Close This

बिग्रेको क्यामरामा चम्केका दीपक

बुवाले एचए वा अहेब बनाउने सपना देखेका थिए । तर, पढेर सपना पूरा गर्न नसकेका दीपकले थोत्रा क्यामराको उपचार गरी आफ्नो बुवालाई सन्तुष्ट बनाएका छन् । 

बिहीबार भदौ २८, २०७५/ Thursday 09-13-18
Paschim Today

अविनाश चौधरी,
धनगढी, भदौ २८ गते ।
तीन पटक कक्षा १० को टेस्ट परीक्षामा फेल भएपछि दीपक आलेलाई लाग्यो, अब जीवनमा उज्यालो छैन । उनले आफ्नो जीवन अन्धकारतर्फ गएको महसुस गरे । कैलालीको भजनीमा रहेको महुन्याल माध्यमिक विद्यालयमा उनले दुई पटक टेस्ट परीक्षा दिए । तर, दुवै पटक फेल भए । बिरक्तिएर उनी लागे भारत । उद्देश्य थियो, जसरी पनि एसएलसी पास गर्ने । 
    उनी भारतको लखिमपुर स्थित राजकीय इन्टर कलेजमा भर्ना भए । तर, त्यहाँ पनि असफल भए । अब गर्ने के ? उनी अलमलमा परे । विद्यालय जाने क्रममा उनले टिभी, रेडियो मर्मत गर्ने ठाउँ देखेका थिए, उमा इलेक्ट्रोनिक इन्स्टिच्यूट । उनी इलेक्ट्रोनिक काम सिक्नका लागि भर्ना भए, त्यहि इन्स्टिच्युटमा । 
दुई वर्षसम्म इलेक्ट्रोनिक्सको काम सिकेर नेपाल फर्के, उनी । टीकापुरमा टिभी, रेडियो बनाउने पसल थापेर आठ वर्षसम्म काम गरे । तर, त्यो व्यवसाय पनि धरापमा प¥यो । अन्ततः उनले आफ्नो जीवनको लक्ष्य भेट्टाएका छन् । त्यो हो, बिग्रेका, थोत्रा डिजिटल क्यामरा मर्मत गर्ने काम । जीवनमा विभिन्न पटक हण्डर खाइसकेपछि धनगढीमा दिपक डिजिटल क्यामरा मर्मत केन्द्र सञ्चालन गरेका दीपकको जीवनमा अहिले त्यहि कामले रङ्ग भरेको छ । उनी यो प्रदेशकै एक्लो क्यामरा मर्मत गर्ने व्यक्ति बनेका छन् । 
२०६८ सालबाट सञ्चालन गरेको क्यामरा मर्मत केन्द्रमा बिग्रेका क्यामरा बनाउनका लागि उनलाई दैनिक भ्याइ नभ्याइ भएको छ । कुनै समय क्यामरा बिग्रिदा यहाँका फोटो स्टुडियो सञ्चालक, पत्रकारले काठमाण्डौं, भारतमा लगेर क्यामरा बनाउनु पर्ने अवस्था थियो । अहिले भारतको सम्पूर्णनगर, खजुरिया, पलिया र नेपालको सुर्खेत, नेपालगञ्ज लगायतबाट उनी कहाँ क्यामरा बनाउन आउने गरेका छन् । 
‘यो काम गर्दा म कहिल्यै खाली बस्नु परेको छैन’, उनी अगाडि थप्छन्–‘आफूलाई सफलै नथाने पनि कामबाट सन्तुष्ट छु । खाडी मुलुकमा गएर पसिना बगाउनुभन्दा यहि काम मलाई ठीक छ ।’


आठ वर्षदेखि क्यामरा बनाउने कार्यमा सक्रिय दीपकले छोटो समयमा प्रगति पनि गरेका छन् । उनलाई बिग्रेको क्यामराले चम्काएको छ । धनगढीमा १२ धुर जग्गा खरिद गरेर दुई तले घर बनाइसकेका छन् । र, तीन जनालाई रोजगारी समेत दिएका छन् । दीपकलाई यो काममा उनको श्रीमती र भतिजले पनि सघाउने गरेका छन् । उनी भन्छन्–‘मेरो परिवारले जहिल्यै साथ दिएका कारण यो अवस्थामा आइपुगेको छु ।’
त्यसो त, डिजिटल क्यामरा बनाउने व्यक्ति नेपालमा थोरै छन् । त्यसैमध्येमा यो प्रदेशको एक्लो क्यामरा मर्मतकर्ताको पहिचान बनाएका छन्, दीपकले । उनले मर्मतका लागि ल्याइएका कुनै पनि क्यामरालाई अहिलेसम्म अन्यत्र जान दिएका छैनन् । भन्छन्–‘मैले सिके अनुसार आफै मर्मत गर्ने गरेको छु । यदि, मैले जानेकोभन्दा जटिल छ भने, अग्रज साथीहरुको सल्लाह अनुसार क्यामरा बनाउने गरेको छु ।’
क्यामरा मर्मत गरेर उनको ६ जनाको परिवारको गुजारा मज्जाले चलेको छ । भजनी नगरपालिका–१ भजनीवासी दीपकले तीन महिनाको प्रशिक्षणबाट यो काम थालेका हुन । ५० हजार रुपैया लगानी गरेर सुरु भएको उनको व्यापारले अहिले केहि फड्को समेत मारेको छ । डिजिटल क्यामरा बनाउनका लागि उनले लिएको तीन महिनाको प्रशिक्षणमात्रै काफी थिएन । उनी काठमाण्डौं र भारतको नयाँ दिल्लीमा गएर थप पोख्त भएका हुन । ‘मैले कहिले काठमाण्डौं त कहिले भारतको दिल्लीमा गएर क्यामरा बनाउँदै गरेको हेर्दै थप काम सिकेको हुँ’, उनले भने–‘सिक्नका लागि कसैलाई पैसा त कसैलाई जुत्ता, चप्पल, कपडा उपहार समेत दिएँ ।’ 
उनले क्यामरा बनाउनेहरुलाई आफ्नोतर्फबाट केहि उपहार दिदैं एकछिन सिकाउनका लागि आग्रह गर्ने गर्दथे । फलस्वरुप, खुशी भएर विभिन्न व्यक्तिले उनलाई यो कामका लागि पोख्त बनाए । 
काम सिकेको केहि समयपछि उनले भारतकै इन्टर कलेजबाट एसएलसी पास गरे । इन्टर पनि त्यहि कलेजमा भर्ना भए । ‘तर, मैले काममा भविष्य देखेपछि पढाईलाई बिट मार्दै यहि काममा सक्रिय छुँ’, उनले भने । 
यसरी लागे क्यामराको काममा
भारतमा टिभी, रेडियो बनाउने तालिम लिए पश्चात दीपकले टीकापुरमा इलेक्ट्रोनिक पसल सञ्चालन गरेका थिए । तर, द्वन्द्वको क्रममा तत्कालिन विद्रोही पक्षले विद्युतमा क्षति पु¥याएसंगै उनको व्यापार पनि धरापमा प¥यो । 
    उनी आफ्नै भाइले भजनीमा सञ्चालन गरेको फोटो स्टुडियोको पूर्ण जिम्मेवारी लिए । त्यहि क्रममा क्यामरा बिग्रियो । बनाउनका लागि काठमाण्डौं पुगे । एक हप्तापछि क्यामरा बनेसंगै उनमा क्यामरा मर्मतबारे उत्सुकता पलायो । दीपकले काठमाण्डौंमा क्यामरा बनाउने काम सिक्ने निधो गरे । सिकाउने व्यक्ति पनि भेटिए । तर, एक लाख अग्रिम भुक्तानी माग गरे । 
    दीपकले फोटो स्टुडियोबाट एक लाख कमाउन सकेका थिएनन् । आफूसंग भएको ७५ हजार रुपैया बोकेर उनी तालिम लिन काठमाण्डौं पुगे । पाँच हजार खल्ती खर्च जोगाएर ७० हजार तत्काल दिने र ३० हजार पछि दिने गरी प्रशिक्षकलाई मनाउन खोजे । तर, सहमति भएन । देखेको सपनामा तुषारापात भयो । विरक्तिएर उनी घर फर्कने क्रममा बुटवलमा रहेको आफ्नो दिदीको घरमा पुगे । उनले भिनाजुलाई सबै बेलिविस्तार सुनाए । 
    ‘मैले सबै कुरा सुनाएपछि भिनाजुले चिन्ता नगर्न आग्रह गर्नुभयो’, दीपकले भने–‘उहाँले नै बुटवलमा रहेको क्यामरा मर्मत गर्ने पुष्कर अधिकारीसंग कुरा गर्नुभयो । तर, अधिकारीले सुरुमा मान्नु भएन ।’
    क्यामरा बनाएको हेर्न दिनमात्रै दीपकले अधिकारीलाई आग्रह गरे । बरु, त्यसवाफत आफूले शुल्क पनि तिर्ने बताएपछि सहमति भयो । उनले त्यहाँ तीन महिना सिके । र, थाले आफ्नै व्यवसाय । 
    टिभी, रेडियो मर्मत गर्ने तालिम लिएका दीपक यसरी क्यामरा मर्मत गर्ने व्यक्ति बनेका छन् । दीपकलाई उनको बुवाले एचए वा अहेब बनाउने सपना देखेका थिए । तर, पढेर सपना पूरा गर्न नसकेका दीपकले थोत्रा क्यामराको उपचार गरी आफ्नो बुवालाई सन्तुष्ट बनाएका छन् । 
    ‘मलाई लाग्छ, मैले पढ्न नसक्नु र टीकापुरमा इलेक्ट्रोनिक व्यापार धरापमा पर्नु यसै कामका लागि थियो’, मुस्कुराउँदै दीपक भन्छन्–‘जे भयो, ठीकै भयो । क्यामरा बनाउने काममा लागेपछि अत्यन्त सन्तुष्ट छु ।’