Close This

डा. गोविन्द केसीको जीवन रक्षा गर 

बिहीबार श्रावण ३, २०७५/ Thursday 07-19-18
Paschim Today

२० दिनदेखि जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । ६१ वर्षीया गोविन्द केसी जीवनकै कठिन अवस्थामा छन् । यद्दपि उनी रत्तिभर पनि बिचलित भएका छैनन । तर सरकार भने उनको यस्तो अवस्थामा पनि चिन्तित वा गम्भीर छैन । यो अत्यन्त खेदजनक कार्य हो ।
गोविन्द केसी निष्ठा र आदर्शका प्रतिमूर्ति हुन् । उनी कुशल हाडजोर्नी तथा नशारोग बिशेषज्ञ हुन् । जनताको सेवा उनको जीवनको एउटै लक्ष्य छ । जो दिनरात, घामपानी, वर्षा पहिरो, भुकम्प केही नभनी अप्ठ्यारोमा परेकाहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् । जसलाई अर्थोपार्जन र जोड्नुसंग कुनै अर्थ छैन । जसले जीवनमा कहिल्यै निजी क्लिलिकमा काम गरेन । जसले आफूले महिनाभरी काम गरेर राज्यबाट पाएको तलव जम्मा गरेर दूरदराज र राज्यको आँखा नपुगेका जनताको स्वास्थ्य उपचारमा खर्च गरिरहेका छन् । जसलाई राजनीतिसंग कुनै वास्ता छैन । जसले न घरखेत घडेरी जोडेका छन् । जसले सम्पत्तीका नाममा मोवाईल र मोटरसाईकलसम्म जोडेनन । तिनै डा. केसीलाई लिएर पछिल्लो समयमा सरकार र उसका पक्षधरहरुले गरेको चरम वेवास्ता र टिप्पणी संवेदनाशुन्य छन् । डा. केसीलाई माफियाले चलाएको आरोप लगाउनेहरुको कुतर्क सुन्दा यस्तो लाग्छ, मान्छेभित्रको संवेदनाको मृत्यु भईसक्यो । अझ यस्तो आरोप लगाउनेहरु स्वास्थ्य क्षेत्रका माफियाहरु नै छन् । जसको अन्ध समर्थन सरकार पक्षधहरुले पनि गर्नु उदेक लाग्दो छ ।
डा. केसीलाई लिएर हतारमा वा सरकारको बचाउ गर्ने अभिप्रायले टिप्पणी गर्नेहरुले एक पटक केसीको बिगत पनि हेर्न जरुरी छ । उनले गरेका काम पनि हेर्न आवश्यक छ । 
डा.केसी हाम्रो युगका महात्मा गान्धी हुन् । जो सत्याग्रहको बलमा जनतालाई सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा दिलाउन राज्यलाई निरन्तर दवाव दिईरहेका छन् । जो गरीवका छोराछोरी पनि चिकित्सक बन्न पाउने बाटो खुलोस भनेर उनीहरुका लागि भोकभोकै बसेर सरकारलाई दवाव दिईरहेका छन् ।
संयोग हो, अहिले नेकपाको सरकार छ । नेकपा र नेकपाका कार्यकर्ताहरुले यो बुझ्न हुदैन कि केसीको आन्दोलन सरकारका बिरुद्ध हो । केसीको आन्दोलन त माथेमा कार्यदलको प्रतिबेदन कार्यान्वयन नगर्ने शासकका बिरुद्ध हो । हिजो उनीसंग सम्झौता गरेर पनि त्यसको कार्यान्वयन नगर्ने मैमत्त सरकार बिरुद्ध हो । जो दुईतिहाईको बलमा जे गरेपनि हुन्छ भनेर डा.केसीका आवाजलाई कुल्चेर अघि बढ्ने कुचेष्टा गरिरहेको छ ।
डा. केसीलाई एउटा व्यक्तिका रुपमा मात्र हेर्ने र बुझ्ने गल्ती सरकार र उसका पक्षहरुले गर्न हुदैन । यदि डा. केसीको ज्यानलाई केही भए यो सरकारले ठूलो मूल्य चुकाउनु पर्नेछ । हिजो काँग्रेसले जे गल्ती ग¥यो, त्यही बाटोमा यो सरकार पनि हिड्ने धृष्टता गरिरहेको हो भने पाँच वर्षपछि नेकपाको अवस्था अहिलेको काँग्रेसको भन्दा बिजोगपूर्ण हुनेछ । 
समृद्ध नेपाल, सुखी नेपालीको सपना बाड्ने नेकपाका अध्यक्षको नेतृत्वमा कम्युनिष्टहरुको बहुमतको सरकार छ । समाजवादमार्फत गरीव र सर्वहाराबर्गको उन्मुक्ति र विकास जसको लक्ष्य हो । तर पछिल्लो पटक समाजवादका नाममा मार्सीवाद जन्मिएको आरोप नेकपामाथि लागेको छ । सरकारले आफूमाथि लागिरहेका आरोप चिर्न र जनताको विश्वास कायम राखिरहन डा. केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षा गर्न जरुरीछ । यसमैमा सरकार, मुलुक र जनता सबैको हित छ ।