Close This

कर छली गर्ने ६८ जना व्यवसायीलाई कारबाही

शुक्रबार श्रावण ४, २०७५/ Friday 07-20-18
Paschim Today
आन्तरिक राजस्व कार्यालयमा कर तिर्न आएका करदाताहरु । 

पश्चिम टुडे, धनगढी ४ साउन । 
आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७४/०७५ मा कर छली गर्ने ६८ जना व्यवसायीलाई कारबाही गरी करको दायरा ल्याएको छ । 
    उनीहरुले कर छलेको पाइएपछि कारबाही गरिएको हो । आम्दानी अनुसार कर नतिरेकाले ती व्यवसायीहरुमाथि जरिवाना सहितको कर लगाइएको आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत कृष्णबहादुर बोहराले जानकारी दिए । उनले ती सबैलाई कारबाही गर्दा असुल्नु पर्ने कर तीन करोड ५४ लाख पाँच हजार रुपिया पुगेको बताए । 
    ‘जसमध्ये, ३४ प्रतिशतले जरिवाना सहितको कर तिरी सकेका छन्’, बोहराले भने–‘केहि तिर्ने प्रक्रियामा रहेका छन् ।’ पछिल्लो समय आन्तरिक राजस्व विभागले कर सङ्कलनको प्रणालीमा सुधार गरेपछि व्यवसायीले ठिक तरिकाले कर तिरेको वा छली गरेको पुष्टि आन्तरिक राजस्व कार्यालयको सिस्टमबाटै थाहा भइरहेको छ । एक करोडसम्मको कारोबार गर्ने करिब १५ देखि २० प्रतिशत व्यवसायीहरु विविध कारणले अझै पनि करको दायराभन्दा बाहिर रहेको प्रमुख कर अधिकृत बोहराले जानकारी दिए । 
    यसैबीच, सो कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा ८ दशमलव ७० प्रतिशतले बढी दुई अर्ब ७७ करोड ६४ लाख ९७ हजार रुपिया कर सङ्कलन गरेको छ । उक्त अवधिमा दुई अर्ब ५५ करोड ४२ लाख २२ हजार रुपिया राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । 
    आन्तरिक राजस्व कार्यालयले आय कर ९७ करोड ९४ लाख ६२ हजार, बहाल कर नौ करोड ५० लाख ६४ हजार, व्याज कर तीन करोड २० लाख ४९ हजार रुपिया सङ्कलन गरेको छ । यसैगरी, मूल्य अभिवृद्धि कर ७२ करोड २९ लाख ३६ हजार, अन्त शुल्क कर ९३ करोड ३० लाख १७ हजार सङ्कलन गरेको छ । यस्तै, स्वास्थ्य सेवा कर ४८ लाख ४५ हजार, शिक्षा कर ९१ लाख २५ हजार रुपिया सङ्कलन गरेको छ । 
    आर्थिक वर्ष २०७४/०७५ मा आन्तरिक राजस्व कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ दशमलव ५७ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ९४ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा दुई अर्ब ३६ लाख २२ हजार रुपिया राजस्व सङ्कलन गरिएको थियो । यो कार्यालयलाई चालू आर्थिक वर्षमा तीन अर्ब ३७ करोड १८ लाख १९ हजार रुपिया कर सङ्कलन गर्नु पर्ने लक्ष्य दिइएको छ । 
आन्तरिक राजस्व कार्यालय धनगढीले साविकको सेती अञ्चलमा पर्ने पाँच जिल्लाको कर सङ्कलन गर्दै आएको छ । पाँचै जिल्लामा गरी ४० हजारभन्दा बढी करदाता रहेका छन् । जसमध्ये सबैभन्दा बढी कर तिर्ने धनगढीमा रहेको नवजीवन सहकारी संस्था लिमिटेड हो । नवजीवनले वार्षिक दुई करोड ४० लाख रुपियासम्म कर तिर्दै आएको छ ।
    व्यवसायीले आफूले गरेको आम्दानीबाट पैसा तिर्न निकै गाह्रो मान्ने गरेकाले कर सङ्कलन निकै चुनौतीपूर्ण रहेको प्रमुख कर अधिकृत बोहराले बताए । ‘कर तिर्नु पर्छ भन्ने मानसिकता अझै पनि धेरैमा पाइदैन’, उनले भने–‘उनीहरु गोजीको पैसा तिर्न गाह्रो मान्छन् ।’ 
बोहराले करदाताहरुमा कर कानूनको जटिलताबारे क्षमता अभिवृद्धि हुन नसकेको बताए । ‘हिसाब किताब राख्ने, विल बिजक जारी गर्ने सवालमा तुलनात्मक रुपमा चेतनाको स्तर कम छ ।’ उनले बताए ।