Close This

डोजर विकासले निम्त्याएको जोखिम, पहिरोले राजमार्ग अवरुद्ध 

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ५ साउन । 
अध्ययनबीना नै मनमर्जी निर्माण गरिएका सडकहरुको कारणले पहाडी जिल्लाका बस्तीहरु जोखिममा परेका छन् । 
बर्षा यामसंगै ठाउँठाउँमा पहिरो जान सुरु भएको छ । बस्तीका सिरान र पुछारबाट खनिएका सडकहरुले बस्ती नै सार्नुपर्ने अवस्था छ । ‘जिल्लामा अध्ययन र सर्वेक्षणबीनाका सडकले पहिरो निम्त्याएको छ’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्यले भने–‘यो विकास हो कि विनाश, बुझनै सकिएको छैन ।’ 
दार्चुला जिल्लामा दर्जनौ बस्ती डोजर लगाएर निर्माण गरिएका ग्रामिण सडकको मारमा रहेका प्रमुख जिल्ला अधिकारी आर्चायले बताए । उनले भने–‘बस्ती नै उठाउनु पर्ने अवस्था भएपछि सडक कसको लागि निर्माण हुन थालेका हुन भन्ने प्रश्न पनि उब्जिएको छ ।’ बस्ती बचाउने हो भने अवैज्ञानिक ढंगले सडक निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । 
एक साता अघि मात्रै दार्चुलाको नौगाढ गाउँपालिकामा गाउँको सिनावबाट आएको पहिरोले बस्ती पुरिएको थियो । स्थानीय केशव जोशीका अनुसार सडकका कारण बस्तीहरु स्थान्तरण गर्नुपर्ने अवस्था आएको छ । सामान्य बर्षातमा पनि पहिरो आउन थालेपछि स्थानीयहरुले सुरक्षित ठाउँमा बसाई सर्नुपर्ने अवस्था सृजना भएको बताइएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले धमाधम निर्माण भैरहेका ग्रामिण सडकहरुको छेउछाउमा बढी पहिरो गैरहेको बताए । उनले भने–‘सडक निर्माण गर्नुभन्दा पहिले गरिनु पर्ने वातावरणीय प्रभाव मूल्यांकन, त्यसले बस्तीमा पार्ने प्रभावका बिषयमा लेखाजोखा गर्न नसक्दा समस्या भैरहेको छ ।’ बाजुरा जिल्लाका ग्रामिण सडकहरु अबरुद्ध रहेको पनि प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
बझाङ्ग जिल्लामा अवैज्ञानिक ढंगले निर्माण भएका सडकमा आएको पहिरो र बाढीले जेठ महिनामा मात्रै ९ जनाको ज्यान गैसकेको छ । बझाङ्गका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरका अनुसार धामाधम निर्माण भैरहेका ग्रामिण सडकहरु सामान्य बर्षातमा पनि भत्कीने गरेका छन् । 
गाउँमा सडक बाटो पु¥याउने होडबाजीले यहाँ वर्षेनी ग्रामिण सडक निर्माण हुने गरेकाछन् । स्थानीयतहको ठूलो रकम सडक निर्माणमा खर्च भैरहेको छ । ‘जनसहभागिताबाट निर्माण गर्नुपर्ने सडक पनि डोजरको प्रयोग गरेर निर्माण भैरहेका छन्’ डोटी बर्छैनका रघुराजा बमले भने–‘डोजरको कम्पन्नले हल्लिएको जमिनमा पहिरो बढी जाने गरेको छ ।’ 
हिउँदमा निर्माण गरेका सडकहरु बर्षातमा भत्कीने गरेका छन् बमले भने–‘वातावरणीय प्रभाव अध्ययन नगरेर सडक निर्माण गर्दा भौतिक र मानवीय क्षति भइरहेको छ ।’
प्रदेश नं ७ का पहाडी जिल्लामा बिना अध्ययन नै ग्रामिण सडक खन्ने गरिएका छन् । यसको प्रभाव वर्षातमा देखिने गरेको छ । ‘सडक निर्माण गर्दा सर्वेक्षण हुदैन । जता खन्न सजिलो हुन्छ त्यतै तिर डोजरको मुख डो¥यान्छ’ डोटी कपल्लेकीका दिपक बोगटीले भने–‘इञ्जिनीयर भन्दा डोजर चलाउने अपरेटरको मुडका आधारमा सडक निर्माण भैरहेका छन् ।’ सडक निर्माण गर्ने कुरो राम्रो भएपनि सबै कुराको अध्ययन गरिनु पर्ने बोगटीले बताए । 
सर्वेक्षण गरिएका सडकहरु पनि औपचारिकता मात्रै पूरा गर्ने गरिएका छन् । स्थानीय तहका प्राविधिकहरुले  सडक निर्माणका लागि गर्ने फितलो अध्ययन नै वर्षातमा आउने पहिरोको कारण बनेको छ । प्राविधिकहरुले स्थानीय तहका सर्वेक्षणको जिम्मा आफै लिने र असार मसान्तमा औपचारीकता मात्रै निभएर सर्भेक्षण प्रतिवेदन तयार पार्ने गरेको डोटी मुडभराका जगन्नाथ जोराले बताए । उनले भने–‘सडकहरु वैज्ञानिक छैनन् । जसका कारण वर्सेनि दुर्घटना बढेका छन् ।’ अहिले गाउँगाउँमा सडक जोड्न होडबाजी नै चलेको जोराले बताए । उनले भने–‘त्यसले विकास होईन सबैतिर बिनाशमात्रै निम्त्याएको छ ।’ 
ग्रामिण सडक निर्माण भएका र निर्माणाधिन ठाउँमा खेतबारी र जग्गा जमिनमा क्षेती क्षति पुगेको देखिन्छ । डोटी मुडभराका हेमराजजोशीले भने–‘सडक छेउछाउमा खेतबारी समेत बाँकी रहेको देखिदैन ।’ डाडाहरु चिराचिरा पारेर समृद्धि र विकास खोज्नु नै पहाडका लागि दुर्भाग्य भएको पनि जोशीले बताए ।  
सडक निर्माण भएका ठाउँमा नाली तयार नभएसम्मक्षति नरोकिने प्राविधिकहरु बताउँछन् । अहिले निर्माण भैरहेका ग्रामिण सडकहरुमा नाली निर्माण गरिएका छैनन् । 

पहिरोले राजमार्ग अवरुद्ध 
प्रेम रौले
साँफे–मार्तडी जोड्ने राजमार्ग पटक–पटक पहिरोले अबद्ध हुँदा जिल्लामा चल्ने सवारी साधन समेत बन्द हुदै गएका छन् । करिब दुई दशकपछि निर्माण भएको उक्त सडकको ठाउँठाउँमा पहिरोे जाँदा अवरुद्ध बन्दै गएको हो । 
     सडक निर्माण भएसंग सडकले काटेको क्षेत्रमा पहिरो आउन थालेकाले राजमार्ग अवरुद्ध बन्दै गएको छ । साँफे–मार्तडी सडक अन्र्तगत पर्ने गुईगाड खोलामा बाढी आएपछि उक्त ठाउँबाट सवारी साधन सकेत अवरुद्ध हुने गरेका छन् । बढीमात्रामा बाढी आउने गरेकाले खोलाको पुल निर्माण नहुँदा यातायातका साधन बाम्का बजार रोकिने गरेको बताइएको छ । अविरल वर्षाले राजमार्गका आधा दर्जन ठाउँमा पहिरो बग्दै गएको छ । साँफे मार्तडी राजमार्गका बल्दे, अम्कोट, तिपाडा,ओलेना, थुवाकाँध, पावर हाउसको आसपास लगायतका क्षेत्रमा पहिरो जाने गरेकाले मार्तडी आउने यातायातका साधन समेत ठप्प भएका छन् । 
      सडक अवरुद्ध हुँदा जिल्लामा आवतजावत गर्ने स्थानीयहरुले पैदल यात्रा गर्न बाध्य भएका छन् । अवरुद्ध सडक सुचारु गर्न पहिरो पन्छ्याउदा पनि लगातार वर्षाका कारण पहिरो आउने गरेकाले सवारी साधन गन्तव्यमा पुग्न नसकेको यातायात व्यवसायी झरेन्द्र सिंहले बताएका छन् । 
       सडकमा आएको पहिरो पन्छ्याउनका लागि पीएस कन्टक्सनसँग समन्वय गरी जेसीबी प्रयोग गर्दा पनि वर्षा नरोेकिएपछि पहिरो पन्छ्याउन थप समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द बहादुर मल्लले जानकारी दिएका छन्  । 
      उनले लगातारको अविरल वर्षाका कारण पहिरो बढी आउने गरेकाले यातायात संचालन हुने गरी सडकमा आएको पहिरो पन्छ्याउदै यातायातका साधन सुचारु गर्न प्रयास भइरहेको बताए । 
       जिल्लामा आएको अविरल वर्षाले गर्दा आएका पहिरोहरु दर्जन बढी भएकाले  पन्छ्रयाउदा दिनभरी लाग्ने र फेरी राति पानी परेर पहिरो आउने गरेको छ । सडक पक्की बनेकोले माथिबाट आएको पहिरोका कारण सडक नै  ठाउँठाउँमा भासिदै गएको  छ । 
     सडक भासिएका हुँदा साना यातायात फाटफुट चल्ने गरेका भएपनि लामो तथा ठुला यातायातका सवारी साधनहरु भने बाम्का र फालासैनमा रोकिने गरेका छन्् । सडकमा आएको पहिरो समययमा पन्छ्याउन सरोकारवाला निकायको ध्यान नगएको सवारी चालकले गुनासो गरेका छन् । सडकमा आएको पहिरो पन्छयाउने कार्यमा जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सागर बोहराले बताएका छन् । 
फोटो क्याप्सन ः साफे–मार्तडी सडकमा आएको पहिरो ।