Close This

पाटन शहरको निर्माणलाई गति देउ

मंगलबार श्रावण २९, २०७५/ Tuesday 08-14-18
Paschim Today

सरकारले मध्य पहाडी लोकमार्गको अन्तिम अर्थात दशौं शहरको रुपमा विकास गर्ने घोषणाको पाटन शहरको विकास निर्माणका काम तदारुकताका साथ अगाडि बढ्न सकेको छैन । भइरहेका काम अव्यवस्थित र कछुवा गतिमा भइरहेको छ । पाटनले अझै पनि काँचुली फेर्न सकेको छैन । पौराणिक धार्मिक र ऐतिहासिक महत्व बोकेको पाटनलाई आधुनिक शहरका रुपमा विकास गर्ने योजना अनुरुप सरकारले ५ वर्ष अघि मध्यपहाडी लोकमार्गको दशौं शहरका रुपमा घोषणा गरेको थियो । सरकारले दशौं सहर घोषणा गरेपछि हरेक वर्ष विभिन्न निकायबाट ठूला ठूला विकास योजना सुरु गरिएको पाटनमा कुनैपनि योजना सम्पन्न हुन सकेको छैन । 
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति गर्न थालेको तीन वर्ष भएको छ । तर, आधा पनि प्रगति भएको छैन । प्राविधिक शिक्षा तथा तालिम परिषद सिटीइभिटीले पहाडी जिल्लालाई लक्षित गरी निर्माण सुरु गरेको प्राविधिक कलेजको भौतिक संरचना निर्माण पनि अलपत्र परेको छ । भवन निर्माण तथा शहरी डिभिजन कार्यालयले पाटनलाई आधुनिक शहर बनाउन सुरु गरेका दर्जन बढी योजनामा पनि कछुवा गतिमा बजेट सक्ने उद्देश्यले मात्र काम भइरहेको सर्वसाधारणले गुनासो गरेका छन । गुरु योजना नबनाई भइरहेका विकास योजनाले पाटन शहर झन अव्यवस्थित र कुरुप बन्न थालेको स्थानीय मोहन बिष्टको बुझाइ छ । ‘वर्षौदेखि संचालनमा रहेका विकास योजना अलपत्र परेका छन’, उनले भने–‘४ वर्षदेखि निर्माणाधीन रहेको प्राविधिक शिक्षालयको भौतिक संरचना अहिलेसम्म निर्माण हुन सकेको छैन ।’
प्रदेशका पहाडी जिल्लाको सबैैभन्दा पुरानो विमानस्थल कालोपत्रे गर्ने काम पनि समय सीमा नाघी सक्दा आधा समेत हुन सकेको छैन । नगरपालिकाको बजार क्षेत्रमा संचालनमा रहेका कुनैपनि योजना समयमा निर्माण हुन सकेका छैनन् । नगर क्षेत्रमा निर्माणाधिन रहेका सडक योजना नाम मात्रका सडक योजना भएका छन । पाटन बजारको मल्लो भेगदेखि पाटन पञ्चेश्वर जोड्ने रिङ रोड निर्माण सुरु भएको वर्षौ बितिसक्दा पनि अहिले सम्म ट्रयाक खोल्ने काम समेत हुन सकेको छैन । जिल्लाका आधा भन्दा बढी कार्यालयहरु रहेको पाटन नगरपालिका बनेपछि सुरु भएका विकास योजना पनि अलपत्र जस्तै छन । जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितिसक्दा पनि नगरमा व्यवस्थित रुपमा विकास योजना सुरु हुन सकेका छैनन । भवन निर्माण संहिता लागू हुन सकेको छैन भने खानेपानी, बिजुली र ढल निकासको उचित व्यवस्थापन बिना नै बजार विस्तार हुन थालेको छ । पाटनमा पाँच वर्षको अवधिमा एउटा गेट र खुला मञ्च निर्माण बाहेक अरु कुनै पनि योजनामा प्रगति देखिएको छैन । 
पाटन शहरको निर्माणले गति नलिदा स्थानीयहरु निरास छन् । यही गतीमा काम भए पाटन ठूलो शहर निर्माण हुने कुरो कागजमा नै सिमित हुने छ । त्यसैले किन यहाँको विकास निर्माण दु्रत गतिमा हुन सकिरहेको छैन । सरोकारवालाहरुको ध्यायन जान जरुरी छ ।