Close This

दुई नगरलाई जोडेर राजधानी बनाउन सुझाव

बिहीबार श्रावण ३१, २०७५/ Thursday 08-16-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३१ साउन । 
प्रदेश नम्बर ७ को स्थायी राजधानी दुई नगरलाई जोडेर बनाउन सुझाव संकलनका लागि गठित विशेष समितिलाई बढी सुझाव आएको छ । 
धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोडेर महानगर बनाउन र धनगढी–गोदावरी स्थायी राजधानी बनाउन बढीभन्दा बढी सुझाव आएको समितिका एक सदस्यले बताए । 
नाम नखुलाउने शर्तमा ती सदस्यले अब छिट्टै राजधानी र नामाकरण विषय टुंगो लाग्ने बताए । प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको बताउँदै उनले जनसंख्या, भूगोल, सुरक्षा अवस्था, भौतिक संरचना लगायत पक्षलाई मध्यनजर गरी तोक्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । 
उनले भने, ‘सुझाव संकलनको कार्य जारी रहेको छ । अब छिट्टै नै टुंग्याउँछौ ।’ हालसम्म धनगढी र गोदावरी जोडेर राजधानी बनाउने सुझाव बढी नै आएको छ । उसो त पहाडी क्षेत्रको समानुपातिक विकासको लागि पहाडमा राजधानी बनाउनुपर्ने सुझाव सहितको माग पनि जोडदार रुपले आएको ति सदस्यले बताए । 
धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई एउटैमा गाँभेर महानगरपालिकाको स्वरुप दिन सकिने हुँदा प्रदेश स्थायी राजधानीको माग आएको सांसदहरूको भनाई छ ।
एकातिर पहाडी जिल्ला डोटीको दिपायलमा पनि राजधानी बनाउनुपर्ने मागसहित विभिन्न संघर्षको कार्यक्रम हुँदै आएको छ । जुन मागमा कैलालीका थारु अगुवाले साथ दिएका छन् । विकासको दृष्टिकोणले पछाडी परेको पहाडी जिल्लाको समानुपातिक विकास र तीव्र बसाइँसराइँ नियन्त्रणको लागि पनि पहाडी जिल्लामा राजधानी बनाउनुपर्ने उनीहरूको धारणा छ ।
नामाकरणको विषय पनि सँगसँगै टुंग्याउने तयारीमा विशेष समिति लागेको छ । हालसम्म सेतीमहाकाली, सेतीकाली, खप्तड, खप्तड–कञ्चन, खप्तड–घोडाघोडी लगायत नाम राख्न सुझाव आएको बताइएको छ । 
प्रदेश सभाबाट साउन १४ गते गठित समितिको हालसम्म २ पटक म्याद थपिएको छ । समितिले प्रतिवेदन बुझाउन सकेको छैन ।