Close This

दार्चुलाका स्वास्थ्य केन्द्रमा औषधि अभाव

शुक्रबार श्रावण २५, २०७५/ Friday 08-10-18
Paschim Today


सुन्दरसिंह धामी 
दार्चुला,२५ साउन ।
जिल्ला अस्तपाल दार्चुलाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा विगत लामो समयदेखि औषधि अभाव भएको छ । 
औषधि अभावमा विरामीहरु समस्यामा परेका छन् । उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका उनीहरु रित्तो हात फर्कन बाध्य छन् । 
मालिकार्जुन गाउँपालिका स्वास्थ्य केन्द्रमा दैनिक १५÷२०  जना बिरामीहरु आएकै हुन्छन तर औषधि अभावमा रित्तै हात फर्कने गरेको सो गाउँपालिका वार्ड न २ का  पदमसिंह धामीले बताए । ‘सरकारी स्वास्थ्य संस्थामा औषधि नभएपछि विरामीहरु निजी मेडिकलबाट चर्कोमा औषधि खरिद गर्न बाध्य छन्’, उनले भने । 
       सरकारले निःशुल्क वितरण गर्नका लागि उपलब्ध गराएको औषधि अभाव भएपछि तिनै औषधिलाई स्थानीयले निजी मेडिकलबाट खरिद गर्न बाध्य भएका हुन । जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध हुने व्यवस्था छ । तर, दार्चुलाको जिल्ला अस्पतालमा निःशुल्क पाईने औषधिहरु नपाइने गरेको मालिकार्जुन गाउँपालिका ४ की गीता खत्रीले बताइन् । 
    ‘अस्पतालमा सिटामोल बाहेक अरु औषधि पाइएन’, उनले भनिन्–‘अस्पतालमा औषधि नभएपछि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपब्ध हुने औषधि पनि किन्नु परेको छ ।’  निःशुल्क रूपमा उपलब्ध हुने ड्रेसिङका लागि घाउ सफा गर्ने एनएस औषधि इमर्जेन्सी कक्षमै नभएपछि उपचारमा समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । 
उपचारका लागि अस्पतालमा आउने जो सुकै विरामी पनि रित्तो हात फर्कन बाध्य भएका छन् । तर, जिल्ला अस्पताल प्रमुख रविरञ्जन शाहले भने औषधिको अभाव नभएको दावी गरे । 
‘अस्पतालमा केही औषधिमात्र छैनन् । तर, अभावै भएको होईन’, उनले भने–‘ अस्पतालमा कोही सिकिस्त विरामी आएमा औषधि जगेडा राखेका छांै ।’ बर्र्खा सुरु भएको र महामारी फैलिन सक्ने भएकाले त्यसका लागि थोरै भए पनि औषधिको जोहो अस्पतालले गरिरहेकाले सबैलाई समयमै सबै औषधि उपलब्ध गराउन नसकेको उनले बताए । 
     स्थानीय सरकार नहुँदा केन्द्रले नै जिल्ल्ला अस्पतालको लागि बजेट छुट्टयाउने गरेको थियो । तर, अहिले सरकार गाउँघरमै आए पनि स्वास्थ्य क्षेत्रमा रहेको अभावको समस्या नटरेको लालीका स्थानीय डम्मर भण्डारीले बताए । उनले स्थानीय सरकारले सर्वसुलभ र भरपर्दो सेवा प्रदान गर्न नसकेको गुनासो गरे । 
    ‘अहिले स्थानीय सरकार आएपछि बर्थिङ सेन्टरको पंख्या समेत चोरिएका छन्’, उनले भने–‘स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा केहि पनि हुन सकेको छैन ।’
‘बिरामी भएर आएका मानिसहरु पहिले त डक्टर पाउँदैनन् । डक्टर पाए पनि औषधि पाउँदैनन’ लेकम गाउँपालिका वडा नम्बर ३ लालीका स्थानीय कमल पार्कीले भने । उनले अगाडि थपे–‘म संग पैसाको अभाव छ । बिहान खाएर बेलुकी के खाउँ भन्ने अवस्था रहेको बेला बाबु नानी बिरामी हुन्छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि हुँदैन । निजी मेडिकलबाट कसरी औषधि खरिद गरेर उपचार गराउन सक्नू ?’
जिल्ला अस्पतालमा अहिलेको मौसममा आवश्यक पर्ने औषधि र जुनसुकै समयमा चाहिने अति आवश्यक औषधिको अभाव रहेको छ । स्लाइन, भाइरल ज्वरोको औषधि, एन्टीबायोटिक, इन्जेक्सन, दुखाइ कम गर्ने तथा श्वासप्रश्वासमा प्रयोग हुने औषधिको अभाव छ। कलमिलोसन, डाइजिन ट्याब्लेट, फसोमाइड, एसिटाजोलामाइड लगायतका औषधिहरू अस्पतालमा रहेको औषधि वितरण कक्षका कर्मचारी गोपालसिंह साउदले बताए।
      मालिकार्जुन गाउँपालिका वडान न ७ का कमला जोशीले अस्पतालमा उपचारका लागि आउने हरेक बिरामीहरू औषधि नपाउँदा दिक्क भएर फर्किने गरेका बताइन् । 
      जिल्ला अस्पतालमा समेत टाउको दुख्दा सिटामोल, ज्वरो आउँदा उही सिटामोल लिएर बिरामीहरू घर फर्कने गर्छन्। ‘अस्पतालले दिएको बिरामी पुर्जा लिएर निजी मेडिकलमा औषधि खरिद गर्न जाँदा पुर्जामा लेखिएका केही औषधिहरू अस्पतालमै हुनुपर्छ भन्छन्। तर, अस्पताल भने बिरामीलाई यहाँ छैन उता मेडिकलबाट किन्नु भनेर फर्काउने गरेको छ ।’ मालिकार्जुन गाउँपालिका २ का भागरथी धामीले भनिन् ।