Close This

यस कारण डा.केसीलाई समर्थन

आइतबार श्रावण ६, २०७५/ Sunday 07-22-18
Paschim Today


दीर्घराज उपाध्याय । 

एउटा निष्ठावान डा.गोविन्द केसी छन्, जो आमजनताको गुणस्तरीय शिक्षा,स्वास्थ्यमा सुलभ र सहज पहुँच र गरीवका छोराछोरीले चिकित्सा शिक्षा पढ्न पाउनुपर्ने व्यवस्थाको सुनिश्चितताका लागि सरकारलाई दवाव दिन १५ औ अनशनको २३ औं दिनमा छन् । 
अर्को दुर्गा प्रसाई जस्ता मेडिकल कलेज सञ्चालकहरु छन् । जो पैसाकै आडमा सरकारलाई आफ्नै खल्तीमा भएको दम्भले जे पनि बोलिरहेका छन् ।
दुर्गा प्रसाई जस्ता व्यक्ति सरकारको प्रवक्ताका रुपमा देखिनु मुलुकको दुर्भाग्य हो । प्रसाईले बोलेको हरेक कुरामा सरकारको मौनता झन उदेक लाग्दो छ । सायद यसैलाई भन्छन्, नुनको सोझो । 
डा. गोविन्द केसीको अनशनलाई मजाक ठान्नेहरुले बुझुन, कमल थापा, ज्ञानेन्द्र शाहहरु अनशन गर्न सक्ने भए यो अवस्था हुने थिएनन । 
कतिपयको तर्क छ, संसदलाई दवाव दिने को हुन्, डा. गोविन्द केसी ? यस्तो प्रश्न गर्नेहरुले एक पटक आफैलाई प्रश्न गरुन, सांसदलाई कसले निर्वाचित गरेको हो ? संसद कस्का लागि हो ? जनताद्धारा जनताका लागि निर्वाचित सांसद जनताप्रति उत्तरदायी भएन डा.गोविन्द केसीहरुले बोल्न पाउने अधिकार सुनिश्चित र सुरक्षित व्यवस्था हो, लोकतन्त्र । यही हो, जनता सार्वभौमसत्ता सम्पन्न रहेको अवस्था । पाँच वर्षका लागि सांसदलाई निर्वाचित गरेपछि, त्यो पाँचवर्षसम्म सांसदका काममा जनताले खवरदारी गर्न नपाउने भन्ने हुदैन । आफैले मत दिएर निर्वाचित गरेका सांसदलाई निर्धक्क र निर्भयतापूवर्क खवरदारी गर्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो । 
हिजो काँग्रेसले डा. केसीका माग किन पुरा गरेन ? के ग¥यो ? भनेर प्रश्न गर्नेहरुले आफ्नै नेताहरुलाई प्रश्न गरुन, काँग्रेसको पालामा तपाईहरुले जायज ठान्नु भएका डा.केसीका मागहरु अहिले आएर एकाएक कसरी गलत भए ? 
समाजवादको लक्ष्य बोकेकाहरुको बाटो हिजो काँग्रेसले हिडेकै बाटो हो वा फरक ? 
एकथरीको तर्क छ, सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नुपर्छ । 
समाजवाद भनेकै त्यही हो, जहाँ जनताको शिक्षा,स्वास्थ्यको पूर्ण जिम्मेवारी राज्यको हुन्छ । जनताका सबै आधारभूत आवश्यकताहरु निशुल्क हुन्छन । गुणस्तरीय हुन्छन । 
समृद्ध नेपाल, सुखी नेपालीको सपना बाड्ने नेकपाका अध्यक्षको नेतृत्वमा नेकपाको दुई तिहाईको सरकार छ । समाजवादमार्फत गरीव र सर्वहाराबर्गको उन्मुक्ति र विकास जसको लक्ष्य हो । सक्छ भने गरीव र सर्वहाराको सरकारले त्यो आँट गरोस । उसका कार्यकर्ता र आमजनताले त्यसका लागि दवाव दिउन । डा. गोविन्द केसीका आफ्ना नीजि माग केही छैनन । डा. केसीले जनताका माग पनि यिनै हुन् ।
को हुन्, डा. केसी ?
गोविन्द केसी निष्ठा र आदर्शका प्रतिमूर्ति हुन् । उनी कुशल हाडजोर्नी तथा नशारोग बिशेषज्ञ हुन् । जनताको सेवा उनको जीवनको एउटै लक्ष्य छ । जो दिनरात, घामपानी, वर्षा पहिरो, भुकम्प केही नभनी अप्ठ्यारोमा परेकाहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् । जसलाई अर्थोपार्जन र जोड्नुसंग कुनै अर्थ छैन । जसले जीवनमा कहिल्यै निजी क्लिलिकमा काम गरेन । जसले आफूले महिनाभरी काम गरेर राज्यबाट पाएको तलव जम्मा गरेर दूरदराज र राज्यको आँखा नपुगेका जनताको स्वास्थ्य उपचारमा खर्च गरिरहेका छन् । जहाँ बिपत्ति र दैवी प्रकोपले मानवजातीलाई दुःख हुन्छ, उनी त्यसलाई आफ्नै दुःख ठान्छन । र त्यहाँका मानिसहरुलाई उपचार गर्न पुगिहाल्छन ।
दार्चुलामा पहिरोले क्षति हुदा त्यहाँका जनताको उपचार गर्न उनी पुगे । जाजरकोटमा हैजाले महामारीको रुप लिएपछि उनी औषधी लिएर त्यहाँ पुगे । उनी तिलाठी पुगे । विपत्तिमा भोजपुर पुगे, पाँचथर पुगे । त्यतिमात्र होईन भुकम्पले क्षति पुगेको हाईटी, पाकिस्तान, भारतको गुजरात र म्यानमारका जनताको उपचारका लागि पनि डा. केसी पुगे । जसलाई राजनीतिसंग कुनै वास्ता छैन । जसले न घरखेत घडेरी जोडेका छन् । जसले सम्पत्तीका नाममा केही जोडेनन । तिनै डा. केसीलाई लिएर पछिल्लो समयमा सरकार र उसका पक्षधरहरुले गरेको चरम वेवास्ता र तल्लोस्तरका टिप्पणी संवेदनाशुन्य छन् । डा. केसीलाई माफियाले चलाएको आरोप लगाउनेहरुको कुतर्क सुन्दा यस्तो लाग्छ, मान्छेभित्रको संवेदनाको मृत्यु भईसक्यो । अझ यस्तो आरोप लगाउनेहरु स्वास्थ्य क्षेत्रका माफियाहरु नै छन् । जसको अन्ध समर्थन सरकार पक्षधहरुले पनि गर्नु उदेक लाग्दो छ ।
डा. केसीलाई लिएर हतारमा वा सरकारको बचाउ गर्ने अभिप्रायले टिप्पणी गर्नेहरुले एक पटक केसीको बिगत पनि हेर्न जरुरी छ । उनले गरेका काम पनि हेर्न आवश्यक छ । डा.केसी हाम्रो युगका महात्मा गान्धी हुन् । जो सत्याग्रहको बलमा जनतालाई सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा दिलाउन राज्यलाई निरन्तर दवाव दिईरहेका छन् । जो गरीवका छोराछोरी पनि चिकित्सक बन्न पाउने बाटो खुलोस भनेर उनीहरुका लागि भोकभोकै बसेर सरकारलाई दवाव दिईरहेका छन् ।
संयोग हो, अहिले नेकपाको सरकार छ । नेकपा र उसका कार्यकर्ताहरुले यो बुझ्नु हुदैन कि केसीको आन्दोलन सरकारका बिरुद्ध हो । केसीको आन्दोलन त माथेमा कार्यदलको प्रतिबेदन कार्यान्वयन नगर्ने शासकका बिरुद्ध हो । हिजो उनीसंग सम्झौता गरेर पनि त्यसको कार्यान्वयन नगर्ने मैमत्त सरकार बिरुद्ध हो । जो दुईतिहाईको बलमा जे गरेपनि हुन्छ भनेर डा.केसीका आवाजलाई कुल्चेर अघि बढ्ने कुचेष्टा गरिरहेको छ ।
डा. केसीलाई एउटा व्यक्तिका रुपमा मात्र हेर्ने र बुझ्ने गल्ती सरकार र उसका पक्षहरुले गर्न हुदैन । यदि डा. केसीको ज्यानलाई केही भए यो सरकारले ठूलो मूल्य चुकाउनु पर्नेछ । हिजो काँग्रेसले जे गल्ती ग¥यो, त्यही बाटोमा यो सरकार पनि हिड्ने धृष्टता गरिरहेको हो भने पाँच वर्षपछि नेकपाको अवस्था अहिलेको काँग्रेसको भन्दा बिजोगपूर्ण हुनेछ । 
तर पछिल्लो पटक समाजवादका नाममा मार्सीवाद जन्मिएको आरोप नेकपामाथि लागेको छ । सरकारले आफूमाथि लागिरहेका आरोप चिर्न र जनताको विश्वास कायम राखिरहन डा. केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षा गर्न जरुरी छ । यसैमा सरकार, मुलुक र जनता सबैको हित छ । 
एकातिर सत्ता, शक्ति र पैसाका आडमा जे बोलेपनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने दुर्गा प्रसाई छन् ।  अर्कोतिर जनताका लागि आफ्नो ज्यानको परवाह नगरेर अनशन बसेका डा. गोविन्द केसी छन् । दुई जना मध्ये कसलाई समर्थन गर्ने आँखा चिम्लेर सोच्नु पर्ने अवस्था छैन । मेरो समर्थन डा. केसीलाई ।
सरकार डा. केसीका माग पुरा गर्न अव बिलम्ब नगर । यो मुद्दामा कसैलाई राजनीति गर्ने मौका नदेउ ।