Close This

चुच्चेमारा छिचोल्दै रारा

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

दीर्घराज उपाध्याय

राराको बयान धेरैले गरेका छन् । तिनै मध्ये एक हुन्, कवि मविवि शाह । रारा कि अप्सरा शिर्षकको कविता मार्फत उनले गरेको चर्चा नै अहिलेसम्मकै सबैभन्दा बढि पढिएको कविता हो । कवि शाहले रारालाई सुन्दर अप्सरासंग दाँजेर गरिएको बयानले पनि राराको सुन्दरता झल्काउछ ।

तत्कालिन राजा महेन्द्र शयल गर्ने पुगेका थिए, रारामा । २०२० चैत १० को कुरा हो यो । कवि हृदय लठ्ठियो, राराको सुन्दरतामा । र जन्मियो, एउटा मिठो अनि कालजयी कविता । शिकार, शयल र आरामका लागि रारा पुगेका तत्कालिन राजा महेन्द्र राराबाट यतिधेरै मोहित भए जसका कारण एउटा कविता जन्मियो । कवितामा बयान लेखिदा, राजा महेन्द्र कवि मविवि शाह भएर पोखिए । यसले पनि राराले एउटा मान्छेमा पार्ने प्रभाव प्रष्ट पार्छ ।

राराको बखान धेरै सुनेको थिए । तर त्यहाँ जाने साईत जुरेको थिएन । जाने ईच्छा भएर मात्र हुदो रहेनछ, त्यसका लागि समयको चाँजोपाँजो मिल्नु पर्ने रहेछ ।

६ वर्षअघि मंसिरको पहिलो साता रारा जाने अवसर जु¥यो ।  काठमाडौंबाट रारा जान नेपालगञ्ज आईपुगेका कारोवार दैनिकका प्रकाश, नयाँ पत्रिका दैनिकका लक्ष्मीप्रसाद र फोटो पत्रकार प्रकाश तिमिल्सेना र यो पंक्तिकार सहितको टोली नेपालगञ्जबाट तारा एयरको बिमानमा जुम्ला बिमानस्थलमा ओर्लियो ।

नेपालगञ्जबाट सोझै मुगुको ताल्चा बिमानस्थलका लागि जहाजले उडान भर्ने गरेको भएपनि हामीले जुम्ला हुदै रारा जाने योजना बनायौ । त्यही कारण हामी जुम्लाका लागि उडेका थियौ ।

जुम्ला हामी सबैको पहिलो भ्रमण थियो । हामी एकरातको जुम्ला बसाईपछि भोलिपल्ट बिहान चन्दननाथ मन्दिरको दर्शन गरेर रारातर्फ लाग्यौ । रारा जानका लागि दुईटा बाटा छन् । पैदलका लागि जुम्लाको पश्चिम डाँफेकोटको बाटो उपयुक्त छ ।  बसमा यात्रा गर्नेका लागि अर्को बिकल्प छ । बसमै गएपनि रारा पुग्न हिड्न भने पर्छ नै । हामीले सडक यातायात रोज्यौ । बिहान ७ बजे जुम्लाको आचार्यका लागि हिडेको बसमा चढ्यौ । सडकको छेउ हुदै बगेको छ, तिला नदी । त्यसकै किनार हुदै उधो लागेको छ, सडक । त्यही उधो सडकमा नदी बगेकै दिशामा अगाडि बढेको छ, हाम्रो बस । बस दिउसो करीव १२ बजे कालिकोटको नाग्मघाट पुग्यो । नाग्मघाटबाट खाना खाएर झण्डै डेढघण्टापछि बस आचार्य गाँउतर्फ हिड्यो ।

कच्ची र धुलाम्मे सडक । ठाँउठाँउमा सडकमा पानी । त्यही पानीले बनाएका ठूला खाल्डा । बस ती खाल्डाहरुमा फस्छ । यात्रुहरु बाहिर झर्छन । यात्रुहरु न्वारानदेखि बल लगाएर बसलाई धकेल्छन । बस एक ठाँउबाट निकाल्यो । अलि अगाडि गएर फेरि फस्छ । बसका चालक यात्रुहरुलाई पुनः झर्न आग्रह गर्छन । यात्रु फेरि झर्छन । बसलाई धकेल्छन । बसलाई धकेल्दा पांग्राले कतिपय यात्रुहरुलाई हिलो छयाप्छ । धुलाम्मे यात्रु हिलाम्मे हुदा, रोपाईबाट फर्केको आभाष हुन्छ ।

धुलोको डरले कतिपयले आँखा मात्र देखिने गरिने अधिकांश यात्रुले रुमालले मुख छोपेका छन् । कतिपयले बेला बेलामा नाकमुख थुन्छन । खाल्डाखुल्डीका कारण बस हल्लिदा लाग्ने झड्का भन्दा पनि धुलोले यात्रुहरुको

जुम्लाबाट गोरुचौरसम्मको बस भाडा तीन सय तिरेका थियौ । खराव सडकका कारण बस आचार्य पुग्न सकेन । त्यसपछि भने पैदल यात्रा शुरु भयो । गोरुचौरसम्म बस पुगेको भए हाम्रो यात्रा सजिलो हुने थियो । तर यात्रा सोचेजस्तो कहाँ हुन्छ ?

हामी गोरुचौर पैदल पुग्यो । र त्यहाँबाट आधा घण्टा हिडेपछि आचार्य गाँउ आयो । त्यहाँबाट धिताल लिही हुदै नराकोट पुग्यौ । नराकोटपछि सञ्ज्यालबाडा । र त्यसपछि कोटघर । गाँउका नाम जातका आधारमा राखिएका छन्, जुम्लामा । गाँउको नामै सुनेर हामीलाई अनुमान गर्न गाह्रो हुन्थेन, त्यहाँ बस्ने जातीका बारेमा ।

कोटघर पुग्दासम्म हामी थाकिसकेका थियौ । तर हाम्रो गन्तव्य त्यो भन्दा धेरै टाढा थियो । जुम्लाबाट हामीसंगै रारा यात्रामा सहभागी भएका पत्रकार एलपी देवकोटा हाम्रा ‘गाईड’ ।  एलपी परिचित एक चिया पसलमा चिया बिस्कुट खायौ । भट्टवाडामा कोदोको रोटी खुवाउछु, भन्दै थिए,एलपी । तर हामीले चित्त बुझायौ, योजना चिया बिस्कुटमै ।

भट्टबाडा पुग्दा साँझ परिसकेको थियो । चिया खाएर निस्किदा त टर्च बाल्नु पर्ने अध्यारो भईसकेको थियो । चिया खाएर हामी त्यहाँबाट बिदा भएर लाग्यौ, लुड्कुतर्फ । लुड्कु सिञ्जा नजिकको गाँउ हो  । त्यही गाँउ भएर भाई सिञ्जा पुग्यौ ।

खस भाषा र सभ्यताको उद्गम थलो सिञ्जा पुग्दा रात परिसकेको थियो । सिञ्जालाई हाट सिञ्जा पनि भनिन्छ । सिञ्जाका बारेमा धेरै कुरा जान्न उत्सुकता थियो । सिञ्जाका मान्छेसंग कुरा गर्ने ईच्छा रात छिप्पिदै गएकोले पुरा भएन । चकमन्न अध्यारो छ । अध्यारो अझ बढि अध्यारो हुदैछ । त्यसमाथि सबैमा भोक पनि त्यही गतिमा बढ्दैछ । त्यसमाथि थकान त छदैथियो ।

हामीलाई जसरी भएपनि भोलिपल्ट बिहान रारा पुग्नु पर्ने थियो । राराका लागि हामी जस्तोसुकै कष्ट सहन तयार थियौ । एक महिलाले हाट सिञ्जामा हामीलाई रातमा नहिड्न सल्लाह दिदै आफ्नो घरमा बासबस्न निकै कर गरेकी थिईन । उनका छोरा एलपीका साथी भएका कारण पनि हामीलाई खाना खाएर सिञ्जामै बस्न उनले कर गरेकी थिईन । तर हामी रातभरी हिडेर भएपनि बाटो छोट्याउन दृढसंकल्प बोकेर हिडिरहेका थियौ ।

सिञ्जाबाट अगाडि त बढ्यौ । त्यहाँबाट दुईटा बाटा थिए, रारा तर्फ जाने । एउटा छोटो बाटो । अर्को लामो । हामी छोटो बाटो जान भनेर उकालो लाग्यौ । अध्यारोका कारण हामी बाटो बिर्सियौ ।

त्यसपछि भने भीरका खर, सिरु र बुट्यानहरु समात्दै माथि उक्लिदै गयौ । एलपी भन्दै थिए, अब केही उकालो चढेपछि बाटो आउछ । त्यहाँबाट त बाटैबाटो मालिकाबोता पुग्न सकिन्छ । तर आधा घण्टा सोझो उकालो लाग्दा पनि बाटो नभेटिएपछि हामीहरु निकै हैरान भयौ । कता उक्लिदै छौ भन्ने थाह थिएन । त्यो उकालो कहाँ पुग्ने हो भन्ने थाह थिएन । ठाडो उकालो । त्यसमाथि अध्यारो । थकान त छदैथियो । पानी प्यासले त सबैका ओठमुख सुकिसकेका थिए । यस्तोमा उकालो चढ्दा साथीहरुका खुट्टा लगलग कापीरहेका थिए । तर हिम्मत भने कसैले हारेका थिएन । झण्डै एकघण्टापछि सडकमा पुग्दा साथीहरु खुशीले चिच्याए । अझ सडकमा पानीको पाईप भेट्दा कम्ति खुशी छाएन, साथीहरुमा ।

पानी पिएपछि भने केही छिन आराम गरेर हामी बिस्तारै अघि बढ्यौ । त्यहाँबाट हिड्दा रातको ११ बजीसकेको थियो । मालिकाबोतामा बास बस्ने व्यबस्था छ भन्ने सुनेका थियौ । प्रकाश तिमिल्सेना र लक्ष्मीप्रसाद पहिलेदेखि नै पछाडि थिए । चर्को भोक र थकानका कारण झन उनीहरु हिड्नै नसक्ने अबस्थामा थिए । रातको समयमा जंगली जनावरको डर हुने भएकोले सबै बिस्तारै अघि बढ्यौ । हाट सिञ्जासम्म गाँउमा मान्छेहरु बोलेको कराएको सुनिन्थे ।

अहिले त मान्छेहरु बोलेको पनि सुनिन छाड्यो । टाढाटाढा कुकुरहरु भुकेको आवाज आउथ्यो । मान्छेहरु सुतिसकेका थिए । झण्डै सवा घण्टापछि हामी मालिका बोता पुग्यौ ।

मालिका बोतामा एक पसलमा हामीले बासका लागि आग्रह गदै केही बेर ढोका ढक्ढक्यायौ । हाम्रो आग्रहलाई पसलेले सहजै स्वीकार गर्दै ढोका खोले । बास मिल्यो । अब हाम्रो अर्को आग्रह थियो, खानाको । मध्यरातको हाम्रो त्यो आग्रहलाई पनि उनले टारेनन ।

पसलेसंग परिचय भयो । उनले नाम बताए—कलिभान रावत । नेपाली काँग्रेस गाँउ कमिटिका उपाध्यक्ष समेत रहेका उनका लागि त्यो परिचय निकै पीडादायी बन्यो । काँग्रेसको सदस्य हुनु उनका लागि अपराध जस्तै बन्यो । माओवादीहरुले उनलाई पटक पटक यातना दिए । एकचोटी अपहरण गरेर झण्डै मारेका—कलिभानकी श्रीमतीले आशु झार्दै भनिन, ती दिन सम्झिदा पनि आङ जिरिङ्ग हुन्छ ।

गाँउ छेउमा एक पटक सेना आएका थिए । माओवादीहरुले सेनालाई बोलाएको आरोपमा कलिभानलाई दिनसम्म दुःख दिएछन् ।

शान्ति प्रकृया पछि भने रावत दम्पती चैनसंग बाँच्न पाएका छन् । गाँउमै बस्न पाएका छन् ।

बिहान झिसमिसेमै चिया बिस्कुट खाएर हामी रावत दम्पत्तीसंग बिदा भएर हानियौ, रारा तर्फ । मालिका बोताबाट एक घण्टाको ठाडो उकालो पछि डाडामा पुग्यौ । पहाडको उचाई फिट र मिटरमा होईन । हाम्रा लागि मिनेट र घण्टामा परिणत भएको थियो ।

उकालो चढ्दै गर्दा हामीले बाटोमा भेटिने स्थानीयलाई सोध्दा रारा कति घण्टामा पुगिन्छ, भनेर सोध्थ्यौ । एउटाले जवाफमा भनेको थियो, अब त तीन घण्टामा पुग्नु हुन्छ । तर तीन घण्टा हिडेपछि पनि रारा आएन ।

तीन घण्टापछि पुनः बाटोमा भेटिएका अर्का एक बटुवालाई सोध्यौ— रारा पुग्न कति लाग्छ ? उनको रेडिमेड जवाफ थियो,— तीन घण्टा ।

ती बटुवाको जवाफ सुनेपछि प्रकाश भन्दै थिए, होईन दाई यो पहाडको घण्टा कति लामो हुन्छ ?

चुच्चेमारा लेक । नामै डरलाग्दो । त्यसको मुन्तिर गोरु सिना । गोरु सिनाबाटै शुरु हुन्छ, रारा राष्ट्रिय निकुञ्ज । निकुञ्ज शुरु भएपनि रारा पुग्न गोरु सिनामाथिको सोझो उकालो र अजंगको नांगो पहाड उक्लनै पर्ने । चुच्चै चुच्चाको पहाड । त्यसैले पनि होला, त्यसलाई सबैले भन्ने गरेको चुच्चे माराको लेक । 

गोरु सिनामा जयलाल रावत र उनकी श्रीमती उब्जकला होटल चलाएर बसेका छन् । उनीहरुले चलाएको पसलमा गमगढी सामान ढुवानी गर्ने खच्चर गोठालाहरु नास्ता खान्छन । रारा हेर्नकै लागि जाने पर्यटकहरु भने छिटफुट मात्र हुदा रहेछन् ।

भोकले च्यापेका बेला रावत दम्पत्तीको मिठो व्यबहार र नास्ताले निकै राहत पु¥यायो । कठ्यांग्रिने जाडोले लगलग कापिरहेका हामी सबै आगो छेउमा झुम्मिरहेका देखेर रावतपत्नी उब्जकला भन्दै थिईन— आगो हातले समात्ने र पानी चिम्टाले समात्ने समय हो यो ।

गोरुसिनाबाट शुरु हुने चुच्चेमारा लेक रारा यात्राको अन्तिम उकालो हो । यो चढ्नु सगरमाथा चढ्नु जत्तिकै कठिन हुन्छ । यो लेक पार गर्दा ‘लेक’ लाग्ने सुनाएकी थिईन, गोरुसिनामा उब्जकलाले ।

‘लेक’ लाग्ने डरभन्दा पनि त्यसको ठाडो उकालो देखेर साथीहरु त्यसै हायलकायल भए । चुच्चेमाराको लेक चढ्न दुईटा बाटा थिए, एउटा— खच्चरहरु हिड्ने बाटो । अर्को—सोझो उकालो ।

खच्चर हिड्ने बाटो लामो हुनुका साथै धुलाम्ये थियो । धुलोका कारण हिड्नै कठिन थियो,त्यो बाटो ।

हामीले अप्ठ्यारो भएपनि अर्को बाटो रोज्यौ । बाटोको कुनै पदचिन्ह नभएपनि सोझै उकालो हानियौ ।

चुच्चेमाराको उकालो शुरु नहुदै प्रकाश तिमिल्सेना र लक्ष्मी पछि परिसकेका थिए । यो पंक्तिकार र जुम्लाका पत्रकार एलपी भने संगसंगै अगाडि बढे, चुचुरोतिर । झण्डै सवा घण्टापछि हामी दुई जना चुुचुरोमा पुग्यौ । चुचुरोमा टेक्दा युद्ध जितेको सिपाही जस्तै हामी निकै फुरुङ्ग भएका थियौ । खुशी भएका थियौ । हामीले चुचुरोमा पाईला टेक्दा अरु तीन जना साथी लेकको मध्यतिर नै थिए ।

लेक काटेपछि सामान्य ओराले झारेर तेर्सोबाट हामी रारा भएतिर अघि बढ्यौ । आधा घण्टा हिडेपछि रारा देखियो । राराको दृष्यालोकन गर्न पाउदा हामी कम्ति खुशी भएनौ ।

चारैतिर पहाड अनि घना हरियो जंगलको सुरक्षा घेरा — त्यही घेराभित्र निलो आँखा आकारमा फैलिएको सुन्दर रारा । रारा हेर्न पाउदा, रारा छुन पाउदा । राजाको हृदय त पग्लियो भने अन्यको मन त बशमा हुने कुरै भएन ।

रारा के देखिएको थियो,साथीहरु क्यामेरा निकालेर क्लिक क्लिक गर्न थाले । यो क्रम झण्डै आधा घण्टा चल्यो ।

हामी उभिएको पश्चिम पट्टि खच्चरहरुको लश्कर आईरहेको थियो । यस्तो लाग्थ्यो, उनीहरु छेउमै देखिने हिमालबाट क्रमशः बाहिर आईरहेका छन् । उनीहरु गमगढीमा सामान पु¥याएर फर्किर्दै आईरहेका थिए ।

खच्चर हिड्ने त्यही बाटो छेउमा कतिपय गोठाला बेफिक्र सुतिरहेका छन् । उनीहरुलाई कुनै चिन्ता छैन । कुनै डर छैन ।

रारा आँखाले हे¥यौ । उभिएको ठाँउबाट त्यहाँ पुग्न अझै तीन घण्टा लाग्ने सुन्दा हामी झस्किएका थियौ । उकालो धेरै हिडिसकेका थियौ । अब पालो ओरालोको थियो ।

दुई घण्टामा हामी खत्याडी खोला पुग्यौ । राराबाट निस्किएको खत्याडी खोलाबाट माझघट्ट गाँउको मुन्तिर विद्युत निकालिएको छ । राराले उज्यालो पनि दिएको छ, मुगुमा ।

खत्याड तरेर केही बेर उकालो चढेपछि माझघट्ट आयो । माझघट्ट रारासंगै जोडिएको गाँउ हो । रारासंग माझघट्टको निकै पुरानो र अन्योन्याश्रित सम्बन्ध छ ।

माझघट्टमा दुई÷तीन होटल छन् । तर पर्यटक नआउदा होटल व्यवसायीहरु फुर्सदिला छन् । नयाँ मान्छेको उपस्थितिले उनीहरुमा उर्जा थप्छ । मुलुकमा आएको लोकतन्त्रले मुगालीका अनुहारमा खुशी र मनमा शान्ति ल्याउन सकेको रहनेछ । कर्णालीको पीडा उस्तै छ, अभाव, समस्या र गरिवीका पहाड चुच्चेमारा भन्दा अग्ला छन् । होटल सञ्चालक बालकृष्ण रोकाया भन्दै थिए, जे तन्त्र आएपनि हाम्रा दुःख उस्तै छन् ।

रारा छेउमै रहेको माझघट्टका बासिन्दाका राज्यसंगका गुनासो, आक्रोश र पीडाहरु सुनेपछि रारातर्फ लाग्यौ । रारा पुग्न हतारिएका साथीहरु आधा घण्टाको पैदल यात्रापछि ताल छेउमा पुग्दा खुशीले उफ्रिए, कराए ।

 

रारा साच्चिकै अप्सरा

चारैतिर पहाड । घना जंगल । अनि त्यही घना जंगलको बीचमा आँखाको आकारमा फैलिएको छ, नेपालको सबैभन्दा ठूलो ताल रारा ।

रारालाई अप्सरासंग तुलना गरेर कविता लेखे, मविवि शाहले । त्यसयता पनि रारा धेरैका लागि कविताको स्रोत बनेको छ । संभवत रारालाई लिएर जति कविता र लेखहरु लेखिएका छन्, त्यति अन्य कुनै क्षेत्रलाई लिएर लेखिएका छैनन । रारालाई अन्य कुनै बस्तुसंग तुलना गर्नु राराको अपमान हुन्छ । रारा जत्तिको सुन्दर अर्को ठाँउ नै छैन भन्दा अत्युक्ति हुदैन ।

रारा जुनसुकै प्रहरमा पनि उत्तिकै सुन्दर लाग्छ । जुन सुकै कोण र दृष्टिकोणबाट हेरेपनि उत्तिकै मनमोहक, रमणीय र प्रिय लाग्छ ।

राराको सुन्दरता बिहान उठ्दा जस्तो हुन्छ । साँझ सुत्दा पनि उस्तै हुन्छ । एक पल पनि अविचलित भएर एकटकले हेरीरहु लाग्ने रारा, दन्त्य कथाकी मायावी राजकुमारी झै लाग्छ ।

तराईको मध्यदिनको जीवन उखरमाउलो गर्मीका कारण कष्टदायी हुन्छ । तर रारामा त्यही समय पनि पनि आनन्ददायी हुन्छ । तराईमा गर्मी छल्न मध्यदिनमा घरभित्र पस्नुपर्छ । रारा भने त्यही मध्य दिनमा पनि शितल दिन्छ । राराको सुन्दरताको बयान गर्न शब्दहरु कम पर्छन ।

रारासंग थुप्रै किम्बदन्तीहरु जोडिएका छन् । रारालाई भगवान कृष्णकी प्रेमिका राधा ठान्ने किम्बदन्तीहरु मुगालीको स्मरणमा ताजै छन् । माझघट्टका दिलप्रसाद घोडासैनी सुनाउदै थिए, रारा कृष्णकी राधा हुन् । पहिले यसको नाम पनि राधा नै थियो । तर पछि त्यही राधा शब्द अप्रभंस हुदै रारा हुन पुग्यो ।

शान्त रारा जति सुन्दर हुन्छ । छालहरुसंगै मात्तिने रारा पनि कम्ति सुन्दर देखिदैन । जसै दिन बिहानीलाई पछि छाडेर दिउसोको बुई चढेर उकालो लाग्छ साँझतर्फ । तब मात्तिन थाल्छ, रारा छालहरुसंगै ।

छालहरु उर्लिरहन्छन, किनार छुन  । किनार स्पर्श गर्न हुत्तिदै आउने छालहरु किनारको स्पर्श गरेको निमेषमै फिर्ता हुन्छन । शिरिषका फुलजस्ता छालहरु । भ्रमरको चुम्बन मात्रले झर्ने शिरिष जस्ता । किनारको स्पर्शले क्षणभरमै बिलय हुन्छन, तालमा । तर बिलय हुनुको डरले छालहरु उर्लिन छाड्दैनन, किनार चुम्न छाड्दैनन । शिरिष जस्तै छालहरु । भ्रमरको चुम्बनको डरले शिरिष फुल्न छाड्दैन । हो, निरन्तर फुलिरहने, शिरिष झै छालहरु किनार स्पर्श गरिरहन्छन गरिरहन्छन निरन्तर । निरन्तर ।

हेरिरहु लागी रहने रारा । जति हेरे पनि धित नमर्ने रारा । रारा छ नै गज्जवको ।

रारामा जलेवा, हाँस र क¥याङकुरुङका अनगिन्ती जोडीहरु उन्मुक्त भएर जलक्रिडा गरिरहेको दृष्य हेरीरहु लाग्छ । पानीमा लुकामारी खेलिरहेका जलेवाका जोडीहरु डुबल्की मारेर एक अर्कालाई छलिरहेका हुन्छन । जिस्काईरहेका छन् ।

छाल हुत्तिदै किनारतिर हानिदा क¥याङकुरुङहरु त्यसैको बेगसंगै हावा बगेको दिशातिर हुत्तिन्छन ।

दिउसो सफा, शान्त र स्निग्ध देखिने रारा साँझ पख चल्ने हावाको बेगसंगै पिङ खेलिरहेको झै लाग्छ, सुस्त सुस्त । छालहरु उठ्छन । बस्छन् ।

ताल किनार भएर फन्को लगाउने सडकमा फन्को लगाईरहदा समय बितेको पत्तै हुदैन । तालको दृष्यालोकनसंगै सडक छेउका बोट र सुसाईरहने सल्लाको आवाज सुनिरहु लाग्छ ।

छाल र सल्ला सुसाउने प्रतिस्पर्धा गरिरहेका हुन् कि भन्ने भानहुन्छ साँझ पख । साँझ पख घर जान हतार गरिरहेका बालकहरु जस्ता छालहरु ।

साँझ जव सूर्य ढल्किदै जान्छ, पश्चिम तर्फ । तालबाट उज्यालो उठेर सर्लक्कै डाडामा गएर बस्छ । चारैतिर डाडाहरु घामले रापिएका देखिन्छन ।

जतिजति सूर्य अस्ताउदै जान्छ, ताल गाढा निलो हुन थाल्छ । रात परेपछि भने रात झै कालो ।

ताल छेउमा उभिएर बिहान झिसमिसेको प्रत्येक पल रारालाई हेरीरहु लाग्छ । झिसमिसेमा ताल छेऊमा कवाज खेल्दै गरेका नेपाली सेनाको पल्टनले उज्यालो भएको संकेत गर्छ । खच्चर र घोडाहरु पनि ताल छेऊ भएर ओहोर दोहोर गर्न थाल्छन । साँझमा सूर्यको हल्का रातो किरणले बिदावारी गरेपछि सुतेको रारा बिहान सेतो रंगमा जाग्छ । सेतो वाफ ताल भएर माथि उठ्न थाल्छ,विस्तारै विस्तारै । तालमा माछाहरु चिया बनाउन थालेको झै लाग्नेगरी । ताल पर्तिर पूर्वी डाडाको फेदबाट कपासको सेतो गुजुल्टो झै बिस्तारै भुई छोड्दै गरेको देखिन्छ्, बादल हुल सहित । बादल जसै डाँडा काट्न थाल्छ । अब आउने पालो सूर्यको हुन्छ ।

सूर्यका किरणहरु ताललाई छुन हतार गरिरहेका झै लाग्छन । सूर्य तालको आकाशमा देखिन नपाउदै पूर्वी डाडाको सल्लेघारीका छिद्रहरुबाट सूर्यका किरणहरु तालसम्म आईपुगीसकेका हुन्छन् ।

ताललाई सिरकले झै ढाकेको सेतो वाफ सूर्यका किरणहरु तालमा प्रबेश गरीसकेपछि हराउछ । ताल प्रष्ट देखिन थाल्छ । शान्त । सुन्दर । र सफा ।

राराको पैदल यात्रा कठिन छ । चुच्चेमारा लेक चढ्नु त सगरमाथा चढ्नु जत्तिकै कठिन । चुच्चेमाराको ठाडो उकालो चढ्दा लाग्ने थकान, हुने कष्ट पछि फेरि रारा आउदैन भन्नेहरु रारा पुगेपछि तर रारा पुगेपछि रारामा पुग्ने  छ नै त्यस्तो ।

रारा तालको लम्बाई ५ किलोमिटर छ भने चौडाई ३ किमी छ । यसको क्षेत्रफल १० दशमलव ८ बर्गमिटर छ । ताल १६७ मिटर गहिरो छ । तालको एक फन्को लगाउन पाँच घण्टा लाग्छ ।

कार्तिकदेखि फागुनसम्म रारामा हिमालको छाया देखिन्छ । जेठ असारमा ताल किनारमा फुल्ने रंगीचंगी फुलहरुले सुनमा सुगन्ध थप्छ । रारा तालमा स्नो ट्राउट सहित तीन प्रकारका असला माछा पाईन्छन ।

रारा ताल झै सुन्दर र मनमोहक छ, निकुञ्ज क्षेत्र । रारा राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएको हो । १०६ बर्ग किमी क्षेत्रफल भएको निकुञ्जको अधिकांश भूभाग मुगुमा पर्छ भने केही भाग जुम्ला जिल्लामा पर्छ ।

हुन त, निकुञ्जको एउटा हिस्सा हो रारा । तर निकुञ्जमा रारा बाहेक अरु पनि हेर्नै पर्ने स्थानहरु । नेपालीलाई निकुञ्ज प्रबेश शुल्क लाग्दैन । सार्क मुलुकका नागरिकलाई पाँच सय र बिदेशीले भने एक हजार रुपैया बुझाउनुपर्छ । निकुञ्ज क्षेत्रभित्र फिल्म र डकुमेन्ट्री छायांकन गरे वाफत नेपालीलाई पाँच हजार, सार्क मुलुकका नागरिकलाई २५ हजार र बिदेशीलाई एक हजार डलर तोकिएको छ ।

रारामा डाँफे, चीर, फोक्रास, कालिज, च्याखुरा, ढुकुर र मौसम अनुसार बसाई सराई गरी आउने मोलाई, कुट तथा बिभिन्न प्रजातीका हाँसहरु सहित दुई सय प्रजातीका चराहरु पाईन्छन ।

कस्तुरी ,मृग, हिमाली कालो भालु, चितुवा, हिमाली बदेल, रतुवा थार ,बनेल, घोरल, झारल, मलसाप्रो, बन कुकुर, न्याउरी मुसो लगायतका जंगली जनावर रारा क्षेत्रमा पाईन्छन ।

जटामसी, निर्मसी, पाँचऔले, पदमचाल पाषणबेद, घुच्ची च्याऊ, कुटुकी लगायतका जडिबुटी पाईने रारा क्षेत्रका यी अमूल्य सम्पत्तीको सदुपयोग हुन सकेको छैन ।

बिकट रारा

रारा जति सुन्दर छ । मुगु त्यति नै बिकट छ । अभावग्रस्त छ । राज्यबाट पछाडि परेको छ । पारिएको छ ।

सरकार निशुल्क औषधी उपचारको घोषणा मात्रै गर्छ । उपचार नपाएर मृत्यु हुन्छ, मुगालीको । जिल्लामा गतिलो अस्पताल छैन । गतिलो अस्पताल भएका ठाँउमा जानका लागि कतिपयसंग पैसा छैन । पैसा भएकाहरु र उपचारका लागि सरसापट गरेर पैसा खोजेकाहरुको जहाजको पर्खाइमा ताल्चा बिमानस्थलमा हप्तौ बित्छ । तर कतिपयको जहाज पर्खदा पर्खदै मृत्यु हुन्छ । कतिपय बिरामीका जहाज नआएपछि आफन्तहरु बिरामीलाई लिएर घर फिर्ता हुन्छन् ।

मंसिरको पहिलो साता मकालु एयरको बिमान दुर्घटना भएपछि चौथौ दिन नेपाल बायु सेवा निगमको जहाज ताल्चामा अलपत्र परेका युनिसेफका कर्मचारी र चार जना पत्रकारलाई उद्दार गर्न आएको थियो । जसमा यो पंक्तिकार पनि थियो ।

चारदिनपछि जहाज आउदा निकै हौसिएका मुगालीहरु जहाजमा चढ्न तछाडमछाड गरिरहेका थिए । बिरामी आफन्तलाई जसरी भएपनि नेपालगञ्ज लगिदिन आग्रह गरिरहेका थिए । सिट क्षमता कम भएका कारण बिमान १३ जना यात्रुहरु लिएर नेपालगञ्ज फर्कियो । जहाजमा चढ्न नपाएकाहरु भने कोही कराईरहेका थिए । कोही रोईरहेका थिए । कोही गाली गरिरहेका थिए । यस्तो दृष्य देख्दा नमिठो लाग्यो । सधैभरी त्यो दृष्यले पीडा दिईरहन्छ । मुगुको यथार्थ त्यही थियो । जे हामीले देख्यौ । जहाजको पखाईमा बिरामीको मृत्यु हुन्छ । सिंहदरवार र त्यसैको सेरोफेरो मात्र देश देख्छ, सरकारले ।

मंसिरको पहिलो साता मुगुको अति बिकट किमरी गाविस —८ टाकाका दमले थला परेका स्याङ्ग्याप तामाङलाई चार दिन लगाएर आफन्तले पिठ्युमा बोकेर ताल्चा बिमानस्थल पु¥याए ।

तामाङलाई ताल्चा पु¥याएर आफन्तहरु घर फिर्ता भए । यता तामाङ भने जहाज नआएरै ताल्चामै अलपत्र परे । ताल्चाबाट २६ कोश टाढा गाँउ फर्किन सक्ने अबस्थामा तामाङ थिएनन । तामाङ जस्तै अन्य सिकिस्त बिरामीहरु पनि उपचारको अभावमा ताल्चामा छटपटाईरहे ।

राज्यले घोषणा गरेको निशुल्क औषधी उपचारको घोषणाले उनीहरुलाई जिस्काईरहेको थियो । यो भन्दा ठूलो ठट्टा के हुन सक्छ ।