Close This

‘सरकार संविधान विपरीत गतिविधिमा’

मंगलबार भदौ २६, २०७५/ Tuesday 09-11-18
Paschim Today

पश्चिम टुडे, धनगढी २६ भाद्र । 
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउँदै संविधान विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन् । 
कैलाली तथा कञ्चनपुरमा नेता तथा कार्यकर्तासंग भेटघाट गर्न प्रदेश नं ७ मा पुगेका नेता सिटौलाले कैलाली क्षेत्र नम्बर ५ द्वारा अत्तरियामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उक्त आरोप लगाएका हुन् । पूर्व गृहमन्त्री समेत रहेको नेता सिटौलले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउँदै जे गरेपनि हुन्छ भन्ने मानसिकताले देशलाई घात हुने खालका गतिविधिहरु गरिरहेको बताए । उनले सरकारको गतिविधका कारण देशमा ठूलो राजनीतिक दुर्घटना हुनसक्ने बताए । 
कम्युनिष्टको सरकार आएपछि सबैभन्दा बढी गरिब जनता मारमा परेको उनको भनाइ थियो । ‘सरकारको गतिविधिले गरिब जनतामात्र नभई कर्मचारी, न्यायालय, प्रेस जगत पनि निरासातर्फ धकेलिँदै गइरहेको छ ।’ उनले भने । 
समृद्धिका कुराहरु गरिरहेको सरकारले आफै समृद्धि पतन हुने काम गरिरहेको उनले बताए । ‘यो सरकारले आफ्नो पार्टी बलियो बनाउँदै गइरहेको छ’ उनले थपे–‘तर सोझा साझा जनतालाई मारमा पारिरहेका छन् ।’ 
दिन प्रतिदिन भइरहेको बलात्कार, हिंसा, जघन्य अपराधका घटनाहरु बढ्दै गएको प्रति निरासा व्यक्त गर्दै उनले यस्ता घटनामा संलग्न आरोपीहरु सरकारका उच्च स्तरबाटै संरक्षण पाइरहेको बताए । 
पार्टीको आगामी महाधिवेशनको बारेमा बोल्दै नेता सिटौलाले काँगे्रसलाई बलियो बनाउन पार्टीको संरचना नै बदल्न जरुरी रहेको बताए । संरचना बदलेर मात्रै केहि हुदैन उनले भने–‘संरचनाको अधिकारका विषयमा पनि बहस हुन जरुरी रहेको छ ।’