Close This

शिक्षकले डेढ वर्षदेखि तलब पाएनन

शनिबार श्रावण १९, २०७५/ Saturday 08-04-18
Paschim Today

कञ्चनपुुर, १९ साउन ।
कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसक्दा निजि स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाउन सकेका छैनन् । 
विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले १५ महिनादेखि १८ महिनासम्मको तलब नपाएको निजी स्रोत शिक्षक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र धामीले बताए । 
नगरपालिकाका केही विद्यालयले वर्षमा एक दुई महिनाको तलब दिए पनि अधिकांश विद्यालयका निजि स्रोतका शिक्षकले तलब नपाएको उनले बताए । 
सँगै पढाउँदै आएका राहत, अस्थायी र स्थायी शिक्षकले आफ्नै अगाडिबाट तलब थापेर जाने गरेको बताउँदै उनले आफूहरूले भने टुलुटुलु हेरेर निराश हुनुबाहेक अर्को विकल्प नरहेको बताए । नगरपालिकाले निजी स्रोतका शिक्षकका लागि तलबको व्यवस्था नगर्दा यस्तो परिस्थिति आएकाले अध्यक्ष धामीले जोड दिए ।
सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नगर सञ्जालका अध्यक्ष बिष्णुदत्त जोशीले शिक्षकको तलब भत्ताको व्यवस्था स्थानीय तहले नै गर्नुपर्ने दायित्व भएको बताए ।
 सामुदायिक विद्यालयको गुणस्तर बढाउनका लागि विषयगत शिक्षकको व्यवस्था अनिवार्य हुनुपर्ने बताउँदै शिवशंकर माविका प्रधानाध्यापक बिष्णुदत्त जोशीले विद्यार्थी अनुपातमा शिक्षक अभाव भएकाले निजी स्रोतका शिक्षक नभए विद्यालय नै बन्द हुने बताए । 
नगरपालिका प्रमुख दिलबहादुर ऐरले निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्ने प्रयास भइरहेको जानकारी दिए । नगरपालिकामा सञ्चालित ३२ सामुदायिक विद्यालयमा ८१ निजी स्रोतका शिक्षक कार्यरत छन् ।