Close This

पर्यटक सङ्ख्यामा बढोत्तरी हुन सकेन

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today
सुनसान अवस्थामा कैलाली भन्सारमा रहेको अध्यागमन कार्यालय । 

पश्चिम टुडे, धनगढी ५ साउन । 
। प्रदेश नम्बर ७ मा पर्यटक भित्र्याउनका लागि सरकारी र निजी क्षेत्रबाट विभिन्न प्रयास हुँदै आए पनि विदेशी पर्यटक आगमन सङ्ख्यामा बढोत्तरी हुन सकेको छैन ।
    यो प्रदेशको पर्यटकीय स्थलहरु प्राथमिकतामा पर्न नसकेकाले पर्यटक आगमन सङ्ख्या पनि गतविगत जस्तै स्थिर रहेको छ । काठमाण्डौंबाट आउने पर्यटक प्रायः बर्दियासम्म पुगेर फर्कने गरेका छन् । उनीहरु कैलालीको विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पहाडी जिल्लामा रहेको खप्तड, बडिमालिका, अपी–सैपालसम्म पुग्न सकेका छैनन् । 
    भारतको स्थलमार्ग हुँदै कैलाली भन्सार नाका भएर भित्रिने विदेशी पर्यटकको सङ्ख्या पनि थोरै रहेको छ । यो नाका भएर आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ४५ जना पर्यटकको आगमन भएको छ । भने ५३ जना विदेशी पर्यटक यो नाका भएर भारतर्फ गएका छन् । 
    आर्थिक वर्ष २०७३/०७४ मा पनि ४५ जना विदेशी पर्यटक यो नाका भएर आएका थिए । भने, ५१ जना बहिर्गमन भएका थिए । कैलाली भन्सार नाका भएर खास गरेर अमेरिका, श्रीलङ्का, जर्मनी, फ्रान्स, कोरिया, मलेसिया, इटली, रसिया, स्पेन लगायतका देशका पर्यटकहरुको आउजाउ भएको छ । 
    कैलालीबाट भारतको राजधानी दिल्ली नजिक परे पनि दिल्लीबाट नेपाल आउन चाहेका पर्यटकहरु यो नाका भएर थोरै आउने गरेका बताइएको छ । दिल्ली पुगेका प्रायः पर्यटकहरु हवाई मार्ग भएर सिधैं काठमाण्डौं जाने गरेको बताइन्छ । पर्यटक आगमन बढ्न नसक्दा अध्यागमन कार्यालय प्रायः समय सुनसान देखिन्छ । 
    कैलाली भन्सार नाका भएर नेपालमा पर्यटक भित्र्याउनका लागि भारतबाट प्रोत्साहन नभएकाले सङ्ख्यामा बढोत्तरी हुन नसकेको अध्यागमन कार्यालय धनगढीले जानकारी दिएको छ । 
    गौरीफन्टा नाकासम्म आउनका लागि बाटो सहज नभएकाले पर्यटक सङ्ख्या बढ्न नसकेको अध्यागमन प्रमुख ओमकार शाहले बताए । ‘दुधुवा नेशनलपार्कमा बाटोको समस्या छ । नाका सहज छैन’, उनले भने–‘त्यसैले पर्यटक आगमनमा बढोत्तरी हुन नसकेको हो ।’
    पर्यटनलाई लक्षित गरेर कैलालीको धनगढीमामात्रै विभिन्न पूर्वाधार विकास भइसकेको छ । पर्यटकलाई लक्षित गरी ठूल–ठूला होटल र फन पार्क पनि सञ्चालनमा आएका छन् । ठूलो लगानीमा सञ्चालनमा आएका होटलहरुले पर्यटकको स्वागत गर्न नपाउँदा सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रमको भरमा खर्च धान्नु पर्ने अवस्था रहेको छ । 
    यसैगरी, पछिल्लो समय जिल्ला समन्वय समिति कैलालीको पहलमा कैलाली भ्रमण वर्ष पनि सुरु भएको छ । समन्वय समितिले २०७५ साललाई कैलाली भ्रमण वर्षको रुपमा मनाउँदैछ । 
    पर्यटकको स्वागत गर्न नसक्नु् र सरकारी झमेलाको कारणले यो नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या न्यून रहेको द रुबस होटलका सञ्चालक समेत रहेका पर्यटन व्यवसायी प्रकाशचन्द्र भट्टले बताए । 
    ‘पर्यटक आगवमन सहज बनाउनका लागि पर्यटक प्रहरी नै गठन गरेर सरकारी झमेला हटाउनु पर्दछ’, उनले भने–‘हामीले अझैसम्म पर्यटकको स्वागत गर्न जानेका छैनौं । पर्यटकले नाकामा विभिन्न झमेला खेप्दै आएका छन् ।’
    प्रदेश नम्बर ७ को मुख्य व्यापारिक ‘हब’ धनगढी हो । काठमाण्डौं–धनगढी हवाई सेवा सञ्चालन हुँदै आए पनि धनगढीमै आउने पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । प्रदेशको विभिन्न जिल्लामा रहेका ‘भर्जिन’ पर्यटन स्थलहरु पर्यटकको पर्खाइमा रहेको उनीहरुको ठहर छ ।