Close This

दोषीमाथि कारबाही गर

शुक्रबार श्रावण १८, २०७५/ Friday 08-03-18
Paschim Today

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभिटी डिप्लोमा तह पूर्ण छात्रवृतितर्फको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि त्यसको छानबिनका लागि सिटिइभिटी केन्द्रबाट छानबिन टोली धनगढी आएको छ । 
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीईभिटीले प्रदेश नम्बर ७ मा प्राविधिक तर्फको ४ वटा परीक्षाका केन्द्रहरु तोकेको थियो । पञ्चोदय मावि धनगढी, जेसीज एभरेष्ट इंगलिस स्कुल धनगढी, टीकापुर पोलिटेक्निक कलेज टीकापुर र सेती प्राविधिक शिक्षालय दिपायलमा रहेका केन्द्रमध्ये पञ्चोदय माविमा सञ्चालित परीक्षामा प्रश्नपत्र बाहिरिएको तथ्य फेला परेको थियो । जुन विषयको समाचार पश्चिम टुडेले प्रमाण सहित प्रकाशन गरेको थियो ।
शनिवार धनगढीको पञ्चोदय माविमा सञ्चालित प्रवेश परिक्षामा परीक्षा सुरु भएलगत्तै प्रश्नपत्रहरु बाहिरिएको तथ्य फेला परेको छ । आफूले उत्तिर्ण गराउन चाहेका विद्यार्थीलाई उत्तरपुस्तीकाभित्रै हल गरिएको चिट दिएको पाईएको थियो । यसमा परीक्षा केन्द्र मात्र जिम्मेवार छैन । सिटिईभिटी पनि जिम्मेवार छ । यो त्रुटी होईन । जानाजान भएको अपराध हो । यो कार्य जसले गरेको भएपनि यो गम्भीर अपराध हो ।  
यसले के पनि संकेत गर्छ भने पञ्चोदयको घट्ना बाहिर आएपनि अन्यत्र पनि यस्तो भएको हुन सक्ने आशंका प्रबल भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद क्षेत्रीय कार्यालय कोहलपुर र केन्द्रीय कार्यालयले यो घट्नालाई गम्भीरतापूवर्क लिनुपर्छ ।
आफहरुको भविश्यमाथि खेलवाड भएको बताउदै बिद्यार्थीहरुले दोषीमाथि कार्वाहीसंगै परीक्षा रद्द गर्नुपर्ने माग अघि सारेका छन् । विद्यार्थीका यी माग जायज छन् । कोही पैसा दिएकै कारण उत्तीर्ण हुन । तर कोही क्षमता र योग्यता हुदा हुदै भएपनि पैसा दिन नसकेका कारण सुबिधाबाट बञ्चित हुने अवस्था दुर्भाग्यपूर्ण हो । 
छानिबनका लागि आएको टोलीले झारो टार्ने काम गर्न हुदैन । नामको मात्र छानबिन गर्ने हो भने छानबिनको कुनै अर्थ छैन । यसले के संकेत गर्छ भने बिगतमा यस्ता घट्ना हुने गरेका थिए । तर सम्बन्धित निकायको लापरबाही, गैरजिम्मेवारी र मिलेमतोका कारण यस्ता घट्नाको पुनरावृति भएको हो ।
पहिलो यो घट्नामा संलग्न व्यक्तिको पहिचान गरी कडा कारबाही गर्नुपर्छ । दोस्रो यस्ता घट्ना आगामि दिनमा दोहरिन नदिने प्रतिबद्धता गर्दै आम परीक्षालाई विश्वस्त पार्नुपर्छ । तेस्रो यो परीक्षा रद्द गर्नुपर्छ । यसको निष्पक्ष छानबिन नगरी निष्कर्ष नपुगे स्वयम छानबिन समिति समेत शंकाको घेरामा रहनेछ । यसको हेक्का छानबिन समितिले पनि राख्न जरुरी छ ।