Close This

प्रहरी इञ्चार्जले नै काठ चोरेपछि ...

बुधबार श्रावण २, २०७५/ Wednesday 07-18-18
Paschim Today
प्रहरी निरिक्षक बोहराले चोदै गरेको अवस्थामा बरामद गरिएको काठ र ट्रयाक्टर । 

पश्चिम टुडे, धनगढी २ साउन । 
डोटीको विपिनगर ईलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहराले चोरेर लैजादै गरेको सिसौको काठ सहित ट्रायाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् ।
सोमबारराति प्रहरी इञ्चार्ज बोहरा काठ तस्करी गरेर धनगढी तर्फ लैजादै गरेको सूचना थाहा पाएपछि स्थानीय यूवाहरुले काठ नियन्त्रणमा लिएको डोटी बडिकेदार गाउँपालिका वडा नं १ का वडा अध्यक्ष डम्बरबहादुर बोहराले बताए । काठ चोरी गर्नमा प्रयोग गरिएको से १ त ५१८९ नम्बरको ट्रायाक्टर समेत स्थानीयले नियन्त्रणमा दिएका छन् । 
स्थानीयहरुका अनुसार प्रहरी निरीक्षक बोहराले ६ वटा सिसौका गोलिया चोरेर लैजादै गरेका थिए । उनले काठ लोडगर्नमा पनि प्रहरीलाई नै प्रयोग गरेका थिए । काठमाण्डौमा घर बनाउँदै गरेका बोहराले सिसौंका गोलिया घनगढीका स–मिलहरुमा लगेर चिरान गरी काठमाण्डौ लैजाने योजना अनुरुप चोरी गरेको स्थानीयहरुले बताएका छन् । बरामद गरेको काठ र ट्रायाक्टर अहिले विपीनगर प्रहरी चौकी नजिक राखिएका छन् । 
चोरीमा संलग्न प्रहरी निरिक्षक बोहरालाई कारबाहीको माग राख्दै स्थानीयले ईलाका प्रहरी कार्यालय विपीनगरमा धर्ना समेत दिएका छन् । त्यसैगरी इलाका वन कार्यालय विपीनगरमा प्रहरी निरीक्षक बोहरा विरुद्ध काठ चोरीको मु्द्दा दर्ता समेत गराएका छन् ।
जिल्ला वन कार्यालय डोटीका सहायक बन अधिकृत सुरेश रोकायले आफुले घटनाका बारेमा बुझिरहेको बताए । उनले भने,‘ प्रमाणित भएमा प्रहरी निरिक्षक बोहरालाई अबैध रुपमा काठ ओसार प्रशार सम्वन्धी कसुरमा कारर्वाही हुन्छ । ठहर भएमा बिगो जफत गरी दोब्बर जरिमाना हुन्छ । 
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले आफूलाई घटनाको बारेमा जानकारी नभएको बताए । उनले भने,‘ प्रमाणित भए घटनाको प्रकृति हेरेर विभागीय कार्वाही गरिने बताए । स्थानीयहरुले भने चोरीमा संलग्न प्रहरीले उल्टै धम्की दिइरहेको बताएका छन् । समाजमा सुरक्षाका लागि खटाएका रक्षक नै चोरीमा संलग्न भएपछि कस्ले सुरक्षा दिने बिपीनगरका स्थानीय टेकबहादुर बोहराले भने,‘यस्ता ब्यक्तिले हाम्रो धनमालको सुरक्षा कसरी गर्लान । 
काठचोरीमा संलग्न भनिएका प्रहरी निरिक्षक नृपबहादुर बोहराले आफ्नो नाममा स्थानीयले काठ चोरी गरेको उजुरी जिल्ला वन कार्यालयमा दिएको बताए । उनले आफ्नो संलग्नता नभएको जिकिर गरे । तर स्थानीयहरुले उनलाई रंगेहात समातेको बताएका छन् ।