Close This

राजधानीबारे सत्ता पक्षकै सांसदबीच मतभेद्

बुधबार श्रावण ३०, २०७५/ Wednesday 08-15-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३० साउन । 
प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाकरणबारे सत्तापक्षकै सांसद्बीच मतभेद् देखिन थालेको छ । 
    पहाडबाट निर्वाचित सांसदले पहाडमा र तराईबाट निर्वाचितले तराईमा राजधानी हुनु पर्ने धारणा राख्न थालेपछि यो प्रदेशको राजधानी र नामको विषय निकै पेचिलो बनेको हो । सत्तापक्षकै सांसदका मत बाझिन थालेपछि प्रदेशको राजधानी र नामको विषयमा टुङ्गो लगाउन निकै कठिन भएको छ । 
    प्रदेश सरकारमा दुई तिहाई बहुमत रहेको नेकपा पार्टी र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले समेत यस विषयमा अझै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । राजधानी र नाममा अझै पनि सहमतिको वातावरण नबनेपछि सुझाव सङ्कलनका लागि गठित विशेष समितिको म्याद दोस्रो पटक थप गरिएको छ । 
    साउन १४ गते सांसद तारा लामाको संयोजकत्वमा बनेको विशेष समितिलाई २१ गते सुझाव सहितको प्रतिवेदन बुझाउको लागि एक हप्ताको म्याद दिइएको थियो । उक्त समितिले अझैसम्म प्रतिवेदन बुझाउन सकेको छैन । 
    राजधानी र नामको विषयमा सङ्कलन गरिएको सुझाव सहितको प्रतिवेदन अझै पनि बुझाउन सक्ने स्थिति नरहेको समितिका सदस्य समेत रहेकी सांसद् चुनकुमारी चौधरीले बताइन् । समितिले थप गरिएको समय सीमामा प्रतिवेदन बुझाउने वातावरण नबनेपछि प्रदेश सभाको बैठक स्थगित गरेर सभामुख अर्जुनबहादुर थापाले भदौ ६ गतेसम्मका लागि समितिको म्याद पुनः थप गरेका छन् । 
    राजधानी र नामको विषयमा यता टुङ्गो लाग्न नसकेपछि प्रदेशका नेता, सांसद केन्द्रका शीर्ष नेता भेटघाट गर्न काठमाण्डौं पुगेका छन् । विशेष समितिका संयोजक तारा लामा तामाङ पनि शीर्ष नेता भेटघाटमा ब्यस्त भएका छन् । 
    यसैबीच, थारु अगुवाहरुले राजधानीको लागि भूगोललाई आधार बनाउन सुझाव दिएका छन् । इतिहासकार महेश चौधरीले प्रदेश नम्बर ७ को राजधानी दीर्घकालिन सोंचका आधारमा तोकिनु पर्नेमा जोड दिए । ‘सबै जिल्लाको पायक पर्ने र समानुपातिक विकासको दृष्टिकोणले राजधानी बनाउनु पर्दछ’, उनले भने–‘बहु पहिचानको आधारमा प्रदेश बनाइएकाले राजधानी डोटीको दिपायल उत्तम विकल्प हुन्छ ।’ राजधानीले हिमाल, पहाड र तराईलाई जोड्नु पर्ने उनले उल्लेख गरे ।  
    यसैगरी, राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गरिरहनु भएका सांसद मालामती रानाले राजधानी सबैले पायक पर्ने ठाउँमा बनाउनु पर्नेमा जोड दिइन् । ‘यदि, त्यसो भएन भने धनगढीमै राजधानी हुनु पर्दछ’, उनले भनिन्–‘किनभने, यहाँ राजधानीको लागि संरचना निर्माण भइसकेको छ ।’