पग्लिने ‘पत्थर’को कथा

SITENAME

दीर्घराज उपाध्याय
मानिस नामले होईन, कर्मले चिनिन्छ । न्वारनको नाम कस्को के थियो, कमैलाई थाह हुन्छ । उसको परिचय र पहिचान कर्मले गराउछ । त्यही कर्मले नाम बनाउछ । तिनैमध्येकी एक हुन्, साहित्यकार श्रेष्ठ प्रिया पत्थर । हो, उनको वास्तविक नाम धेरै कमलाई थाह छ । 
उनको जन्म २०२१ साल साउन ७ गते डोटीको दिपायल सिलगढी नगरपालिकाको सिलगढीमा भएको थियो । बुवा पूर्णमान श्रेष्ठ र आमा कृष्ण कुमारीकी चार सन्तानमध्ये एक थिईन उनी । उनको न्वारनको नाम थियो, हरीप्रिया श्रेष्ठ ।


उनी जन्मेको केही समयपछि उनका बुवाआमा कैलालीको धनसिंहपुर गाविसको बटनपुर झरे । अक्षराम्भ कर्णाली नदीको किनारमा रहेको त्रिभुवन प्राथमिक विद्यालयमा भयो । जुन अहिले उच्च मावि भईसकेको छ । उनले चार कक्षासम्म अध्ययन गरिन, राष्ट्रिय प्रावि. झुंगामा । अनि पाँच कक्षा भर्ना भईन, मुनुवाको जनता माविमा ।
विद्यालय फेर्ने क्रम यही रोकिएन । उनले ६ कक्षा धनगढीको पञ्चोदय माविमा पढ्नि । र सात कक्षादेखि १० कक्षासम्म पढ्नि, बर्दियाको दशरथ माविमा । जहाँबाट उनले २०३७ सालमा एसएलसी पास भईन ।
उनी जति कक्षामा उक्लिन्थिन । उनको विद्यालय पनि फेरिन्थ्यो । विद्यालय जति फेरिएपनि उनको एउटा रुची भने कहिल्यै फेरिएन । न फेरिएको रुचि थियो, साहित्यिक किताव पढ्ने । उनी खोजी खोजी कथा र कविताका पुस्तकहरु पढथिन ।
कथा र कवितामा उनको चाख थियो । मुनुवाको विद्यालयमा पढ्दा पुस्तकालयबाट कथा र कविताका कितावहरु घर लगेर पढ्थिन । त्यहाँ पढ्दै गर्दा साहित्यिक कितावमा जागेको रुची पञ्चोदय माविमा पढ्दा आदत बनिसकेको थियो । पञ्चोदयमा उनले पहिलो पटक उपन्यास पढिन । उनले पढेको पहिलो उपन्यास थियो, खड्क बहादुर सिंहको ‘हुरीको चरा’ ।
कथा र कविता पढ्दै गर्दा उनी कविता कोर्न थालिसकेकी थिईन । 
धनगढीबाट प्रकाशित हुने खप्तड सन्देशमा उनको पहिलो कविता छापियो, आकांक्षा सबै मरिसके । कविताको शिर्षक ‘आकांक्षा सबै मरिसके’ भएपनि त्यो कविता उनको साहित्यिक यात्राको एउटा कोशेढुंगा थियो । आकांक्षाको स्वप्न उडान थियो । र थियो, त्यो उज्यालो सपनाको गोरेटो । जुन गोरेटोले कालान्तरमा उनलाई नयाँ पहिचान मात्र दिएन । सम्मान र प्रतिष्ठा पनि दियो । 
उनको त्यही बेला एउटा मुक्तक काठमाण्डौंबाट प्रकाशित हुने नयाँ सन्देश साप्ताहिकमा छापियो ।
घरमा उनका बुवा महाभारत पढ्थे । आमा लय हालेर रामायण पढ्थिन । उनलाई सुनिरहु लाग्थ्यो । बुवा आमा भजन गाँउथे । उनी त्यसमा पनि सामेल हुन्थिन । उनको परिवार अध्यात्मिक र धार्मिक थियो । जसले उनलाई साहित्यको मर्म नजानिदो किसिमले बुझाउदै थियो । उनी रेडियो सुन्थिन । पत्रपत्रिका पढ्थिन । रेडियो र पत्रपत्रिकामा आफ्ना कविताहरु पठाउँथिन । पत्रिकामा छापिएको आफ्नो कविता पढेर आफै दंग पर्थिन । एउटा कविता छापिएपछि अर्को कविता लेख्न उत्साहित हुन्थिन । र फेरि नयाँ कविताको जन्म हुन्थ्यो ।
एसएलसी पास भएपछि उनको विद्यार्थीको परिचय फेरियो, वाणिज्य बैंकको ज्यालादारी कर्मचारीका रुपमा उनको जागीरे जीवनको शुरुवात भयो ।
मासिक तलव थियो, २५५ रुपैया । खाजा भत्ता ६० । र राशन भत्ता १८ रुपैया ।
जागीरसंगै उनले पढाईलाई पनि निरन्तरता दिईन । सन १९८२ मा माध्यामिक शिक्षा परिषद ईलाहावाद अन्तर्गत पलियाबाट ईन्टरमिडियम पुरा गरेपछि स्नातकमा कानपुर विश्व विद्यालयमा भर्ना भएकी उनले त्यहाँबाट १९८२ मा पढाई पुरा गरिन । यता पढाई पुरा गरिन । उता उनी राष्ट्रिय वाणिज्य बैंकमा स्थायी भईन । र पढाईसंगै उनको पदोन्नती पनि भयो । जागीरसंगै उनले साहित्य लेखनमा पनि निरन्तरता दिईन । यद्दपि कार्यालय समयमा पनि साहित्यमा ध्यान दिन्थिनन । र घरमा पुगेपछि कार्यालयको काम सम्झिन्थिनन । र घरको समय साहित्य सृजनामा लगाउथिन । जागीरबाट पैसा मिल्थ्यो, साहित्य लेखनबाट आत्मसन्तुष्टि । त्यही आत्म सन्तुष्टिले उनलाई साहित्य सृजनामा लागीरहन उत्प्रेरित गरिरह्यो ।
२०४० सालको एउटा क्षण उनका लागि अवस्मरणीय छ, खप्तड सन्देशका प्रकाशक÷सम्पादक जितसिंह भण्डारीले मालिक मजदुर बर्ग समन्वय एक बिबेचना छापिएपछि ५० रुपैया पारिश्रमिक पठाएको उनलाई अहिले झै लाग्छ । यो उनको पहिलो कमाई थियो, साहित्यिक जीवनको ।
जागीरे जिन्दगीपछि उनी उपन्यास पढ्न थालिन । उनले केही वर्षमा हजारभन्दा बढि उपन्यास पढिन । उपन्यास पढ्दा पढ्दै उनी उपन्यास लेख्न थालिन । २०४३ सालमा उनले पहिलो उपन्यास लेखिन,मर्यादा । जुन विशुद्ध प्रेमकथामा आधारित थियो ।
२०४४ मा उनले अर्को उपन्यास लेख्न शुरु गरिन । जुन २०४७ मा पुरा भयो । उनको दोस्रो उपन्यास थियो, पतिगंर । 
उनलाई लेख्न उत्प्रेरित गथ्र्यो, आफ्नै परिवेशले । समाजमा विद्यमान जमिन्दारी प्रथा, मोही प्रथाले उनलाई उद्देलित गराएको थियो । जमिन्दारको ज्यादतीले उनलाई भित्रभित्रै बिद्रोही बनाएको थियो । त्यही बिद्रोह पोखिएको थियो, पतिगंरमा । उनका बुवा मोहीका पक्षमा लड्थे । बुवा उनका उपन्यासका नायक थिए । 
पतिगंर तिनै पात्र र प्रबृतिहरुमाथि लेखिएको थियो । जसमा सोझा थारु, जो जमिन्दारबाट प्रताडित थिए, उनीहरु पनि पात्र थिए । मोहीका पक्षमा लड्ने उनकै बुवा पनि पात्र थिए । अझ शोषण गर्ने जमिन्दारहरुलाई पनि उनले खलनायकका रुपमा प्रस्तुत गरेकी थिईन ।
उपन्यास त लेखेर सकियो । अव छाप्नु प¥यो । उनी धनगढीमा खेमराज पाण्डेय(पूर्व मेयर, धनगढी नगरपालिका) ले सञ्चालन गरेको पाण्डुलिपि लिएर पुगिन । लखिमपुरबाट कागज आफै ल्याईन । उपन्यास छाप्न सुरु भयो । ३०÷३५ पृष्ठ छापिएपछि छपाई भद्रगोल भयो । पहिलो गासमै ढुंगा भने झै भयो । तर पनि उनले हिम्मत हारिनन । हरेश खाईनन । र पुगिन, महाकाली प्रिन्टिङ प्रेस महेन्द्रनगर । १८ हजार रुपैया तिरेपछि उपन्यास छापियो । 
२०४९ सालमा उनको तेस्रो उपन्यास आयो, पुकार । जुन पतिगंरको निरन्तरता थियो । कविता,मुक्तक हुदै उपन्यासमा खारिदै गएको उनको साहित्यिक लेखन कथातिर पनि झांगियो । २०४९ मा केही कथा लेखिन । उनका कथाहरु मधुपर्कमा छापिन थाले । 
कथा र उपन्यास लेखन संगसंगै अगाडि बढाउदै २०५० सालमा रंगभूमि उपन्यास लेखी भ्याईन । बनारसको दुर्गा पुस्तक भण्डारले १० प्रतिशत रोयल्टी दिने सहमतीम रंगभूमि प्रकाशित ग¥यो । रोयल्टी वाफत पनि उनले पैसा होईन, उपन्यास नै पाईन । सुरुमा एक हजार प्रति छापिएको रंगभूमि बिक्री भएपछि दोस्रो पटक फेरि हजार प्रति थप छापियो ।
२०५२ मा मर्यादा पुनः प्रकाशित भयो । र २०५३ मा कसिंगर उपन्यास बाहिर आयो । 
उनी २०४३ सालमा गजल लेख्न थालिसकेकी थिईन । उपन्यास लेखनको व्यस्तताले गजल लेखन सुषुप्त थियो । उनी हिन्दी गजल पढ्थिन । उनमा त्यसको प्रभाव परेको थियो । कम शब्दमा धेरै प्रभाव हुन्छ,गजलको । नेपालीमा किन लेख्न मिल्दैन भन्ने लाग्यो ? सुर चल्यो, गजल लेख्न थालि हालिन ।
रदिफ,काफिया र शेरको प्रभाव बढ्दै गयो । २०५१ सालमा गजलकार घनश्याम न्यौपाने परिश्रमिसंगको भेटले उनलाई गजल लेख्न झनै प्रोत्साहित ग¥यो । र उनी गजलकार भईन ।
गजलमा उनी कहि पग्लिईन, कही पोखिईन । कहि उद्देलित भईन । कही बिद्रोही भईन । त कही राष्ट्रवादी । गजल श्रृंगारिक हुन्छ । प्रेम र सौन्दर्यता यसका गहना हुन् । बाहिरबाट झट्ट हेर्दा प्रेम प्रति असहिष्णु देखिने र कहिलेकाही आफ्नै जिन्दगी प्रति पनि कठोर देखिने ‘पत्थर’ भित्रैभित्रै कति पग्लिएकी छन्, उनका गजल त्यसका साक्षी छन् ।
गालिवले भनेका छन्, दुनियामा और भि हे मोहब्बत के सिवा । हो, उनका गजलमा प्रेम मात्र लेखिएन । देशभक्ति पनि गजल बन्यो । उनले अन्याय, अत्याचार शोषणमाथिको बिद्रोह पनि गजल मार्फत नै ओकेलिन ।
उनले आफ्नो साहित्यिक नाम, आफ्नै मर्जीले पत्थर राखेकी थिईन । पत्थर, जो सुन्दैन । जसलाई दुख्दैन । जो रुदैन । जसलाई पीडा हुदैन । जसका पीर र व्यथाहरु हुदैनन । जसलाई खुशीले छुदैन । 
तर उनी पृथक पत्थर थिईन । र त, उनी आफ्ना व्यथाहरु सहित पग्लिईन, ‘पग्लिएका व्यथाहरुमा’ । पग्लिएका व्यथाहरु उनको पहिलो गजल संग्रह थियो ।
पत्थरका गुनासा हुदैनन, र आकांक्षा पनि । र त उसका प्रलापहरु पनि हुदैनन । तर गजलकार ‘पत्थर’ ति भन्दा अलग थिईन । २०५९ मा उनको अर्को गजल संग्रह बाहिर आयो, पत्थरका प्रलापहरु ।
नरुने पत्थरका आँशुका के कुरा ? श्रेष्ठ प्रिया पत्थर भित्र मन छ । खुशीमा फुरुंग हुन्छ, दुःखमा रुन्छ । गजलमा त्यही रुवाई, त्यही आँशु पोखिएपछि, त्यही आँशु सौगात बन्यो । र जन्मियो, आँशुको सौगात । २०६७ सालमा प्रकाशित आँशुको सौगात उनको तेस्रो गजलसंग्रह थियो ।
र जव ओभाएनन, आँशुले पत्थरका आँखा । तव जन्मियो, ओभाएका छैनन आँखा । आँखाबाट आँशु होईन, जव नदी बग्न थाल्छ, पीडाको । तव मुस्किल हुन्छ, ओभाउन । आँशु दुःखको प्रतिक मात्र होईन, स्रोत र शक्तिको स्वरुप पनि हो । जसले त्यसलाई शक्तिमा बदल्न सक्यो, उसले संसारलाई जित्ने सामथ्र्य राख्नसक्छ । श्रेष्ठ प्रिया पत्थरले पनि नओभाएका आँशुलाई साहित्यमा नयाँ पहिचान र उचाई बनाउन प्रयोग गरिन । र सफल पनि भईन । 
उपन्यासपछि उनको गजल लेखनको क्रम जारी थियो । साहित्यिक लेखनको क्रम जारी रहेकै बेला उनले कविता संग्रह बाहिर ल्याईन, क्रम जारी छ । २०६१ सालमा प्रकाशित क्रम जारी छ, उनको पहिलो कविता संग्रह थियो ।
यो अबधिमा उनले थुप्रै साहित्यकार, गजलकार, कविहरुका दर्जनौ कृतिहरुमा भूमिका लेखिसकेकी थिईन । तिनै भूमिकाहरुलाई संकलन गरी उनले तयार गरिन, सम्यक दृष्टि । यो भूमिकाहरुको संगालो थियो ।
उपन्यास र गजलमा व्यस्त भईरहदा उनले कथाका लागि समय निकाल्न सकी रहेकी थिईनन । यद्दपि उनले कथा लेखनलाई बिट मारेकी थिईनन । छिटफुट लेखिरहिन । त्यसैको प्रतिफल थियो, ‘एउटा अर्को बाटो’ कथा संग्रह । जुन २०६६ सालमा प्रकाशित भयो । 
त्यसयता साहित्य लेखनमा केही सुस्ताएकी उनले २०६७ सालमा एउटा फरक बिधामा नयाँ कृति बाहिर ल्याईन । जसको नाम थियो, तेस्रो आँखा  । २०७३ सालमा १४ औं कृतिका रुपमा उनले जन्माएको तेस्रो आँखा समीक्षा संग्रह थियो ।
हरी प्रिया श्रेष्ठ एक परिधिमा कैद राष्ट्रिय वाणिज्य बैंककी जागीरे ।  श्रेष्ठ प्रिया पत्थर एक लेखिका । स्वच्छन्द साहित्यकार । एक व्यक्ति । दुई नाम । जागीरले मान्छेको स्वभाव र रुचिलाई थिचिरहेको छ । जागीरे हरीप्रिया श्रेष्ठ र साहित्यकार श्रेष्ठ प्रिया पत्थरका बीच अन्र्तद्धन्द थियो वा थिएन । जान्न चाहे । र जिज्ञासा राखे । 
जागीरे हरी प्रिया श्रेष्ठ नभएको भए सधै हातमुख जोर्नकै चिन्ता हुन्थ्यो, साहित्य लेखनका लागि न उर्जा मिल्थ्यो, न त वातावरण, साहित्यकार श्रेष्ठ प्रिया पत्थरको प्रष्टोक्ति थियो । 
ज्यालादारीमा राष्ट्रिय वाणिज्य बैंकमा प्रबेश गरेकी हरी प्रिया श्रेष्ठ छैठो तह (अधिकृत) बाट एक वर्ष अघि २०७४ चैत १६ गते ३० वर्षे अबधि पुरा गरेर सेवा निवृत भईसकेकी छिन् । 
तर श्रेष्ठ प्रिया पत्थर भने अझै सक्रिय र तल्लिन छन्, साहित्य साधनामा । त्यहाँ न अवकाश छ । न सेवा अबधि । न त कुनै परिबन्ध । 
अझै उत्कृष्ट कृति जन्माउने रहर छ, अविवाहित श्रेष्ठ प्रिया पत्थरभित्र । भन्छिन्, साहित्यमा उमेरले रहरको उडान रोकिदैन । 
कति लेख्नु ? अव पुग्यो । भो लेख्दैन । कुनै साहित्यकारले यस्तो भनेको सुनिएको छैन । आमाका लागि हरेक सन्तान उत्तिकै प्रिय हुन्छन । चाहे सन्तान जस्तो सुकै हुन् । यो आमाको महानता हो । सबै सन्तानलाई समान व्यवहार गर्ने भएकैले आमा भनिएको हो । जसको ममताको कसैसंग तुलना हुदैन । एउटा साहित्यकार पनि आमाकै रुप हुन । जो आफूले जन्माएका हरेक कृतिलाई उत्तिकै माया गर्छिन । यही हो, साहित्यकारको गुण । यही गुण श्रेष्ठ प्रिया पत्थरभित्र पनि छ । पत्थरको गुण हो, कठोरता । तर यो पंक्तिकारले यहाँ चर्चा गरिरहेको कथा हो, कोमल पत्थरको । अर्थात साहित्यकार श्रेष्ठ प्रिया पत्थरको । हो, उनी पनि आफ्ना हरेक कृतिलाई उत्तिकै माया गर्छिन । 
भनिन्छ, हरेक महिला आमा बन्न चाहन्छिन । यसमा उनी अपवाद छिन् । उनले विवाह गरिनन् । उनका सन्तान भनेकै उनले लेखेका कृतिहरु हुन् । उनलाई त्यसको माया छ । 
विज्ञानले जे संभव छैन भन्छ, साहित्यकार त्यही असंभव मानिएका कुरालाई कल्पनामा उतारेर साहित्यको पुष्पकविमानमा उडान भर्छ । 
जागीर मात्र खाएको भए उनले पैसा कमाउथिन । उनले त साहित्यलाई जीवनको हिस्सा बनाईन । र कमाईन, नाम । जुन नाम पैसा खर्चेर कमाउन सकिदैन । उनले स्थानीय तथा राष्ट्रियस्तरमा दर्जनौ सम्मान तथा पुरस्कार पाएकी छन् । 
उनी हुर्किएको बटनपुरबाट केही पर छ, टीकापुर । र त्यही टीकापुरमा छ, देशकै ठूलो पार्क । जहाँ झण्डै ८० प्रजातीका गुलाव फुल्छन । ती फुल्छन । ओईलाउछन । अनि झर्छन । त्यही छेउको बटनपुरमा हुर्किएकी श्रेष्ठ प्रिया पत्थर, जसले पश्चिमी गुलावको उपाधी पाईन । त्यो पश्चिमी गुलाव जीवन पर्यन्त पनि झर्ने छैन । ओईलाउने छैन । साहित्यका पारखीहरुका माझ सधै फुलिरहनेछ । सुवास छरिरहनेछ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

संघर्षकी पर्याय : उमादेवी बादी

दीर्घराज उपाध्याय । ईतिहास सुत्नेहरुको लेखिदैन । न त थाक्नेहरुको लेखिन्छ । उ कुन कुलमा जन्मियो ? कुन जातमा जन्मियो ? त्यसले कुनै अर्थ राख्दैन । हो,

SITENAME

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई

धनगढी, २ मंसिर । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित विभिन्न सातजना साहित्यिक स्रष्टालाई पुरस्कृत

SITENAME

एक लाख राशीको मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई

काठमाण्डौं, १ मंसिर । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले एक लाख धनराशीको ‘मनिराज वाङ्मय पुरस्कार २०७५’ राष्ट्रकवि माधव