Close This

दर्द गजल संग्रहको विमोचन

आइतबार भदौ २४, २०७५/ Sunday 09-09-18
Paschim Today

पश्चिम टुडे, धनगढी २४ भाद्र ।
जयलक्ष्मी जोशीद्वारा लिखित दर्द गजल संग्रहको शनिवार विमोचन गरिएको छ । कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा उक्त गजल संग्रहको विमोचन गरिएको हो ।
 गजल संग्रहको प्रदेश सांसद डिल्लीराज पन्त र १००८ गौरीशंकरले संयुक्त रुपमा विमोचन गरेका हुन् । लेखक जयलक्ष्मी जोशीले आफ्नो गजल संग्रहमा सामाजिक परिवेश, महिला माथीको हिंसा, कुरीतिका बारेमा गजल मार्फत प्रहार गरेकी छन् । साथै उनको संग्रहमा असफल प्रेमका बारेमा पनि चर्चा गरिएको छ । २०४५ सालमा दुर्गम जिल्ला बझाङमा जन्मिएकी जोशी हाल धनगढी उपमहानगरपालिका ५ मा बस्दै आएकी छन् । 
     विमोचन कार्यक्रममा बोल्दै गजल संग्रहकी लेखक जोशीले ७ नंम्बर प्रदेश राज्यको दृष्टिमा पछि परेको र समाजमा रहेका कुप्रथाका कारण यहाँका महिलाहरुले भोग्नु परेका पीडाका बारेमा गजल मार्फत चर्चा गरिएको बताइन । उनले यो आफ्नो पहिलो रचना भएको र निकट भविष्यमै मुक्तक संग्रह र उपन्यास पनि प्रकाशनको तयारीमा रहेको बताइन । कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।