Close This

रमाईलो रामारोशन

शनिबार श्रावण १२, २०७५/ Saturday 07-28-18
Paschim Today

दीर्घराज उपाध्याय,
द्धन्दकालमा माओवादी हेडक्वार्टरका रुपमा चिनिएको रामारोशन शान्ति प्रकृयापछि मात्र सर्वसाधारणका लागि खुला भयो । सर्वसाधारणका लागि खुला नभएसम्म रामारोशन किम्बदन्ती जस्तै थियो । रामारोशनका बारेमा सुनेका कुराले मात्र पनि त्यहाँ जाने ईच्छा तिब्र पलाएको थियो ।
त्यही सुनेका कुराका आधारमा २०६५ सालमा पहिलो पटक चार जना साथीले रामारोशन जाने योजना बनायौ । जसमा यो पंक्तिकार, एभिन्युज टेलिभिजनका हिक्मत रावल, पत्रकार राजेश बागचन्द र ईञ्जिनियर कमल पन्त सहित चार जना थिए । सोच मिल्यो । योजना बन्यो । त्यसलगत्तै तीन वटा मोटरसाईकलमा चार जना धनगढीबाट लाग्यौ, रामारोशनतर्फ । 


धनगढीबाट साँफे पुग्दा रात परिसकेको थियो । साँफेमा खाना खाएर राति नौ बजे हामी तीन वटा मोटरसाईकलमा चार जना हानियौ, रामारोशन तर्फ । जहाँसम्म मोटरसाईकल जान्छ, त्यहाँ सम्म मोटरसाईकलमै जाने हाम्रो योजना थियो । तर छिपे खोला पार गरेर उकालो नचढ्दै हिक्मत चढेको मोटरसाईकल पञ्चर भयो । पञ्चर मोेटरसाईकल साँफे बजारमा राखेर आधा घण्टापछि फिर्ता भए कमल र हिक्मत । सडक कालोपत्रे भईसकेको थिएन । धुलाम्मे सडकमा मोटरसाईकलका पांग्रा हराउथे । एउटा मोटरसाईकल बिग्रिएपछि अव हामीसंग दुईवटा मोटरसाइकल थिए । दुईटामा दुई÷दुई जना चढेर आधा घण्टापछि मोटरसाईकलमा हिक्मत लाग्यौ । बयालपाटाको स्कुल नजिकैको उकालोमा कमलको मोटरसाईकल पनि बिग्रिएपछि भने हामी रन्थनियौ । रातिको साढे ११ बजीसकेको थियो । वस्ती पुरै निदाईसकेको थियो । चकमन्न अध्यारो । कुुकुरहरु एकतमास भुकिरहेका छन् । द्धन्दको समयमा थुपै्र पहाडी जिल्लाहरु घुमियो । यसरी रातको समयमा हिड्नुपर्दा त्यतिबेला निकै डर लाग्थ्यो, यसरी हिड्नुपर्दा । तर यसपटक रत्ति डर लागेको छैन । तर वस्ती सुतिसकेकोले अब कता जाने के गर्ने भन्ने अन्यौलमा थियो । मुस्किलले बाटो छेउको पसलेले हामीले उठ्न गरेको आग्रह सुने । बिग्रेको मोटरसाईकल उनकै जिम्मा लगायौ । रातभरी हिडे दोस्रो दिन चाडै रामारोशन पुग्ने हाम्रो सोच थियो । त्यही कारण हामी बयालपाटामा बास बस्ने पक्षमा थिएनौ । तर अघि बढ्ने कसरी दोधारमा थियौ । मोटरसाईकल एक, मान्छे चार । साथीहरुको सल्लाहमा यो पंक्तिकार र राजेश मोटरसाईकलमा र हिक्मत र कमल पैदल अघि बढे । हामीले जयगढलाई गन्तव्य बनाएका थियौ । राति करीव डेढ बजे हामी जयगढ पुग्यौ । 

बासका लागि एउटा होटलको ढोका ढक्ढक्यायौ । साहुजीले हामीलाई सहजै बास दिए । बिहान पाँच नबज्दै उठ्यौ । निन्द्रा भन्दा हामीलाई गन्तव्य प्यारो थियो । बिहान सबेरै उठेका हामीले ६ बजे जयगढ छोड्यौ । अब मोटरसाईकल चढ्ने पालो हिक्मत र राजेशको थियो । कमल र म पैदल लाग्यौ, दर्ना हुदै । हिक्मत र राजेश भने सडक हुदै मोटरसाईकलमा अघि बढे ।
हामी पैदल भएपनि निकै रफ्तारमा थियौ । बिहान १० बजेसम्म रामारोशन पुग्ने लक्ष्य थियो ।
तर मध्यदिनमा हामी गज्जड पुग्यौ । कैलाशखोलामा नुहाईधुवाई ग¥यौ । त्यही खाना खायौ । गज्जडमा मोटरसाईकल राखेर चारै जना लाग्यौ, रामारोशनतर्फ । राजेश सुस्त थिए । उनीसंगै थिए, हिक्मत । कमल र यो पंक्तिकार भने अघिअघि ।
सुसेली हाल्दै आफ्नो उपस्थिति जनाईरहेको कैलाशखोला । कैलाशखोलालाई कहिल्यै दाया र कहिल्यै बाँया पार्दै अघि बढिरहेका छौ, हामी । 

कैलाश खोला उधो बग्न हतारिएको लाग्छ । हामी भने कैलाशखोलाको मुहानतर्फ उकालो चढ्दै थियौ । कैलाश खोलाकै बिपरित दिशामा यात्रा गर्दाको आनन्द बेग्लै हुन्छ ।

एउटै कैलाश खोला । तर त्यही एउटा कैलाशखोलामा सयौ घट्ट । घट्टको आवाजमाथि हावी भएको कैलाश खोलाको गर्जन । घरभन्दा अग्ला अजंगका ढुंगा । खोलामा रहेका तिनै ढुंगा आगनका रुपमा प्रयोग गरेका पाईन्छन्,मुजाबगरदेखि रामारोशनको तल्ली पातलसम्मका खोला छेउका बस्तीका बासिन्दाले ।

बिस्कुन तिनै ढुंगामा सुकाईएका छन् । अनि भर्खरै काटिएका गहुबाली पनि तिनै ढुंगामाथि । पानी परे भने त ती ढुंगामा सुकाईएका बिस्कुन र गहु सिधै कैलाशखोला जाने पक्का छ । पानी परे के गर्दा होलान,बिस्कुन सुकाउनेहरु ? मनभित्रै प्रश्न उठछ ।

उत्तरहरुको खोजी भन्दा हामीलाई पुग्नु थियो,रामारोशन । हामी कैलाशखोला छिचोल्दै बढ्यौ, अघि । कही झोलुङ्गे पुल तरेर त कही खोला तरेर यात्रा निरन्तर अगाडि बढायौ ।

निरन्तर हिड्दाको थकान छ । भोक छ । तर हामी भित्र दृढ ईच्छाशक्ति छ, रामारोशन पुग्ने । यही दृढ ईच्छाशक्तिले हाम्रो उत्साह मर्न दिएको छैन । हामी निरन्तर रुपमा अघि बढिरहेका छौ । द्धन्दमा सबैभन्दा बढि प्रभावित ठाँउमा थियौ, हामी ।

द्धन्दकालमा माओवादीका लागि सुरक्षित आश्रयस्थल बनेको थियो, रामारोशन । सामरिक हिसावले पनि अत्यन्तै उपयुक्त रह्यो, माओवादीका लागि । माओवादीले युद्धका क्रममा घोषणा नै गरेका थिए,,युद्ध जिते रामारोशनलाई सुदूर पश्चिमको सदरमुकाम बनाउने भनेर ।
शान्ति प्रकृयापछि ठूलो दल भएपछि पहिलो पटक सरकारमा पुगेको माओवादी  नौ महिनामा सरकारबाट बाहिरियो । त्यतिबेला पनि उसले रामारोशन बिर्सियो । त्यसपछि पनि निरन्तर माओवादी सरकारमा रह्यो । नेपाल कम्युनिष्ट पार्टीसंग एकतापछि बनेको नेकपाका अध्यक्ष तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल छन् । र अहिले नेकपाको दुई तिहाईको सरकार छ । तर उसलाई रामारोशनको सम्झनासम्म छैन । द्धन्दमा रामारोशनलाई सुदूरपश्चिमको राजधानी बनाउने माओवादीको प्रतिबद्धता यतिबेला ठट्टा जस्तै भएको छ । 
रामारोशन टेकेर माओवादी सरकारमा पुग्यो । कुनै बेला माओवादीको हेडक्वार्टर थियो, रामारोशन । त्यही हेडक्वार्टर तहसनहस गर्न राज्यले त्यतिबेला निकै धनजन र शक्ति परिचालन गरेको थियो, रामारोशनमा । 
माओवादी शान्ति प्रकृयामा आएपछि माओवादी फेरियो । माओवादीको हेडक्वार्टर फेरियो । माओवादीको हेडक्वार्टर काठमाडौं भयो । रामारोशन भने उस्तै छ । निस्तै छ । 

रामारोशनमा टेक्दा ‘मोती खोज्न सागरको गहिराईमा पुग्नुपर्छ’ भन्ने उखान सम्झिए । साच्चै रामारोशन मोती हो । त्यस्तो मोती जसको अनुपम सौन्दर्यले जो कोहीलाई लठ्याउछ । जो कोही मुग्ध हुन्छ । 
रामारोशन हेरेका भए सायद भिन्चीले मोनालिसालाई बिर्सन्थे होलान ? आफैलाई प्रश्न गरे । रामारोशनको सुन्दरताको तुलना मोनालिसासंग हुन सक्दैन र ?

किनीमिनी र रोशन ‘गडो’ काठमाडौंको किम्बदन्तीलाई सम्झना गराउछ । बिशाल तालका रुपमा रहेको काठमाडौंलाई चोभारमा खनेर मञ्जुश्रीले मानब बस्ती बसाए झै कुनै मञ्जुश्रीले किनिमिनी र रोशन तालको पानी सुकाएको हुनसक्छन ।
अहिले पनि यी दुई बिशाल गडा(समथर फाँट) बिगतमा ताल रहेको कुरा अन्दाज गर्न गाह्रो हुदैन् । तालका अवशेषहरु बालुवा, दलदल र सिमसार छन,किनिमिनी र रोशनमा ।

किनिमिनी त कैलाश खोलाको उदगम थलो अर्थात मुहान हो । कैलाश खोलालाई जीवन दिने किनिमिनी हो कि ? कैलाश खोलाले किनिमिनीलाई जीवन दिएको छ ? यी अनुत्तरित प्रश्न उठन सक्छन,त्यहाँ पुग्ने जो कोही भित्र । किनिमिनीको मध्य भागमा नागबेली आकारमा बग्दा कैलाश खोलामा कुनै गर्जन छैन । शान्त अनि सुस्त कैलाश खोला जति जति मुन्तिर झर्दै जान्छ,रामारोशनबाट । कैलाश खोलाको त्यति बढि गर्जन बढ्दै जान्छ । उसको आकार, आयतन र स्वरुप पनि फराकिलो हुदै बढ्छ ।

त्यही कैलाश खोलाले सयौ पानी घट्टलाई जीवन दिएको छ । बाली नालीलाई पानीको अभाव हुन दिएको छैन् । अध्यारा बस्तीहरुलाई झिलीमिली पार्ने बिद्युती आयोजनाहरु दिएको छ,कैलाश खोलाले । कैलाश खोलाले यति धेरै गुन  लगाएको छ ।

किनीमिनी पुग्दा साँझ परिसकेको थियो । हामी जसै उकालो लाग्यौ, सूर्य ओरालो लाग्दै थियो,पश्चिम पट्टीबाट । हामी रामारोशन पुग्दा रात परिसकेको थियो । 

चारै तिर पहाड,र तीनै पहाडका बीचमा रहेको बिशाल समथर भाग रामारोशनको मुख्य आकर्षणस्थल हो । १२ बण्ड १८ खण्ड रामारोशनको परिचय हो । हिउदमा हिउले ढाकिने रामारोशनमा  बिशाल तालहरुले रामारोशन क्षेत्रलाई थप रमणिय बनाएको छ । पहाडकै खोचमा सम्म परेका हरिया फाँटहरुमा पाईला टेक्दा तराईको कुनै सुन्दर भागमा पुगेजस्तो लाग्छ । 
अछामको विकट तर सुन्दर रामारोशन क्षेत्रको शोभा बढाउने एक दर्जन तालमध्ये यो ताल सबैभन्दा बिशाल छ ।

भनिन्छ,मोती सागरको गहिराईमा पाईन्छ । लाग्छ,रामारोशन पनि त्यस्तै सुन्दर मोती हो,जोसम्म पुग्न कठिन र डरलाग्दा पहाडहरु छिचोल्नपर्छ ।