Close This

बालबालिकादेखि बृद्धबृद्धासम्म डल्फिन संरक्षणमा

मंगलबार श्रावण २९, २०७५/ Tuesday 08-14-18
Paschim Today
‘ब्लो होल’ बाट पानी फाल्दै पथरैया नदीमा देखिएको डल्फिन ।  तस्बिर : अविनाश चौधरी 

अविनाश चौधरी/धनगढी २९ साउन । 
टीकापुर नगरपालिका–७ बैदी स्थित ढुङ्गाना टोलका गोकुल भण्डारी भर्खर १३ वर्षको भए । उमेरमा कलिलो उनको काम भने प्रशंसा योग्यको छ । गोकुल विश्वमै दुर्लभ जलीय स्तनधारी डल्फिनको संरक्षणमा सक्रिय छन् । 
    ‘चार/पाँच वर्ष अगाडिदेखि नै डल्फिन जोगाउने काममा लागेको छु’, उनले भने । सुनहाफाँटामा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत गोकुलले विद्यालयमा आफ्नो सहपाठीहरुलाई डल्फिनको बारेमा बुझाउने गर्छन् । यतिमात्रै हैन, डल्फिन विश्वमै लोपोन्मुख वन्यजन्तु रहेको सन्देश पनि छर्ने गर्छन् । डल्फिन के हो, र यसको महत्व कति छ, भन्ने प्रश्नको जवाफ मुखमै झुण्डिएको छ, गोकुलको । 
    कक्षा ७ मा अध्ययनरत सोही टोलका १२ वर्षीय प्रकाश ढुङगानाले पनि डल्फिनको महत्वबारे आफ्ना सहपाठीहरुलाई बुझाउँदै आएका छन् । डल्फिनको संरक्षण गर्नु पर्ने सन्देश उनले पनि आफ्नो सहपाठीलाई सुनाउने गरेका छन् । 
       गोकुल र प्रकाश प्रतिनिधिपात्र मात्रै हुन । तर, कैलालीको टीकापुर नगरपालिका स्थित ढुङ्गाना टोलका हरेक बालबालिका डल्फिन संरक्षणमा जुटेका छन् । जवानमात्र नभइ अपाङ्गता भएका व्यक्ति, बृद्धबृद्धा समेत उक्त कार्यमा सक्रिय छन् । जिल्लाको कतिपयलाई डल्फिनको बारेमा थाहा समेत हुन सकेको छैन । तर, ढुङ्गाना टोलका बालबालिका डल्फिन अवलोकन गर्ने आगन्तुकहरुका पथप्रर्दशक समेत बन्ने गरेका छन् । उनीहरुले सहयोगीको रुपमा डल्फिन देखाउने, डुङ्गा चलाएर पाहुनाहरुलाई नदीमा सयर गराउने काम गर्दै आएका छन् । 
    ‘डल्फिन कैलालीमा पाइने दुर्लभ जलप्राणी रहेकाले संरक्षणमा लागेका छौं’, प्रकाशले भने–‘हामीले विदेशी पर्यटकलाई समेत घुमाउने गर्दछौं ।’
    यहाँको नदीहरुमा डल्फिन देखिने गरेको थाहा भएपछि दुई दशक अगाडिबाट स्थानीय समुदायले संरक्षण गर्दै आएका हुन । ८० वर्षीय पाका संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे) को नेतृत्वमा यो कार्य भइरहेको छ । 
    संरक्षण पछिबाटमात्रै थालिए पनि डल्फिन धेरै पहिलेदेखि नै बैदी स्थित मोहना, पथरैया, काढा नदीहरुमा देखिएको ५९ वर्षीय शिवराज ढुङ्गाना बताउँछन् । ‘२०२३ सालमा हामी यहाँ बस्न आउँदाखेरी नै डल्फिन देखिन्थे’, उनले भने–‘त्यो बेला हामी सोंस भनेर चिन्ने गरेका थियौं ।’
    बर्खा यामको चार महिनामा पथरैया नदी–गैरी खोलाको दोभान, पथरैया–काढा नदी दोभान, पथरैया–मोहना नदीको दोभान, मोहना नदी–राप्ती खोलाको दोभानमा नजिकैबाट डल्फिन अवलोकन गर्न सकिन्छ । 
    यहाँ पाइने दुर्लभ डल्फिनको संरक्षणका लागि स्थानीय समुदायले चोरी शिकार नियन्त्रण गरेका छन् । उनीहरुले मरेको जनावर, प्लाष्टिक फाल्न र नदीमा विषादी दिदैंनन् । यसैगरी, समुदाय र विद्यालयस्तरसम्म सचेतनामूलक कार्यक्रम गर्ने गरेका छन् । उनीहरुले डल्फिन अवलोकनका लागि आएका पाहुनाहरुलाई आफ्नो घरमा पैसा समेत नलिएर खाना खुवाउनुका साथै घुमाउने गरेका छन् । 
    स्थानीय समुदाय लगनशील भएर संरक्षणमा लागे पनि सङ्घीय, प्रदेश र स्थानीय सरकारको संरक्षणप्रति चासो पुग्न सकेको छैन । सरकारले डल्फिन पाइने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर संरक्षणको कार्यलाई अगाडि बढाउनु पर्ने डल्फिन संरक्षण उप–केन्द्रका अध्यक्ष भोजराज ढुङ्गानाको जोड छ । 
‘कैलारी गाँपाको हसुलियादेखि टीकापुरको श्रीलङ्कासम्म र माथि कुम्भीयासम्मको क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक छ’, उनले भने । 
    डल्फिन संरक्षण क्षेत्र बनाइएमा संरक्षणसंगै पर्यापर्यटनको विकास गर्न सहज हुने स्थानीयले बताएका छन् । उनीहरुले सो क्षेत्रमा रहेको ओजुवा ताल समेतको व्यवस्थापन गरेर चार महिना डल्फिन अवलोकन र अन्य समयमा ताल र त्यहाँ पाइने चरा अवलोकनका लागि पर्यटक भित्र्याउन सकिने बताएका छन् । 
    हुलाकी सडकदेखि २ दशमलव ३ किलोमिटर दक्षिणतर्फ पर्ने डल्फिन अवलोकन क्षेत्रसम्म पुग्नका लागि बाटोघाटोको समस्या छ । बर्खामा बाटो पूर्ण रुपमा हिलाम्य हुने गर्दछ । सरकारले बाटोको व्यवस्थापन सहित स्थानीय समुदायमा जिविकोपार्जनको कार्यक्रम ल्याएर संरक्षणप्रति हौसला थप्ने कार्य गर्नु पर्ने स्थानीय संरक्षणकर्मी नरेन्द्रप्रसाद रेग्मी बताउँछन् ।  
    ‘ढुङ्गाना टोलसम्म कालोपत्रे र डल्फिन देखिने १४ वटै घाटमा मचान बनाइएमा डल्फिन अवलोकनमा सहज हुनेछ’, उनले भने । 
    डल्फिनबारे सोध, खोज–अनुसन्धान गर्नका लागि ढुङ्गाना टोल खुला विश्वविद्यालय बनेको छ । यहाँ आएर नौ जना विदेशी पर्यटकले आफ्नो विद्यावारिधीको सोधपत्र पूरा गरेका छन् । रानी जमरा कुलरिया सिचाइँ आयोजनाको पानी पथरैया नदीमा ल्याएर बर्खा याम बाहेक पनि डल्फिन बस्न सक्ने अभ्यास गर्न आवश्यक रहेको संरक्षणकर्मीहरुको भनाइ छ । 
    ‘कुलरिया र जमराको पानी पथरैयामा खसाइएमा यहाँ बाह्रै महिना डल्फिन बस्न सक्छ’, संरक्षणकर्मी विजयराज श्रेष्ठले भने–‘तर, समुदायको भनाइलाई कसैले सुनुवाई गर्दैन । यहि कुरा विदेशीले यहाँ आएर भनेको भए छिट्टै पूरा हुन्थ्यौ होला ।’
    पर्यापर्यटनको ठूलो सम्भावना बोकेको डल्फिन संरक्षण र प्रबद्र्धनतर्फ प्रदेश र स्थानीय सरकारको ध्यान अझै पुगेको छैन । आश्वसन पाइए पनि सहयोग अहिलेसम्म नपाएको स्थानीय संरक्षणकर्मीको गुनासो छ । 
    डल्फिन संरक्षणको सवालमा प्रदेश सरकारले गुरुयोजना बनाइ त्यसमा टेकेर व्यवस्थापन योजना बनाएर काम गर्न आवश्यक रहेको संरक्षणकर्मी हिरुलाल डङ्गौराले बताए । यसैगरी, वन्यजन्तु अनुसन्धानकर्ता धीरेन्द्र चन्दले अहिलेसम्म पुरानै ढर्रामा डल्फिन गणना गरेर गणनाको नाटकमात्रै भइरहेको भन्दै अगाडि थपे–‘अब नयाँ प्रविधिको प्रयोग सहित डल्फिनको बानी, ब्यहोरा पनि बुझ्न आवश्यक छ ।’
डल्फिन पाईने क्षेत्रमा अहिलेसम्म एउटा डल्फिन भ्यू टावरमात्रै निर्माण भएको छ । स्थानीय धनीराम रेग्मीले आफ्नो दाजुभाउजुको सम्झनामा एक कट्ठा जग्गा उपलब्ध गराएपछि पर्यटन बोर्ड कोहलपुर, ताल र भजनी सामुदायिक वन समन्वय समितिको सहयोगमा भ्यू टावर निर्माण गरिएको हो । संरक्षणकर्मीले पथरैया र काँढा नदी जोड्ने ठाउँमा झोलुङ्गे पुल बनाउन माग गरेका छन् । यसले डल्फिन अवलोकनमा सहयोग पुग्ने उनीहरुको बुझाइ छ । यसैगरी, संरक्षणको क्षेत्रमा काम गर्ने आइयूसीएन, डब्लूडब्लूएफ, जेएसएल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको पनि ध्यान जानु पर्नेमा जोड दिएका छन् ।