Close This

उपमेयरको वन्यजन्तु संरक्षण सम्बन्धी गीत

मंगलबार भदौ ५, २०७५/ Tuesday 08-21-18
Paschim Today

धनगढी, भदौ ५ गते । स्थानीय सरकारमा पुगेका कतिपय जनप्रतिनिधि बहुप्रतिभाशाली छन् । त्यसैमध्येका एक हुन, कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया । 
समुदायको नेतृत्व गर्न खप्पिस उनले गायनतर्फ पनि पाइला अगाडि बढाएका छन् । नवलपुरिया थारु भाषाको दुई वटा गीतपछि मर्दनियाले नेपाली भाषामा वन तथा वन्यजन्तु संरक्षण सम्बन्धी गीत ल्याएका छन् । उनको ‘आँखै भरी हरियाली, डाली डाली चरा’ बोलको गीतले संरक्षणको सन्देश दिएको छ । मर्दनिया गतविगतबाटै समुदायको नेतृत्व गर्दै संरक्षणमा क्रियाशिल छन् ।

२०७४ को चुनावबाट स्थानीय सरकारमा पुगेका उनी यसअघि अमलटारी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष भएर संरक्षण सम्बन्धी काम गरेका थिए । उनले समितिको नेतृत्व अरुलाई सुम्पे पनि संरक्षणमा भने क्रियाशिल छन् । 
‘संरक्षण र पर्या पर्यटनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ मैले संरक्षण सम्बन्धी गीत निकालेको हुँ’, उनले भने–‘यो गीतले संरक्षण र पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरेको छु ।’ अमलटारी मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन विश्वमै दुर्लभ एकसिंगे गैडा र पाटेबाघ अवलोकनका लागि गन्तव्य स्थान मानिन्छ । पछिल्लो समय कावासोती नगरपालिका स्थित बाघखोरमा अमलटारी होमस्टे सञ्चालन भएपछि सो क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक आगमनसंख्या बढेको बताइएको छ । 


संरक्षण सम्बन्धी बनेको गीतको म्युजिक भिडियोलाई एनडी स्टुडियो द स्टोरी मेकरले सार्वजनिक गरेको छ । राजकुमार भट्टको शब्दमा मर्दनियाले संगीत र स्वर दिएका छन् । संगीत संयोजन रुपमसिंह गुरुङको छ । म्युजिक भिडियोमा सिमोन महतो र अलिना मर्दनियाको मुख्य भूमिका रहेको छ । 
हिरा चौधरीले निर्देशन गरेको म्युजिक भिडियोमा अंगज महतोको कोरियोग्राफी रहेको छ । पतिराम थनेतले छायाङ्कन गरेको दृश्यलाई सुरेश चौधरीले सम्पादन गरेका छन् ।