Close This

स्वास्थ्य बीमा बोर्डको चौमासिक समीक्षा कार्यक्रम सम्पन्न

सोमबार श्रावण २१, २०७५/ Monday 08-06-18
Paschim Today

पश्चिम टुडे, धनगढी २१ साउन । 
स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौं र सहयोगी दातृ निकाय कोईकाको संयुक्त आयोजनामा स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धी चौमासिक समीक्षा कार्यक्रम आईतबार सम्पन्न भएको छ । 
प्रादेशिक स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि सामाजिक विकास मन्त्रालय ७ नं. प्रदेशका सचिव गगन बहादुर हमाल, विशेष अतिथि स्वास्थ्य बीमा बोर्ड टेकुका कार्यकारी निर्देशक डा. मदन कुमार उपाध्याय, अतिथि कोईका नेपालका परियोजना व्यवस्थापक प्रतिक खनाल रहेका थिए । 
समिक्षा कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वडाका दर्ता सहयोगी, स्वास्थ्य संयोजक, शिक्षा संयोजक लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य बीमा बोर्ड प्रदेश नं ७ का संयोजक जनक साउँदले नेपाल भरी ४२ जिल्लामा कार्यक्रम लागु भएको र आगामी मंसिर १ गतेदेखि कंचनपुर र दार्चुला जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु हुने बताए । सेवा प्रदायक संस्थाहरुमा स्वास्थ्य बीमा बोर्डले सूचीकृत गरेको १ हजार १ सय १८ प्रकार औषधि, एक्सरे, ल्याब जाँचहरु उपलब्ध नभएको समेत संयोजक साउँदले जानकारी दिए । 
बिमितहरुले सेवा प्रदायक संस्थाहरुमा स्वास्थ्य बीमा बोर्डले सुचीकृत गरेका औषधि, ल्याब जाँचहरु उपलब्ध नभएको र गुणस्तरीय स्वास्थ्य सेवा सुविधा नपाएको दर्ता सहयोगीहरुलाई गुनासो गर्ने गरेका छन् ।  
धनगढी उपमहानगरपालिकाका १९ बडा २७ हजार २ सय ६७ घरधुरीमा २ दुई हजार ५ सय ९९ घरधुरीले स्वास्थ्य बीमा गरेका छन् । उपमहागरपालिकाको जम्मा जनसंख्याको १०.२५ प्रतिशतले स्वास्थ्य बीमाबाट सेवा लिईरहेका बीमा बोर्डको तथ्यांकले देखाएको छ । 
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको सेती अंचल अस्पताल, नवजीवन अस्पताल, गेटा आँखा अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र, लालरत्न अस्पताल, घोडाघोडी अस्पताल सुख्खड, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्य केन्द्र लगायतमा स्वास्थ्य बीमा सम्बन्धी सेवा उपलब्ध हुँदै आएको आयोजकले जानकारी दिएको छ ।