Close This

डीसीएका दुई खेलाडी राष्ट्रिय टिममा

शनिबार भदौ २३, २०७५/ Saturday 09-08-18
Paschim Today

पश्चिम टुडे, धनगढी २३ भाद्र । 
धनगढी क्रिकेट एकेडेमीका थप दुई जना खेलाडी राष्ट्रिय टिममा पर्न सफल भएका छन् । विपिन रावल र लोकेश बम १९ वर्षमुनीको राष्ट्रिय टिममा परेका हुन । 
    यहि सेप्टेम्बर १२ तारेखबाट भारतको लखनऊमा हुन गइरहेको भारत, अफगानिस्तान र नेपालबीचको त्रिकोणात्मक खेलका लागि दुवै जना राष्ट्रिय टिममा परेका हुन । भारतको निमन्त्रणामा नेपाली टोली भारत प्रस्थान गर्दैछ । 
    राष्ट्रिय टिममा पर्न सफल दुवै क्रिकेट खेलाडी डीसीएमा निरन्तर अभ्यासरत छन् । यसअघि, एकेडेमीकै उत्पादनका खेलाडीहरु रोशन अधिकारी, सुवोध ऐर र नारायण जोशीले १६ वर्षमुनीको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका थिए । 
    राष्ट्रिय टिममा पर्न सफल दुवै जना खेलाडीलाई एकेडेमीका अध्यक्ष सुवाश शाहीले शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली सिनियर क्रिकेट टिममा यहाँका खेलाडीहरु पर्ने गरी सक्षम बनाउनका लागि आफूले हरसम्भव प्रयास जारी राख्ने जनाएका छन् । धनगढी क्रिकेट एकेडेमीका अहिले एक सय जना खेलाडी अभ्यासरत छन् ।