Close This

६९ वर्षीय जोशी  : पहिले गुरु, अहिले विद्यार्थी

बिहीबार श्रावण २४, २०७५/ Thursday 08-09-18
Paschim Today

निर्मला खडायत,

धनगढी, २४ साउन । जागिर पछिको अवकाश जिन्दगी आराम गरेर बिताउने धेरैको धोको हुन्छ  । ‘भो, अब त पुग्यो । कति काम गर्नु ?’ अवकाशपछि धेरैले यस्तो भन्ने गरेका पनि छन् । तर कतिपय व्यक्ति यस्ता पनि हुन्छन्, जो न काम गरेर थाक्छन् न त अध्ययन गरेर नै । बरु जागिरे जिन्दगीमा पूरा गर्न नसकेका अधुरा ईच्छाहरु त्यही अवकाशको जिन्दगीमा पूरा गर्ने ध्याउन्नमा जुट्छन् । तिनै मध्येका एक हुन,  कैलालीका ६९ वर्षीय पूर्णानन्द जोशी ।

नाति नातिनालाई डो¥याएर विद्यालय पु¥याउने उमेरमा उनी आफैं पढ्ने धोको पूरा गर्न क्याम्पस भर्ना भए । पढ्नलाई न उमेरले छेक्यो, न त यो उमेरमा कलेज जाँदा समाजले के भन्ला भन्ने चिन्ताले नै पिरल्यो । अल्लारे सहपाठी उनलाई कलेजमा बाजे भनेर जिस्क्याउँछन । त्यसले उनलाई असर गर्दैन । उनी वास्ता नै गर्दैनन् । दिनहुँ कलेज जान्छन् । नातिनातिना उमेरका विद्यार्थीसँगै कलेज पढ्न पाउँदा दंग छन् ।

चार दशक लामो शिक्षण पेशा

आठ वर्षको उमेरमा उनको बुवा जगन्नाथ जोशी बिते । १२ वर्षको हुँदा आमा कमला देवीको निधन भयो । बाल्यकालमै टुहुरा भएका उनलाई दाइहरुले पढाए, हुर्काए । डोटीको पदम पब्लिक हाइ स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनी कैलाली झरे । र सुरु भयो,  शिक्षण पेशाको चार दशक लामो यात्रा ।

सुरुवातमा उनले धनगढीको पञ्चोदय उच्च माविमा पढाए । त्यसको केही समयपछि आफैँले स्थापना गरेको गोमती बाल विद्या मन्दिर स्कुलमा पढाउन थाले । २०२९ सालमा उनलाई सरकारले शिक्षकमा नियुक्त ग¥यो । तीन वर्ष गोमतीमा पढाएपछि २०३२ सालमा उनकोे सरुवा भयो, शारदा मिडल स्कुल श्रीपुरमा । त्यहाँ पढाउँदै गर्दा उनी स्थायी शिक्षक भए ।

                २०३३ सालमा उनको त्यहाँबाट पनि सरुवा भयो । नयाँ कार्यथलो भयो, डोटीको डौड गाविसको कालिका प्राथमिक विद्यालय । जहाँ उनले जीवनका उर्वर ३५ वर्ष शिक्षण पेशामा बिताए । २०६८ सालमा त्यही विद्यालयबाट अवकाश पाएपछि उनी फेरि तराई झरे । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोललाई स्थायी बसोबास बनाए ।

यसरी पलायो बाजेको पढ्ने इच्छा

४० वर्षसम्म चक डस्टर घोट्दा उनीभित्र तीव्र इच्छा थियो, पढ्ने । अझै बढी पढ्ने । त्यही इच्छाले उनलाई कलेज पु¥यायो ।

२०६९ सालमा सुदूपश्चिमाञ्चल एकेडेमी धनगढीमा ११ कक्षामा भर्ना भए । उनको रोजाई थियो, मानविकी संकाय । उनी भन्छन्, ‘शिक्षण पेशाले पूरा हुन नसकेको पढ्ने धोको अवकाशको जिन्दगीमा पूरा गर्ने अठोटले कलेज भर्ना भई छोडेँ ।’ यो उमेरमा पढ्न तपाईंलाई अप्ठ्यारो लागेन भन्ने प्रश्न भुईंमा खस्न नपाउँदै उनेले भने, ‘पढ्नलाई के को लाज ?’

उनले ४० वर्ष लामो शिक्षण जीवनमा अब्बल र अनुशासित विद्यार्थीलाई सधैं स्याबासी दिए । धाप मारे । गृहकार्य नगर्नेलाई हकारे । र कपाल फुलेर सेताम्ये भएपछि कलेजका विद्यार्थी बनेका उनलाई अहिले सरहरुको स्याबासीले त्यही शिक्षण पेशाताका आफूले विद्यार्थीलाई धाप मारेका पलहरु याद दिलाउँछ । भन्छन्, ‘सरहरुले स्याबासी दिंदा साह्रै खुशी मिल्छ ।’

उनी विगतका राम्रा कुरा सम्झिन चाहन्छन् । उनलाई टुहुरो हुनुको पीडा कस्तो हुन्छ ? थाहा छ । अभावको जिन्दगी कस्तो हुन्छ ? त्यसको अनुभव छ ।

अभाव, गरिबीका कारण एसएलसीपछि अघि बढाउन नसकेको पढाई उनी जसरी पनि पूरा गर्ने ध्याउन्नमा छन् । अब उनको बाँकी जीवनको एउटै लक्ष्य छ–पढाई पूरा गर्ने । आफ्ना अल्लारे सहपाठीहरुले पढाईमा खासै ध्यान नदिएको देख्दा उनलाई लाग्छ, यी कुनै दिन नपढेकै कारण पछुताउने छन् । त्यतिबेलासम्म धेरै ढिलो भइसकेको हुनेछ ।

उमेर छँदा पढ्न नपाएकोमा उनलाइै थकथकी छ । त्यो समयमा पढ्न पाएको भए कस्तो हुन्थ्यो ? उनी कहिलेकाहीँ सोंच्छन् । घोत्लिन्छन् । फेरि सम्हालिन्छन् । नफर्केने त्यो समयलाई सम्झेर बित्थामा किन मन अमिलो बनाउनु ? आफैंलाई प्रश्न गर्छन् ।

घर्केको समय र बगेको नदी उस्तै हुन् । कहिल्यै फर्किंदैन । उनी यसो भनेर आफ्ना कलेजका साथीहरुलाई सम्झाउँछन् । पढाईमा ध्यान दिन आग्रह गर्छन् । कतिपय साथी बुझे जस्तो गर्छन् । टाउको हल्लाउँछन् । कतिपय साथी बाजेका कुरा यस्तै हुन भनेर मुन्टो बटार्छन् । र सुने पनि नसुने झै गर्छन् ।

                उनी कक्षामा अनुशासित भएर बस्छन् । सरले दिएको गृहकार्य आज्ञाकारी विद्यार्थीझैं नछुटाएर गर्छन् । कतिपय साथी कलेज नआउने बहाना खोजिरहेका हुन्छन् । उनको भने एउटै चिन्ता हुन्छ, कुनै पनि दिन कलेज नछुटोस् ।

राम्रोसँग पढ्ने भएकाले उनले १२ कक्षामा राम्रै अंक ल्याएर उत्तीर्ण भए । उनी अहिले स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् । उनी पढाइसँगै पूजापाठ पनि गर्छन् । घरको कोठामा एकातिर किताब कापीहरु यत्रतत्र छरिएका छन् । अर्कोतिर पूजापाठका सामग्री र धार्मिक किताबको चाङ छ । घरमा हुँदा अधिकांश समय कलेजका किताबहरु प्ढ्छन् । फुर्सदको समयमा धार्मिक किताबहरु ।

नजानेको कुरा कसलाई सोध्नुहुन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरलाई नि, अरु कस्लाई सोध्नु ?’ आफूभन्दा कम उमेरको सरलाई सोध्न संकोच लाग्दैन ? भन्ने प्रश्नमा उनको उत्तर हुन्छ–‘सिकाई त जीवनभर चलिरहने प्रकृया हो । गलत काम गर्न पो संकोच मान्नुपर्छ । नजानेको कुरा सोध्न के को संकोच ?’

सिक्ने कुरामा संकोच नभएकै कारण उनी यो उमेरमा पनि निसंकोच कलेज जान सकेका छन् ।

गरिब विद्यार्थीलाई छात्रवृत्तिको लागि अक्षयकोष

६९ वर्षका पूर्णानन्द जोशीले गरिबी देखेका छन् । भोगेका छन् । त्यसैले त गरिबीका कारण पढ्नबाट बञ्चित विद्यार्थीको सहयोग पुगोस् भनेर छात्रवृत्तिका लागि एक लाखको पूर्णानन्द जोशी अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट आफू पढ्ने सुदूरपश्चिमाञ्चल क्याम्पसकै एक÷एक जना छात्र र छात्रालाई बर्सेनि ६÷६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्छन् ।

मान्छे खुशी खोज्न भौतारिरहन्छ । कोही पैसामा खुशी देख्छ, कोही पदमा । उनको खुशी भने दुईवटा कुरामा छ । पहिलो, अधुरो पढाई पूरा गर्नुमा । र अर्को, आर्थिक अभावका कारण पढ्न नपाएकालाई सक्ने जति आर्थिक सहयोग गर्नुमा । र त भन्छन्, ‘खुशी खोज्नु कही भौंतारिनु पर्दैन । यो त आफैंसँग छ ।’

उनी अवकाशपछिको जीवन व्यर्थमा बिताइ रहेकाहरुका लागि त उदाहरणीय व्यक्ति हुननै । हरेश खाएर पढाई छोडेका युवाहरुका लागि समेत प्रेरणाका पात्र बनेका छन् ।