Close This

पानी निकासको उपाय खोजी देउ 

मंगलबार भदौ १२, २०७५/ Tuesday 08-28-18
Paschim Today

खल्ला जमिनमा बर्खाभरी पानी जम्ने कारणल कैलालीको बाढीग्रस्त भजनी नगरपालिकामा यसवर्ष करिब तीन हजार बिघा जमिनमा धान खेती हुन सकेको छैन । खल्ला जमिनमा बर्खाभरी पानी जम्ने कारणले ठूलो क्षेत्र बाँझै रहन गएको हो । खेती नगरिएको ठूलठूला फाँटमा घाँसमात्रै देखिन्छ । भने, केहि ठाउँको जमिन तालमा परिणत भएको छ । वडा नम्बर ८ र ३ मामात्रै गरेर दुई हजार ६०० देखि तीन हजार बिघा जति जमिन बाँझै रहेको छ । सबैभन्दा बढी वडा नम्बर ८ मा जमिन बाँझो छ । पानीको निकास नै छैन । त्यसैले यहाँको ठूलो क्षेत्रमा बर्खे धान खेती हुँदैन । वडा नम्बर ८ को सोनाफाँटा, गोरचौरा, कृष्णनगर, काढाढिक, खैरा र वडा नम्बर ३ को बर्दवाफाँटा, ढुसी, थेकीपुर, पकडिया डाँडा, कुसुमघाट लगायतका गाउँवासीले धान खेती गर्न सकेका छैनन् । गत विगतको बाढीले निरन्तर धान सोत्तर पारेकाले यसवर्ष खेती नगरी किसानले जमिन बाँझै राखेका छन् ।
धान खेती गरियो भने मिहिनेत र लगानीमात्रै खेर जाने गरेकाले किसानहरुले बर्षे बाली लगाएका छैनन् । यहाँका किसनाहरुले खल्ला खेतमा बर्खे धान खेती गर्न नपाएको १५÷१६ वर्ष भइसक्यो । बाढी र पानी जम्ने समस्याका कारण किसानलाई गुजारा गर्न धेरै गाहे हुने गरेको छ । बर्खा सुरु भएदेखि नै खैरा गाउँको खेतमा पानी जमेको   छ ।
यसवर्ष अहिलेसम्म कैलालीमा ठूलो बाढी आएको छैन । बाढी नआएकाले उँचो खेतमा लगाइएको धान खेती अहिलेसम्म जोगिएको छ । कतिपय गाउँमा धान खेती गरिएको छैन । अघिल्लो वर्ष धान लगाउँदा २५ प्रतिशत पनि नजोगिएकाले यसवर्ष बढी जमिन बाँझै राखेको किसान बताउदै आएका छन् ।
खल्ला जमिनका कारण बर्खे धान खेती नपाउने स्थिति सृजना भएपछि कतिपयले खेती बिकल्प समेत खोज्न थालेका छन । एकचोटी खेतमा आइसकेको पानी महिनौ दिनसम्म जमेर रहने गरेकाले धान खेती गर्न असम्भव छ । पानी निकास नगरे सम्म धान खेती लगाउन सक्ने अबस्था छैन । नदीको सतह घट्दै गएको र निकास पनि नरहेकाले महिना दिनसम्म लगातार पानी जमेकोजम्यै हुन्छ । 
    
कैलालीको भजनी नगरपालिका सबैभन्दा बढी डुवान हुने क्षेत्र मध्येमा पर्दछ । त्यसैले बर्खे धान खेतीका लागि त्यति उपयुक्त हुन सकेको छैन । तर, यहि क्षेत्रमा हिउँदे बालीको खेती र उत्पादन भने राम्रो हुने गरेको छ । टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा पर्ने विभिन्न गाउँवासीले पनि बर्खे धानबाली पाउन मुस्किल हुन्छ । त्यसैले यहाँका किसानलाई मुक्ति दिनका लागि पानी निकासको उपाय खोजी दिनसपर्छ । यसमा प्रदेश तथा स्थानीय सरकारको ध्यानजानु जरुरी छ ।