Close This

सुखड–भजनी सडकको दुरवस्था

बुधबार श्रावण ३०, २०७५/ Wednesday 08-15-18
Paschim Today
भत्किएको सुखड–भजनी सडक । 

पश्चिम टुडे, धनगढी ३० साउन । 
कैलालीको पुरानो सदरमुकाम भजनी बजारसंग जोडिएको सुखड–भजनी सडकको अवस्था कहाली लाग्दो भएको छ । 
    धेरै वर्षसम्म मर्मत नगरिएपछि पुरानो सदरमुकामसम्म पुग्ने सडक कहाली लाग्दो अवस्थामा पुगेको हो । उक्त सडक जीर्ण बन्दै गएको छ । सडकमा गरिएको कालोपत्रे फुटेर साना, ठूला खाल्डा बनेका छन् ।  
पूर्व–पश्चिम राजमार्गमा रहेको सुखड बजारदेखि भजनीसम्मको दूरी २४ किलोमिटर रहेको छ । घोडाघोडी नगरपालिकाले आफ्नो सीमा क्षेत्रमा पर्नेे १२ किलोमिटरसम्म ग्राभेल गरेको छ । ग्राभेल गरिएको कारण घोडाघोडी नगरपालिकाभित्र त्यति समस्या नरहे पनि भजनी नगरपालिकामा पर्ने १२ किलोमिटरमा सडकको अवस्था निकै दयनीय बनेको छ । सडकको दुरवस्थाका कारण आवत जावतमा धेरै नै कठिनाइ रहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् । 
भजनी नगरपालिकाको बिजुलियादेखि भजनी बजारसम्म सडकमा ठूलठूला खाल्डाखुल्डी भएका छन् । बिजुलिया, खैलाड, धनौरा, कुँडी गाउँमा बर्खा याममा सडक हिलाम्य बनेको छ । सडक जीर्ण भएपछि हिडडुल गर्न निकै नै समस्या भइरहेको भजनी नगरपालिका वडा नम्बर ४ बिजुली गाउँका जालुराम चौधरीले बताए । 
‘हिलो र खाल्डाखुल्डीका कारण यो सडकमा हिड्नै डर लाग्छ’, उनले भने–‘दिउँसो त जसोतसो हिडडुल गरे पनि राति हिड्न धेरै खतरा छ ।’ 
भजनी बजार कैलालीको पुरानो सदरमुकाम हो । हुलाकी सडकसम्म गएर जोडिने उक्त सडक ग्रामीण क्षेत्रको मेरुदण्डकै रुपमा रहेको छ । चल्तीको सडक दयनीय अवस्थामा पुगेपछि ठूलो दुर्घटनाको जोखिम बढेको चौधरीले बताए । 
‘खाल्डाखुल्डीमा परिणत भएको यो सडकमा सानोतिनो दुर्घटना त भइरहन्छ’, उनी अगाडि थप्छन्–‘तर, बस, ट्रक समेत हिड्ने गरेकाले ठूलो दुर्घटनाको पनि जोखिम बढेको छ ।’
भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीको घर पनि उक्त सडकसंगै जोडिएको छ । धनौरामा रहेको उहाँको घर आसपासमै पनि सडकमा खाल्डाखुल्डी छन् । स्थानीय सरकार आएपछि सुखड–भजनी सडकको स्तरोन्नति हुने अपेक्षा गरिए पनि अहिलेसम्म त्यस्तो हुन नसकेको वडा नम्बर ५ कुटीका ठग्गुराम राजीले गुनासो गरे । 
‘भजनी बजारभित्रैको सडक त राम्रो बनाउन सकेका छैनन्’, उनले भने–‘ग्रामीण सडकलाई जनप्रतिनिधिले राम्रो बनाउँलान भन्ने हाम्रो अपेक्षा अपेक्षामै सीमित छ । मेयरकै घर अगाडिको सडक कहाली लाग्दो अवस्थामा पुगेको छ ।’
विकासका लागि आएको जनप्रतिनिधिले जनताको चाहना अनुसार विकासको काम अगाडि नबढाएको भजनी बजारका छोटेलाल चौधरीले गुनासो गरे । उनले भने–‘जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेका छौं । तर, अहिलेसम्म विकास देखिएको छैन ।’
सुखड–भजनी सडक बिग्रेपछि यात्रुलाई त समस्या हुने गरेका छ नै । तर, विद्यालय जाने विद्यार्थी र उपचारका लागि सुखड, धनगढीसम्म लैजानु पर्ने विरामीलाई झन बढी समस्या हुने गरेको स्थानीयवासीले बताएका छन् । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेका विरामीहरुलाई उपचारका लागि अन्यत्र लग्ने गरिएको छ । 
बिग्रेको सडक हिलाम्य भएपछि विद्यालय जान र घर फर्कन समस्या हुने गरेको श्री राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी नरेश चौधरीले बताए । 
सुखड–भजनी सडक घोडाघोडी, भजनी र टीकापुर नगरपालिकाको दर्जनौं गाउँको भविष्यसंग जोडिएको छ । कैलालीको पूर्वी दक्षिणी क्षेत्रमा जानको लागि लम्की–टीकापुर–सत्ती सडकपछिको दोस्रो विकल्पको रुपमा सुखड–भजनी सडक नै हो । तर, त्यहि सडक अत्यन्त नाजुक अवस्थामा पुगेको छ । 
    जीर्ण बनेको सुखड–भजनी सडक प्रदेश सरकारको योजनामा परेकाले स्थानीय सरकारले जीर्णोद्वार नगरेको भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले दावी गरिन् । ‘प्रदेश सरकारले डीपीआर समेत तयार पार्न लागेकाले हामीले स्तरोन्नतिको काम नथालेका हौं’, उनले अगाडि भनिन्–‘तर, प्रदेश सरकारकै मुख ताकेरमात्रै बस्ने भन्ने छैन । यदि, आवत जावत नै बन्द हुने अवस्था आएमा स्थानीय सरकारले मर्मत गर्नेछ ।’ 
    बर्खा अगाडि ठूला खाल्डाखुल्डी पुर्ने काम भए पनि अहिले फेरी त्यस्तै अवस्था भएको उनले सुनाइन् । बिग्रेको सडकलाई घोडाघोडी नगरपालिकाले भने आफ्नो सीमा क्षेत्रमा ग्राभेल गरेर मर्मत गरेको छ । पुरानो सदरमुकामसम्म जोड्ने उक्त सडक बनाउनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ६५ लाख रुपिया बजेट विनियोजन गरेको जनाइएको छ