Close This

रसिया पुगेर विश्वकप हेरेका सुदर्शन भन्छन्– ‘फुटबल खेलमात्रै हैन, व्यक्तित्व विकासको आधार पनि हो’

बिहीबार भदौ १४, २०७५/ Thursday 08-30-18
Paschim Today

पश्चिम टुडे, धनगढी १४ भाद्र । 
विश्वकप फुटबल प्रत्यक्ष हेर्ने धोको कसको नहोला र ? रहर धेरैको हुन्छ, मैदानमा पुगेर विश्वका प्रसिद्ध खेलाडीहरुको खेल हेर्ने । तर, चाहना राख्ने सबैको धोको पूरा हुँदैन । कैलालीका एक भाग्यशाली किशोरले भने १८ वर्षकै उमेरमा दुई पटक विश्वकप फुटबल प्रतियोगिता हेर्ने अवसर प्राप्त गरी सकेका छन् । 
    धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका सुर्दशन श्रेष्ठले किशोरावस्थामै दुई पटक विश्वकप फुटबल प्रतियोगिता हेर्ने अवसर पाएका हुन । केहि महिना अगाडि रसियामा सम्पन्न विश्वकप फुटबल प्रतियोगितालाई सारा नेपालीले टिभीमा हेरिरहँदा सुदर्शनले रसिया पुगी प्रत्यक्ष खेल हेरेर आनन्द लिए । उनले मस्को स्टेडियम्मा आयोजक रसिया र स्पेनबीचको खेल हेरेका हुन । 
    यसअघि, सन २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल प्रतियोगिता पनि सुदर्शनले १४ वर्षकै उमेरमा हेरेका थिए । ‘ब्राजिलमा नेदरल्याण्ड र चिली, उरुग्वे विरुद्ध इङ्गल्याण्ड तथा कोरिया र बेल्जियमबीचको खेल हेरेको थिएँ’, उनी भन्छन्–‘२०१८ मा एउटा खेलमात्रै हेर्ने अवसर जु¥यो ।’
    २०१४ मा विश्वकप फुटबल सञ्चालन हुँदा सुदर्शन कक्षा १० अध्ययन गरिरहेका थिए । विश्वकप हेर्न गएपछि उनले एसएसली परीक्षालाई भने गुमाउनु परेको थियो । अहिले कैलाली बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत उनी भन्छन्–‘एकातिर विश्वकप हेर्ने सुनौलो अवसर थियो, अर्कोतिर भविष्य । मैले अवसरलाई सदुपयोग गर्दा एसएसली परीक्षा एक वर्ष पछाडि धकेलिएको थियो ।’
    ‘जेनेरेशन अमेजिङ्ग’ कार्यक्रम मार्फत ग्रामीण क्षेत्रका युवा फुटबलरहरुलाई विश्वकप प्रतियोगिता अवलोकन गराउने योजना अनुरुप मर्सिकोरले उनलाई विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर जुराइ दिएको हो । लगातार दुई वटा विश्वकप फुटबल प्रतियोगिता हेर्न पाउँदा धेरै कुरा सिक्न पाएको अनुभव सुदर्शन सुनाउँछन् ।  
    ‘ब्राजिल र रसिया गएर विश्वकप फुटबल प्रतियोगिता हेर्न पाउँदा मैले धेरै कुरा सिक्न पाएँ’, उनले अगाडि थपे–‘त्यहाँ पुगेर खेलमात्रै हेरिएन । विश्वका विभिन्न देशहरुको सहभागिता रहेको फुटबल फेष्टिवलमा पनि सहभागि भएर फुटबल संस्कार, विभिन्न देशको संस्कृति नजिकबाट अवलोकन गर्न पाइयो ।’
    स्थानीय शिवशक्ति युवा वातावरण समूहमा आबद्ध भइ फुटबल खेल्दै आउनु भएका सुदर्शन दुई पटक विश्वकप फुटबल हेर्न भने यतिकै पाउनु भएको होइन । उनीमा रहेको फुटबल खेलप्रतिको बढ्दो लगाव, त्यसपछि विभिन्न छनोटमा सफल हुँदै ब्राजिल र रसियामा गएर विश्वकप फुटबलको आनन्द लिन पाएका हुन । 
    सुदर्शन स्थानीय फूलबारी रङ्गशालामा १३ वर्षको उमेरको हुँदादेखि फुटबल खेल्दै आएका छन् । रसिया पुगेर फुटबल हेर्ने अवसर फूलबारीकै मुना पङ्गालीले पनि पाएकी थिइन् । विश्वकै सर्वाधिक चासो रहने फुटबल प्रतियोगिता हेर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको सुदर्शन बताउँछन् । लगातार दुई पटक विश्वकप फुटबल प्रतियोगिता हेर्दा खेलप्रति थप उत्साह बढ्नुका साथै केहि गरेर देखाउने आत्मविश्वास पनि बढेको उनले उल्लेख गरे । 
‘फुटबल एउटा खेलमात्रै हैन’, सुदर्शनले अगाडि थपे–‘यसमा टेकेर आफूले समाजमा केहि गर्न सक्ने व्यक्तित्व विकासको आधार पनि हो ।’ विश्वकप फुबटल हेर्ने अवसर पाएकै कारण अहिले फूलबारीमा फुटबल खेलको छुट्टै पहिचान बनेको उनले जनाए । 
हिजोआज फूलबारीमा फुटबल महिला खेलाडीको सङ्ख्या पनि उल्लेख्य बढेको छ । फुटबल खेलप्रति बन्दै गएको सकारात्मक धारणाका कारण महिला खेलाडीको आकर्ष बढेको सुदर्शन सुनाउँछन् । ‘अहिले फूलबारीमा केटा फुटबल खेलाडी भन्दा किशोरी खेलाडी बढी छन्’, उनले भने । दुई पटक विश्वकप फुटबल प्रतियोगिता हेर्दा सिकेको कुरालाई समुदायमा फैलाउने कार्यका लागि आफूलाई अवसर र चुनौती दुवै रहेको सुदर्शनको बुझाइ छ । 
    फुटबल खेललाई आधार बनाएर समाजमा काम गर्नका लागि फूलबारीका युवा पुस्ताले ‘युथ एडभाइजरी कमिटी’ पनि गठन गरेका छन् । उक्त कमिटीमार्फत उनीहरुले युवाहरुमा लागुऔषध, महिला हिंसा विरुद्ध लगायतको सचेतना छर्ने गर्दछन् । यसैगरी, युवा पिँढीको फुटबल खेलप्रति आकर्षण बढाउनका लागि पैरवी समेत गर्दै आएका छन् । 
    जेनेरेशन अमेजिङ्ग कार्यक्रम मार्फत २०१८ को विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि नेपालबाट तीन जना छनोट भएका थिए । जसमध्ये दुई जना कैलाली र एक जना पोखराका युवा खेलाडी थिए ।