Close This

गिद्धको गुँड संख्या घट्यो

शुक्रबार भदौ २२, २०७५/ Friday 09-07-18
Paschim Today

पश्चिम टुडे, धनगढी २२ भाद्र । 
प्रदेश नम्बर ७ मा गिद्धको गुँड संख्या घटेको छ । अघिल्लो वर्ष ११८ वटा गुँड रहेको यो प्रदेशमा यस वर्ष ९८ गुँडमात्रै फेला परेको हो । 
    प्रकृतिको कूचिकार मानिने गिद्धको संरक्षणका लागि विविध प्रयास भइरहँदा पनि अघिल्लो वर्षको तुलनामा २० वटा गुँड घटेको एक सर्वेक्षणले देखाएको छ । गिद्ध पाइने कैलाली, कञ्चनपुर र पहाडी जिल्ला गरी सबै ठाउँमा यसवर्ष गुँडको संख्या घटेको पाइएको नेपाल पंक्षी संरक्षण संघ (बीसीएन) का हिरुलाल डङ्गौराले बताए । 
    कैलालीको तुलनामा कञ्चनपुर र पहाडी जिल्लामा अवस्था सुधारात्मक रहे पनि यो वर्ष सबै ठाउँमा गुँडको संख्या भने घटेको उनले उल्लेख गरे । 
    यसवर्ष अनुगमन गर्दा कैलालीको खुटिया, समैजी, मातृभूमि र बेला–पटेला सामुदायिक वनमा गरी ४० गुँड फेला परेको थियो । यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा, तारापुर पोष्ट, बन्सा, पर्सियामा गरी ४७ वटा गुँड फेला परेको थियो । यस्तै, यस्तै, बैतडीको खोड्पेमा १० वटा गुँड देखिएको थियो । 
    यसवर्ष फेला परेको ९८ गुँडमध्ये ६८ वटाबाट बच्चा निकालेको र ३० वटा असफल भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । कैलाली, कञ्चनपुरमा सबैभन्दा बढी डङ्गर गिद्ध र बैतडीको खोड्पे हिमाली गिद्धको उपस्थिति रहेको छ । यो प्रदेशमा गिद्धको अवस्थाबारे जानकारी लिनका लागि बीसीएनले हरेक वर्ष गुँडको अनुगमन गर्दै आएको छ । 
    गिद्धको प्राकृतिक बासस्थानको नाश हुँदै गएकाले गुँडको संख्या घटेको संरक्षणकर्मी समेत रहनु भएका डङ्गौराले बताए । ‘गिद्धले गुँड बनाएको रुखको हाँगाबिँगा काटिएको पनि फेला प¥यो’, उनले भने–‘प्राकृतिक बासस्थान मासिदैं गएकाले गुँडको संख्यामा कमी आएको हो ।’ गिद्ध संरक्षणको लागि प्राकृतिक बासस्थान जोगाउन जरुरी रहेको डङ्गौराले बताउनुभयो । 
    नेपालमा नौ प्रजातिको गिद्ध पाइन्छन् । यहाँ पाइने डङ्गर गिद्ध विश्वमै लोपोन्मुख रहेको बताइएको छ । गिद्ध संरक्षणका लागि विभिन्न ठाउँमा गिद्ध रेस्टुरेन्ट बनाइएको छ । यसैगरी, पशुचौपायालाई दिइने डाइक्लोफेनेकको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित डाइक्लोफेनेक प्रयोग तथा बिक्री वितरण गरेको पाइएमा तीन वर्ष जेल सजाय र २५ हजार रुपिया जरिवाना गर्ने वा दुवै सजाय हुने व्यवस्था छ ।