Close This

रहस्यमयी पाताल भुवनेश्वर

शनिबार श्रावण २६, २०७५/ Saturday 08-11-18
Paschim Today

दीर्घराज उपाध्याय
नयाँ ठाउ घुम्नु । र ती ठाउका अनुभव संगाल्नु अनि त्यसलाई लेख्नुको मज्जा बेग्लै हुन्छ । घुमेर नमरेको धित, नलेखेसम्म मर्दैन । 
बैतडीको पाताल भुमेस्वर गुफा, जसलाई पछि पाताल भुवनेश्वर भन्न थालियो,त्यसका बारेमा चर्चा सुनेको थिए । तर जाने मौका जुरेको थिएन ।
पाताल भुवनेश्वरलाई लिएर थुप्रै किम्बदन्ती छन् । द्धापर युगमा पाण्डवहरु यही गुफा भएर पाताल गएको धार्मिक विश्वास छ । पातालसम्म फैलिएकोले पनि यसलाई पाताल भुवनेश्वर गुफा भन्ने गरिएको चर्चा छ । पाताल भुवनेश्वर गुफाका विषयमा स्कन्द पुराणमा समेत चर्चा गरिएको छ । 
यस्ता थुप्रै किम्वदन्तीले पनि पाताल भुवनेश्वर जान उत्प्रेरित गरिरहेको थियो, २४ मार्च २०१३ मा बैतडी जाने अवसर जु¥यो । पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष तथा होटल रुवसका प्रबन्ध निर्देशक प्रकाश भट्ट हाम्रो टोली अगुवा थिए । र साथमा थिए, काठमाण्डौंबाट आएका पत्रकार अमृत भादगाँउले, दीपक उपाध्याय, ईन्टरनेशनल सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयजका अध्यक्ष तथा गुफा विशेषज्ञ मोरिस दुसेन र उनका दुई जना सहयोगी ।


हाम्रो मिसन थियो,पाताल भुवनेश्वर गुफाको गहराई पत्ता लगाउनु । धनगढीबाट एक दिनमा हामी बैतडी पुग्यौ । रातिको बास भयो, हाम्रा टोली अगुवा प्रकाश भट्टका बालसखा मोहन बिष्टको घर ।
बिदेशी टोली गुफाको गहिराई पत्ता लगाउन आउदै गरेको खवर हामी त्यहाँ पुग्नुभन्दा पहिले पुगिसकेको थियो । दोस्रो दिन बिहान हामी लाग्यौ,गुफातिर । 
स्थानीयहरु हामीसंग भित्र पस्न उत्सुक थिए । 
हामीसंगैका केही साथी द्विबिधामा थिए । भित्र पस्ने कि नपस्ने ? मनमा डर थियो । 
गाँउको सिरानमा रहेको त्यो गुफा स्थानीय बासिन्दाका लागि रहस्यमयी र अनौठो थियो । त्यहाँभित्र जुत्ता चप्पल लगाएर जादा देउता रिसाउने भय प्रकट गरिरहेका स्थानीय । तर अत्याधिक चिसोका कारण खाली खुट्टा भित्र जान कठिनाई हुने देखेपछि हामी देउतासंग मनमनै माफी मागेर भित्र पस्यौ ।
गुफाको प्रबेशद्वारबाट भित्र प्रबेश गरेसंगै अन्धकार शुरु भयो । जति भित्र पस्यौ, त्यति कौतुहलता पनि थपिदै गएको थियो । र संगै डरपनि ।
प्रबेशद्धार साघुरो छ । तर सयमिटर जति भित्र पसेपछि भने खुला ठाउ आयो । दुसेनको टीम अघि अघि । दुसेनका सहयोगी थिए, अविरल,जीवन । अमृतजी,  प्रकाश भट्ट र दीपकजीसंगै यो पंक्तिकार पछि थियो । दीपकजी र प्रकाश भट्ट दुई सय मिटर जतिअघि पुगेपछि फर्किए । हामी भने जति भित्र जान सकिन्छ जाने भन्ने अठोट सहित अघि बढ्यौ ।
जति अगाडि बढ्यौ । त्यति नै साघुरो ठाउ आयो । कतिपय ठाउमा त घस्रेर झर्नु पर्ने गरी साघुरो । दुसेनलाई सघाईरहेका थिए, उनका दुई सहयोगी । जोसंग उज्यालो र डोरीहरु थिए । टर्चको उज्यालो पछ्याउदै अघि बढिरहेका थियौ, अमृत र म ।
कही कही त झर्न पनि निकै कठिन । भित्र ठाउ ठाउमा पानी जमेको छ । कहाँ पानी छ । थाहै हुदैन । जव पानीमा खुट्टा प¥यो । तव मात्र थाह हुन्छ । जतिभित्र पस्दै गयौ, अक्सिजनको कमिले समस्या त हुदैन भन्ने डर पनि बढिरहेको थिए । गुफाका बारेमा हामीले एउटा चर्चा सुनेका थियौ, गुफा भित्र कही बोलिरहेको, धान चुटिरहेको आवाज सुनिने गर्छ । धानको मिठो बास्ना गुफाभित्र आउने गरेको पनि स्थानीयले सुनाएका थिए ।
यद्दपि त्यस्तो सुनाउनेहरुले पनि सुनेका कुरा हामीलाई सुनाएका थिए । उनीहरु पनि गुफा भित्र पसेका थिएनन । 
गुफा भित्र सुर्नया नदी सुसाएको सुनिन्छ भन्नेहरु पनि भेटेका थियौ हामीले । यही कुरालाई आधार बनाएर कतिपयले अड्कल थियो, सुर्नया नदीको कुनै ठाउमा गुफा टुंगिन्छ । तर त्यहाँ नपुगेसम्म यो कुरा पत्याउने आधार थिएन ।
हामी ती सबै अनुमान, अड्कल र किम्बदन्तीहरुलाई पछ्याउदै अघि बढिरहेका थियौ । कहाँ निस्किन्छ होला, गुफाबाट बगेको पानी ? पक्कै पनि सुर्नयामा मिल्छ होला ? भन्ने हामीलाई पनि नलागेको होईन । स्थानीय नरेन्द्र चन्द सुनाउदै थिए,हावा आउछ, गुफा भित्र । 
अचानक टर्च बन्द भयो । चारैतिर अन्धकार छायो । आँखा खुलै छन् । तर केही देखिदैन । न फर्किन सकिने अवस्था छ । न अघि बढ्नसक्ने अवस्था । हामी गुफाको प्रबेशद्धारबाट छ सय मिटर भित्र पुगिसकेको दुसेनले जनाउ दिईसकेका थिए । टर्चले काम गरेपछि सास आयो । 
गहिराई र लम्बाई पत्ता लगाउने उपकरण र डोरी दुसेनका साथमा थिए । हामी भने उनीहरुसंगै भएको डोरीको सहारामा अघि बढिरहेका थियौ । अध्यारोमा बोलेको सुनिन्छ । अरु केही देखिने होईन । र बोली सुनेका भरमा को कति टाढा छ, अनुमान गर्न गाह्रो ?  
छ सय मिटर पुगेपछि भने साह्रै कठिन भयो, हामीलाई । दुसेनका फुर्तिला सहयोगी अविरल लामा भने हल्का ज्यान भएका कारण सहजै झरिरहेका थिए । कहि यस्तो ठाउ छ, सोझै तल झर्नुपर्ने । मोटो ज्यानका दुसेनलाई भने त्यस्तो ठाउमा झर्न गाह्रो भईरहेको थियो । 
हामी ८ सय मिटर भित्र पुग्यौ । त्यतिबेलासम्म हामीले निकै कठिन र साघुरा ठाउहरु पार गरिसकेका थियौ । सबैभन्दा अगाडि रहेका दुसेनका सहयोगीहरुले अगाडि अझै साघुरा र कठिन ठाउ आएको भन्दै अगाडि बढ्न नसकिने जनाउ दिए ।  त्यसपछि भने हामी पाताल भुवनेश्वरको अन्तिम बिन्दुमा पुग्ने उत्कट ईच्छा पुरा हुन नपाउदै फर्कन बाध्य भयौ । त्यहाँसम्म पुग्न जति कठिनाई झेलेका थियौ । माथि उक्लिन र बाहिर निस्किन पनि त्यसभन्दा बढि कठिनाई भयो । 
दुसेनका सहयोगी अविरल लामा नाम झै अविरल झरिरहेका थिए, गुफामा । उनलाई पछ्याउन भने हामीलाई मात्र होईन, स्वयम उनका गुरु दुसेनलाई समेत सकस भईरहेको थियो ।  
हामी भने डर र सकसको दोसाधमा थियौ । न एक्लै फर्किन सक्ने । न त अगाडि बढ्न सक्ने ।
बाहिर हामीलाई पर्खिरहेका दीपकजी,प्रकाश भट्ट र स्थानीय बासिन्दाहरु चिन्तित भईसकेका थिए । हामी गुफा भित्र पसेको चार घण्टा भईसकेको थियो ।
बिहान ८ बजे गुफा भित्र पसेको हाम्रो टोली सवा चार घण्टापछि दिउसो सवा १२ बजे गुफाबाट बाहिर निस्किदा हामीलाई देखेर स्थानीय बासिन्दा दंग थिए । उनीहरु हाम्रा कुरा सुन्न स्थानीय बासिन्दा आतुर थिए ।
हामी गुफाको प्रबेशद्धारबाट करीव आठ सय मिटर भित्र र एक सय ६० मिटर गहिराईसम्म झरेका थियौ ।
यो भन्दा पहिले पनि यति भित्र कोही पसेको थिएन । र त्यसपछि पनि त्यति भित्र कोही पसेको छैन । बरु भित्र पसेकाहरु त्यहीभित्र केही दिनपछि मृत फेला परेका छन् । बिना तयारी र साधन बिना नै गुफामा प्रबेश गरेकाहरुको धेरै भित्र पसेपछि बाहिर निस्कन अत्यन्त कठिन भएकोले बाहिर निस्कन नसकेर र निस्साएर मृत्यु हुने गरेको हो । अझ एक्लै प्रबेश गर्ने मान्छे आत्तिएर त्यही भित्र मृत्यु हुने जोखिम छ । 
दुसेनका अनुसार यसअघि सबैभन्दा गहिरो मानिएको तनहुको सिद्ध गुफा ६५ मिटर गहिरो छ । दुसेनले पाताल भुवनेश्वर गुफा नेपालकै उत्कृष्ट र गहिरो गुफा भएको सुनाए । 
नेपाल र बिदेशका समेत गरी एक हजार दुई सयभन्दा बढि साना तथा ठूला गुफाको अध्ययन तथा अवलोकन गरिसकेका दुसेन सुनाउदै थिए, संसारका बिभिन्न देशका सयौ गुफा अवलोकन गरेको छु । तर यस्तो गुफा अहिलेसम्म देखेको थिएन ।
पाताल भुवनेश्वर गुफाको भ्रमण निकै रोमाञ्चकारी र स्मरणीय भएको बताउन पनि दुसेन चुकेनन । 
त्यही रहस्यमयी पाताल भुवनेश्वर गुफाभित्र एक पटक पसेर धित मरेन । वर्षदिनमा दुई पटक प्रबेश गरे । दोस्रो पटक पनि दुसेनको टीमसंगै थियो । यस पटक पनि पाताल भुवनेश्वर गुफाको सिमान्त विन्दुमा पुग्न नसकेर फर्कियौ ।
कति टाढा छ, पाताल भुवनेश्वर ?
धनगढीबाट करीव दुई सय किलोेमिटरको दूरीमा छ, बैतडीको सतबाँझ ।  सतबाझको मुल सडकबाट करीव १५ मिनेट उकालो चढेपछि पाताल भुवनेश्वर गुफा पुगिन्छ । 
पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष तथा होटल रुवसका प्रबन्ध निर्देशक प्रकाश भट्ट पाताल भुवनेश्वरको धार्मिक र पर्यटकीय महत्वको प्रचार प्रसार गर्ने पर्यटकको ओईरो लाग्ने विश्वास गर्छन ।