Close This

भारतीय केराले कैलालीका किसान मर्कामा

शनिबार भदौ ३०, २०७५/ Saturday 09-15-18
Paschim Today
कैलालीको टीकापुर नगरपालिका–७ बैदीमा गरिएको केरा खेती । 

पश्चिम टुडे, धनगढी ३० भाद्र ।
भारतबाट आयात भएको केरासंग प्रतिस्पर्धा गर्न नसक्दा कैलालीका केरा खेती किसान मर्कामा परेका छन् । 
    उताबाट सस्तोमा वर्षभरी केरा आयात हुँदै आएकाले यहाँका किसान मर्कामा परेका हुन । बजारमा आएको भारतीय केरासंग यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकिरहेको छैन । सस्तोमा आयात भएको केराले समस्यामा पारेको किसानले बताएका छन् । कुनै÷कुनै बेला धेरै ठूलो क्षति समेत बेहोर्नु परेको उनीहरुको भनाइ छ । 
    भारतीय केराले कैलालीको बजारमा बाह्रै महिना एकाधिकार जमाएको कृषक लक्षिराम आचार्यले बताए । ‘जब हाम्रो उत्पादन हुन्छ, तब भारतबाट ६० प्रतिशत मूल्य डाउन भएर केरा आउँछ’, उनले भने–‘हाम्रो उत्पादनले बजार लिन सक्दैन ।’
    भारतबाट सस्तोमा केरा आयात भए पनि उपभोक्ताले भने महँगोमा नै किन्नु पर्ने बाध्यता रहि आएको छ । केराको खुद्रा बिक्रीमूल्य घट्नुको सट्टा बढ्दै गएको छ । तर, सस्तोमा केरा आयात गर्दाको फाइदा बिचौलिया र व्यापारीहरुले लिइरहेको किसानले बताएका छन् । 
    ‘यहाँ उत्पादित केरा महँगो भएपछि व्यापारीले किन्नै चाँहदैनन्’, कृषक आचार्यले भने–‘बजार नपाउँदा कहिलेकाँही हाम्रो उत्पादन खेतमै सडेर क्षति बेहोर्नु परेको छ ।’ 
    स्थानीय उत्पादनले बजार नपाउँदा विगतमा धेरै जमिनमा केरा खेती गर्दै आएका किसानले जग्गाको मात्रा घटाउँदै लगेका छन् । पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका आचार्यले सुरुमा २२ बिघा जमिनमा केरा खेती गरेका थिए । तर, उत्पादनले बजार पाउन समस्या भएपछि १० बिघा घटाएर १२ बिघा जमिनमा यो वर्ष केरा खेती गरेका छन् । उनले ६० लाख रुपैया बराबरको केराको कारोबार गर्ने गरेका छन् । 
उनले गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित बडेहा र गेंटामा गरी दुई ठाउँमा केरा खेती गर्दै आएका थिए । ‘तर, उत्पादित केराको बजारीकरणमा समस्या भएपछि बाध्य भएर गेंटामा रहेको १० बिघा जमिनमा खेती गर्न छोडेँ’, आचार्यले गुनासो गर्दै भने–‘नेपाली किसानलाई जोगाउन राज्यको नीति, नियम नै भएन । किसानको माग कहिल्यै सुनुवाइ हुन सकेको छैन ।’
    कैलालीमा गौरादेखि छठ पर्वसम्म केराको खपत झन बढी हुने गर्दछ । यहि बेला यहाँ पनि केरा उत्पादन हुने गर्छ । तर, पर्वको बेला भारतबाट अत्यन्त न्यून मूल्यमा केरा आयात हुने र यहाँको उत्पादन विस्थापित हुने गरेको किसानको भनाइ छ । ‘चाडपर्वको बेला पनि हाम्रो उत्पादन खपत हुन गाह्रो हुने गर्दछ’, कृषक आचार्यले भने–‘बाँकी नौ महिना त भारतीय केराकै एकाधिकार रहन्छ ।’
    कैलालीभरी करिब एक हजार ६०० कृषकले केरा खेती गरिरहेको किसानले बताएका छन् । उनीहरुले यो जिल्लामामात्रै साढे सात सय हेक्टर जमिनमा केरा खेती भइरहेको दावी गरेका छन् । तर, प्रदेश नम्बर ७ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि महासाशाखाले भने यो जिल्लामा दुई सयभन्दा बढी हेक्टरमा केरा खेती भइरहेको जनाएको छ ।
    कैलालीमा उत्पादित केराले प्रदेशलाई नै धेरै राहत हुने भए पनि भारतीय केराले बजार कब्जा गर्दा लगानी निकाल्न पनि समस्या हुने गरेको किसान बताउँछन् । विगत सात वर्षदेखि ३० बिघा जमिनमा केरा खेती गर्दै आएका टीकापुरका दीपेन्द्र थारुले आश गरे अनुसार फाइदा लिन नसकिरहेको बताए । ‘बजारमा हाम्रो उत्पादन नकटेपछि १६ रुपिया दर्जनमा पनि बिक्री गरेर चित्त बुझाएका छौं’, उनले भने–‘यो खेतीमा लगानी धेरै छ । तर, फाइदा थोरै ।’ 
    थारु सहित तीन जनाले संयुक्त रुपमा जोशीपुर गाउँपालिकाको झबही र टीकापुरमा गरी ३० बिघामा व्यावसायिक केरा खेती गरेका हुन । ठूलो क्षेत्रमा केरा खेती गर्दै आए पनि सस्तोमा बेच्नु पर्दा तीन वर्षदेखि घाटा बेहोर्न बाध्य रहेको कृषक थारुले सुनाए । 
    ‘प्रति दर्जन २८ वा ३० रुपियामा बिक्री भयो भने फाइदा हुन्छ’, उनले भने–‘तर, हामीले १६ रुपिया दर्जनमा पनि आफ्नो उत्पादन बेचेर चित्त बुझाएका छौं ।’
    यहाँ एकै जना किसानले ८५ बिघा जमिनमा समेत केरा खेती गरेका छन् । तर, भारतबाट सस्तोमा आयात हुने केराका कारण उनीहरुले अपेक्षानुरुप बजार पाउन सकेका छैनन् । 
    कैलाली, कञ्चनपुरका किसानले केरा खेती गर्दा उत्पादन लागत महँगो हुने कारणले भारतबाट आयात हुने केरासंग प्रतिस्पर्धा गर्न नसकिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव यज्ञराज जोशीले बताए । ‘हाम्रो यहाँ सिचाइँ सुविधा लगायत यावत कुरा नहुँदा खेती गर्ने किसानको लागत बढ्ने गर्दछ’, उनले भने–‘लागत बढी भएपछि महँगो हुने नै भयो, त्यसैले भारतीय केरासंग प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’
    उताबाट आयात गरिने फलफूलमा विष र विषादीको मात्रा नाप्नका लागि खक्रौला, त्रिनगर र गड्डा चौकी भन्सार नाकामा हालसालै मशिन राखिएको छ । ३५ प्रतिशतभन्दा बढी विष र विषादीको मात्रा भएको फलफूल आएमा भन्सारमै रोक्न सकिने जोशीले जनाए । 
    ‘तर, त्यो भन्दा कम मात्राको फलफूल आएमा रोक्न सकिने भन्ने व्यवस्था छैन’, उनले भने–‘किनभने यो खुल्ला बजार हो ।’
    भारतबाट आएको केरासंग प्रतिस्पर्धा हुन नसके पनि केरा खेती गर्ने कृषक र केरा खेती गरिने जग्गा बढ्दै गएको मन्त्रालयले जानकारी दिएको छ । यो प्रदेशलाई केरामा आत्मनिर्भर बनाउने योजनामा रहेको जोशीले बताए ।