किन राजिनामा गरे केसीले ?

मंगलबार भदौ २६, २०७५/ Tuesday 09-11-18
Paschim Today


धनगढी,२६ भदौ ।

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको घट्नाको छानबनका लागि सरकारबाठ गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बिरेन्द्र बहादुर केसीले राजिनामा दिएपछि छानबिन प्रकृया नै शंकाको घेरामा परेको छ ।
प्रदेश नं। ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसीको राजिनामाले बालिका पन्तको बलात्कार तथा हत्याको घट्नामा दोषीले सजाय पाउने र पिडित परिवारले न्याय पाउने संभावना पनि क्षीण भएको छ ।
घट्नाको शुरुदेखि नै स्थानीय बासिन्दाले बलात्कार तथा हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले जोगाउन खोजेको आशंका केसीको राजिनामाले झन बलियो भएको छ ।
उपसचिवले राजिनामा दिनुको कारण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपनि उनले मुख्य कुरा भने सार्वजनिक गरेनन । 
केसीका निकट व्यक्तिले दिएको जानकारी अनुसार छानबिन समितिले प्रहरीलाई जोगाउने गरी प्रतिबेदन तयार गर्न दवाव दिएपछि केसीले राजिनामा दिएका हुन् ।
छानबिन समितिका पाँच जना सदस्य मध्ये चार जना गृहमन्त्रालय मातहतका कर्मचारी छन् । केसी भने न्यास सेवाका हुन् । चारै जनाले गृह मन्त्रालय मातहतमा रहेको प्रहरी संगठनलाई जोगाउने कार्य गर्न खोजेकोमा केसीले असहमती जनाउदै आएको केसी निकट स्रोतले बतायो ।
असहमती दर्ज गर्दा वा फरक मत राख्दा समितिकै सदस्यबाट जोखिममा पर्न थालेपछि केसीले राजिनामा दिएको विश्वस्त स्रोतले बतायो ।
समितिको प्रतिबेदन तयार गर्ने क्रममा धम्की आएपछि समितिबाट राजिनामा दिएका केसीलाई पत्रकार सम्मेलनपछि जागीर जाने धम्की आएको छ । 
दवावमा छानबिन समितिको प्रतिबेदन तयार पार्न खोजिएको उनले आफू निकट व्यक्तिलाई बताएका थिए । प्रतिबेदनले बलत्कारपछि हत्या गरिएकी स्व। निर्मला पन्त र उनका परिवारले न्याय पाउने नदेखेपछि राजिनामा दिएको केसी निकट व्यक्तिले बताए ।
अहिले मेरो जागीर नै जाने धम्की आएको छ,केसीले भने, सत्य बोल्दा जागीर नै जान्छ भने  जाओस,सत्य बोल्न म पछि हटदैन ।
जे वास्तविक कुरा हो, त्यो भन्ने हो । जुन कामका लागि मलाई खटाईएको हो, त्यो हुनुपर्छ भन्ने मेरो मान्यता थियो, केसीले भने, तर छानबिन प्रकृयाबाट पिडित परिवारले न्याय पाउने र अपराधीसम्म पुग्न नसकिने देखेपछि राजिनामा दिएको हुँ ।
निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने र पिडित परिवारलाई न्यायदिने कार्यमा सहयोगी हुने उद्देश्यले छानबिन समितिमा बसेको थिए,केसीले भने, तर त्यहाँ पुग्न असहजता देखे । त्यही कारण राजिनामा दिए ।
१५ दिनको म्याद दिईएको थियो । समितिको म्याद आईतवार समाप्त भएको छ । समितिले प्रतिबेदन बुझाउन थप १५ दिन मागेपछि केसीले राजिनामा गरेका हुन् ।
उनले भदौ १८ गते नै छानबिन समितिबाट राजिनामा दिएको पत्र हुलाक मार्फत पठाएका थिए । सोमवार काठमाण्डौं रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर समितिको सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।