Close This

सर्पले डसेका विरामीलाई तुरुन्त अस्पताल ल्याउन आग्रह

शनिबार श्रावण २६, २०७५/ Saturday 08-11-18
Paschim Today

पश्चिम टुडे, धनगढी २६ साउन ।
विषालु सर्पले डसेको विरामीलाईं उपचारका लागि तुरुन्त अस्पतालमा ल्याउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । 
    लापरवाहीले विरामीको घटना स्थल वा बाटोमै ज्यान जान सक्ने भएकाले समयमै उपचारका लागि अस्पताल पु¥याउन आग्रह गरेका हुन । विषालु सर्पले टोकेमा विरामीको स्वासप्रस्वास अवरुद्ध भइ केहि घण्टामै ज्यान जाने गरेको उनीहरुको भनाइ छ । 
    सर्पले डसेमा अधिकाङ्शले गाउँघरमै उपचार गराउन खोज्ने वा झारफुक गराउने परिपाटीको अझै पनि अन्त्य हुन सकेको छैन । यस प्रकारको हेल्चक्रयाइँले गर्दा सर्पको टोकाईबाट ज्यान जाने गरेको सेती अञ्चल अस्पताल आकस्मिक उपचार कक्षका इञ्चार्ज कृष्णबहादुर बोहराले जानकारी दिए ।  
    ‘विषालु सर्पले टोक्दा लापरवाहीले नै विरामीको ज्यान जाने गर्दछ’, उनले भने–‘सर्पले डसेका विरामीको ज्यान जोगाउन उपचार बाहेक अर्को विकल्प नरहेकाले उपचारका लागि तुरुन्तै ल्याउन आवश्यक छ ।’
    बर्खा याम लागेपछि यस क्षेत्रमा विषालु सर्पको बिगबिगी बढेको छ । गएको असार महिनामात्रै सर्पले टोकेको ४२ जना विरामीलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । जसमध्ये पाँच जनाको बाटोमै मृत्यु भएको पाइएको इञ्चार्ज बोहराले जानकारी दिए । उपचार गराउन ल्याइएका २३ जना विरामीलाई विषालु र १९ जनालाई विष नलाग्ने सर्पले टोकेको थियो । 
    ‘सर्पले डसेका पाँच जनाको बाटोमै मृत्यु भइसकेपछि उपचारको लागि अस्पतालमा ल्याइएको थियो’, उनले भने–‘तर, समयमा अस्पताल पु¥याइएका सबैलाई बचाउन सफल भएका छौं ।’
    आर्थि वर्ष २०७४/०७५ मा सेती अञ्चल अस्पतालमामात्रै सर्पले डसेका १५३ जना विरामी उपचारका लागि आएका थिए । जसमध्ये १२ जनाको मृत्यु भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७३/०७४ मा सर्पले डसेका १९४ जना विरामी सेती अञ्चल अस्पताल भर्ना भएका थिए । जसमध्ये १० जनाको ज्यान गएको बोहराले जानकारी दिए । आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा बढी २१५ जना विरामी उपचारका लागि सेती अस्पतालमा भर्ना भएकोमा सात जनाको उपचारको क्रममा ज्यान गएको थियो । 
    उपचारका लागि विरामीलाई ढिलो गरी अस्पताल पु¥याउँदा ज्यान जोगिने सम्भावना कम रहने गरेको जनाइएको छ । प्रदेश नम्बर ७ को सबैभन्दा बढी डोटी र डडेल्धुराबाट सर्पले डसेका विरामीहरु उपचारका लागि सेती अञ्चल अस्पतालमा आउने गरेको आकस्मिक उपचार कक्ष इञ्चार्ज बोहराले जानकारी दिए ।  
उनले सर्पले टोकेमा माथितिर हल्का बाँधेर विरामीलाई केहि पनि नखुवाई र हलचल समेत गर्न नदिइ उपचारका लागि तुरुन्त अस्पतालमा ल्याउन आग्रह गरे । कैलालीमा रहेको सेती अञ्चल अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महेन्द्रनगर स्थित महकाली अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ । यसैगरी, कैलालीको बढैपुर स्थित नेपाली सेनाको ब्यारेक र कञ्चनपुरको अर्जुनी ब्यारेकमा पनि सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेको छ । 
सेती अञ्चल अस्पतालमा सर्पदंश उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम डेढ सय भाइल रहेको इञ्चार्ज बोहराले जानकारी दिए । तराईमा गोमन, करेट जस्ता विषालु सर्प बढी पाईन्छ । गोमनले टोकेमा चाँडै र करेट सर्पले टोकेमा ढिलो गरी विष लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।