Close This

‘चुरिया गुरिया’ एल्बमको विमोचन

बिहीबार श्रावण ३१, २०७५/ Thursday 08-16-18
Paschim Today

धनगढी, ३० साउन । थारु भाषाको गिती एल्बम ‘चुरिया गुरिया’ को एक कार्यक्रमकाबीच बिहीवार धनगढीमा विमोचन गरिएको छ । 
    सांसद् नारदमुनि रानाले उक्त गिती एल्बमको विमोचन गरेका हुन । सो अवसरमा थारु संस्कृति संरक्षणको लागि युवा पुस्ता जुर्मुराएको भन्दै उनले खुशी व्यक्त गरे । सांसद् रानाले कुनै पनि संस्कृति सम्बन्धित समुदायको पहिचानसंग जोडिएको हुनाले त्यसको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको बताए । 
    कार्यक्रममा थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले समाजलाई सृजनशील बनाउनमा कलाकारहरुको भूमिका महत्वपूर्ण रहने गरेको जनाए । यसैगरी, थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव थारुले गीत सङ्गीतले पूर्व–पश्चिमका थारु समुदायलाई जोड्नका लागि पुलको काम गरेको उल्लेख गरे । 
    हमार म्युजिक बगिया प्रालिले उक्त गिती एल्बमको निर्माण गरेको हो । एल्बममा ८ वटा गीत रहेको छ । उक्त एल्बममा समावेश भएका गीतहरुमा गायिका समिक्षा चौधरी, नितु चौधरी, गायक रोशन रत्गैया, श्रीनिवास चौधरी, गणेश चौधरी लगायतले स्वर दिएका छन् । शब्द सुवेश कठरिया, खुशीराम रत्गैया, राजन डिसीको रहेको छ । सङ्गीत गणेश चौधरीको रहेको छ । 
    थारु भाषाको गीत सङ्गीतले पहिलेभन्दा तुलनात्मक रुपमा बढी फड्को मारेको अवस्थालाई मध्यनजगर गरेर चुरिया गुरिया एल्बम बनाएको एल्बमका संयोजक फेरु (फिरोज) चौधरीले जानकारी दिए । कार्यक्रममा कलाकार संगत चौधरी, रचनाकार सुवेश कठरिया, सुदूरपश्चिम कला प्रतिष्ठानका सचिव गुणाकर पनेरु लगायतकाले मन्तव्य राखेका थिए । 
    अहिले थारु भाषामा गीत सङ्गीत बन्नेक्रम निकै बढेको छ । यहाँ विभिन्न म्युजिक प्रालिहरु दर्ता गरेर गिती एल्बम, म्युजिक भिडियो बनाउने कार्य भइरहेको छ । त्यसैमध्येको एक हमार म्युजिक बगिया पनि हो । कैलालीको मसुरियामा २०७३ मा स्थापना भएको हमार म्युजिक बगिया प्रालिले भाषा, संस्कृति, कला साहित्यको उजागर एवम् संरक्षण गर्ने कार्य गर्दै आइरहेको अध्यक्ष एवम् मोडल वीर चौधरीले जानकारी दिए । 
    कार्यक्रममा कलाकारहरु समिक्षा चौधरी, श्रीनिवास चौधरी, गणेश चौधरी, सोनु कुश्मी, नितु चौधरी लगायतले गीत समेत प्रस्तुत गरेका थिए । यसैगरी, सोही कार्यक्रममा कलाकारहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा हमार म्युजिक बगिया प्रालिका सचिव दिनेश दहितले हमार म्युजिक बगियाले गर्दै आइरहेको कार्यको बारेमा जानकारी गराएका थिए ।