Close This

जिलेटिन प्रयोगमा ढिलाई

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

सुन्दरसिंह धामी, दार्चुला, ५ साउन । 
बिगत लामो समय देखि चर्चामा रहेको महाकाली कोरीडोर अन्तरगत पर्ने दार्चुला तिङकर सडक आयोजना आर्थिक वर्ष २०६५/०६६ सालबाट सुरु गरेको भए पनि हालसम्म प्रगति शून्य रहेको छ । 
      सरकारले महाकाली करीडोरमा पर्ने दार्चुला तिङकर सडकलाई उच्च प्राथमिकता दिए पनि काम सुस्त गतीमा भएको छ । यो सडकका लागि ६० देखि ७० प्रतिशत बजेट प्रत्येक प्रत्येक वर्ष फ्रिज भएर जान्छ । 
पछिल्लो चार वर्षको अवधिमा मात्रै यो सडककालागी ७१ करोड बजेट निकासा भयो । त्यस मध्ये २२ करोड ९३ लाख मात्र काम भएको कार्यालयले जनाएको छ । बाँकी रहेको रकम फिर्ता गएको कार्यालयको अभिलेखमा रहेको छ । 
      महाकाली करिडोेरका नाममा खलंगा–तिंकर सडक योजना ओझेलमा परेको छ । खलंगा–तिंकर एक सय ३० किलोमिटर सडक निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन । हाल खलंगादेखि हिकिलासम्म २५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । साँघुरो तथा ग्रेड नमिलेको उक्त सडकमा जोखिम मोलेर जिपहरु सञ्चालन भइरहेका छन् । गत वर्षदेखि करिडोरको नाममा बजेट विनियोजन हुन थालेपछि निर्माणाधीन दार्चुला–तिंकर सडकको निर्माण कार्य सुस्ताएको हो ।
          आव २०६७/६८ देखि आव ०७०/७१ सम्म विभिन्न सात प्याकेजमा सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि हालसम्म एउटा प्याकेज मात्रै काम सम्पन्न भएकोे छ । महाकाली कोरिडोर अन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट–दार्चुलासम्मको दूरी २ सय ९० किलोमिटर छ । यो हाल सञ्चालनमा रहेको महाकाली लोकमार्गको अत्तरिया–खलंगा भन्दा मात्र १५ किलोमिटर कम हो । दार्चुला–कञ्चनपुर जोडने छोटो मार्गको रुपमा रहेको महाकाली करिडोर हुनुपर्नेमा पञ्चेश्वर बाँधका कारण करिब ४० किलोमिटर बढेको आयोजनाले जनाएको छ । महाकाली किनार पञ्चेश्वर बाँधका कारण डुबान हुने भएकाले बैतडीको सिल्लेक, सलसेना धनथला, खरकडा हँुदै जौलजिवीमा सो सडक जोडिने छ । 
     सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुरानो, तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक हो । कुल चार सय ३० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१/४२ मा सुरु गरिएको हो । 
आर्थिक वर्ष २०७०/७१ बाट नरसिंह जेभी, राईमाझी, जगदम्बाले लिएको ठेक्का हाल सम्म पूरा गर्न नस्कदा कालो सूचीमा परेका हुन् । 
     कति बेला बन्द हड्ताल त कति बेला ठेकेदारको लापरवाहिले दार्चुलामा सञ्चालित चालु योजनाहरुले खासै गति लिन सकेको छैन् । करीडोर अन्तरगत लास्कु खोला सिरबगडमा सञ्चालित ठेक्का २०७४/८/४ मा सम्मपन्न गरी सक्नु पर्ने भए पनि हाल सम्म नस्कदा म्याद थपको प्रकृयामा रहेको तिङकर सडक आयोजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताए । 
महाकाली कोरीडोर अन्तरगत पर्ने दार्चुला तिङकर सडकमा चट्टान फोड्न सेनाले विष्फोटक पदार्थ जिलेटिन ढुवानी गरेपनि प्रयोग हुन नसक्दा निमार्ण कार्य भने  भएको छैन् । सडक निर्माण कार्यको लागि ३ साता अघि जिलेटिन दार्चुला खंलगा पुगेपछि नेपाली सेनाको दुर्गदल गुल्ममा थन्किएको छ । विगत दुई वर्ष देखि सेनाले पूर्व सम्झौता बमोजिम दार्चुला तिङकर सडकका लागि जिलेटिन उपलब्ध गराउन सकेको थिएन । पछिल्लो समय जिलेटिन सदरमुकाम पुगे पनि प्रयोगमा ल्याउन नसक्दा निकै कठिन भएको छ ।
      दार्चुला तिङकर सडकका इन्जिनियर दिनेश रैखोला र नेपाली सेनाका मेजरबीच अभएको कुराकानीमा आईतबार सबै कागजपत्रहरु तयार गरेर  केन्द्रमा पठाउने र केन्द्रबाट स्वीकृति आई सकेपछि साउन दोस्रो साता बाट निर्माण कार्य सञ्चालन गर्ने तिङकर सडक योजनाका इन्जिनियर रैखोलाले बताए ।  
      व्याँस गाउँपालीकाका अध्यक्ष दिलीप सिंह बुढाथोकीको पहलमा बझाङ स्थित निमार्णाधिन कालंगा जलबिधुत योजनाबाट ९ दशमलब ३ मेट्रिक टन अर्थात ९ हजार ३ सय किलो ग्राम  जिलेटीन तिङकर सड्कका लागि सापट ल्याएको थियो । जिलेटीन दार्चुला पुगे पनि निमार्ण कार्य नहुँदा आफू चिन्तामा रहेको र कामलाई दु्रत गतिमा अगाडी बढाउन तिङकर सडक योजनालाई आग्रह गरेको बुढाथोकीले बताए । 
केहि वर्ष अगाडि नेपाल प्रहरीको व्यवस्थापनमा प्रयोग हुदै आएको जिलेटिन अब सेनाको सुरक्षा घेरामामात्रै प्रयोग हुने जनाइएको छ ।