७१ लाख ४८ हजार रुपैया राजस्व संकलन भएको थियो ।
तरकारी खेतीमा स्थानीयको आकर्षण बढ्दै गए पनि यो जिल्ला अझै तरकारीमा आत्मनिर्भर हुन सकेको छैन । यद्यपि, पहिलेकोभन्दा अहिले भारतबाट तरकारी आयात धेरै घटेको जनाइएको छ । यहाँका बजारमा फलफूल भने प्रायः भारतबाटै आउने गरेको छ ।