Close This

पुल नहुँदा आर्थिक विकासमा बाधा

बिहीबार श्रावण ३१, २०७५/ Thursday 08-16-18
Paschim Today

विनोदसिंह विष्ट/बैतडी ३१ साउन । 
भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । 
सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताए । उनले भने–‘सीमा क्षेत्रका धेरै पर्यटक बैतडी आउन चाहे पनि सीमाक्षेत्रमा पक्की पुल नहुँदा उनीहरूलाई भित्र्याउन सकिएको छैन ।’ 
झुलाघाट भारतसँग सीमा जोडिएको नाम चलेको पुरानो नाका हो । प्रदेश ७ का पहाडी जिल्लाबाट भारत जाने प्रमुख नाकाको रुपमा समेत चिनिने गरिएको छ । झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको स्थानीय कैलाश जोशीको भनाइ रहेको छ । 
झुलाघाटमा पक्की पुल बनाउने बिषयमा अहिलेसम्मका सरकारले आश्वासन दिएको भए पनि पूरा भने कसैले गर्न सकेका छैनन् । झुलाघाटमा करीब डेढ सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त पुल जीर्ण अवस्थामा रहेको छ । भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबाट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको भएपनि पक्की पुल नभएकै कारण करोडौंको व्यापार घाटा व्यहोरिरहेका यहाँका व्यवसायीको भनाइ छ । 
झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, महलगायतका वस्तुहरू निर्यात गर्न कठिनाइ भएको लघु उद्यमी समूह सङ्घ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । उनले भने–‘झुलाघाटमा पक्की पुल नभएका कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको छ ।’ 
यो पुल निर्माण भएपछि नेपालसँग मित्रता अझ प्रगाढ हुन्छ भारतीय सञ्चारकर्मी राजेश पञ्गरीयाको भनाइ रहेको छ । यो झोलुंगे पुल मात्र नभइ दुई देशको सम्बन्ध जोड्ने पुल भएको बताए । उनले भने–‘पक्की पुल त टाढाको विषय भयो पुल जीर्णोद्वारका विषयमा समेत चासो दिइएको छैन ।’
 झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको हो । झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन् । सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ । विसं ०५६ मा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि रु ६ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको थियो ।
पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारत जाने गर्छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहँुदा बिरामीलाई उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता रहेको छ ।
पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नबन्दा झुलाघाट पक्की पुल निर्माणको विषय पनि अन्योलमा परेको बैतडी प्रदेश ‘ख’ का सांसद लिलाधर भट्टले बताए । झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ उृनले भने–‘पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछि झुलाघाटमा पुल बन्न असम्भव छ ।’ पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठूला संरचना निर्माण नगरिने बताइएको छ ।