Close This

धनगढी उपमहानगरपालिकामा पूर्वाधार ब्यबस्थापन प्रणाली शुरु

आइतबार भदौ ३१, २०७५/ Sunday 09-16-18
Paschim Today


धनगढी,३१ भदौं ।
धनगढी उप–महानगरपालिकाको वेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली(आईएमएस)को शनिवार प्रदेश नं ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।
वेभका माध्यमबाट पूर्वाधार विकासका सबै सूचना तथा जानकारीहरु दिने प्रणाली संचालनमा ल्याउने धनगढी उप–महानगरपालिका देशमै पहिलो हो । 
मुख्यमन्त्री भट्टले समय अनुसार सूचना प्रबिधिको आत्मसात गर्नु आवश्यक रहेको बताउदै आईएमएसको माध्यमबाट स्थानीय सरकारका सूचनाहरु जनताले सहजै पाउने विश्वास गरे ।

यो प्रणालीले पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धन गर्ने छ, नेपालको सबैभन्दा पिछिडिएको प्रदेश नम्बर ७ मा सबैभन्दा पहिले आईएमएस शुरु हुनु खुशीको कुरा हो,मुख्यमन्त्री भट्टले भने, यसको शुरुवात धनगढीबाट भएको छ । अव देशभरीका स्थानीय सरकारले यहाँबाट धेरैकुरा सिक्ने छन् ।
उनले कर्मचारी र राजनैतिक नेतृत्वबीचको द्धन्दका कारण सेवाग्राहीहरु मारमा परेको बताए ।
‘स्थानीय,प्रदेश र संघीय सरकारका हरेक गतिबिधि र भौतिक योजनाका विषयमा थाह पाउने जनताको अधिकार हो, बोहराले भने, आईएमएसले जनताको त्यो हकलाई सम्बोधन गर्ने मेरो विश्वास छ ।
जनताले सरकारका सबै गतिविधीहरु जान्न पाउनु पर्छ । चाडै नै प्रदेशका मन्त्रालयमा यो प्रणाली लागु गरिने पनि मन्त्री बोहराले बताए । उनले भने,‘सरकार सधै खुला र पारदर्शी हुनुपर्छ ।
जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले सबै जनप्रतिनिधीहरु केहि गर्न चाहिरहेको भएपनि गर्न नसकिरहेको बताए । उनले भने,‘यसमा कानुनी जटिलता छन् यो जटिलताबाट पार लाग्नुपर्छ । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले नगरका काम कार्वाहीहरु खुला र पारदर्शि बनाउनका लागि बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली संचालनमा ल्याएको बताए । उनले भने,‘नगरका हरेक गतिविधीहरुमा नागरिकको निगरानी हामीले चाहेका छौं । बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली संचालनमा आएकाले यसको धेरैभन्दा धेरै प्रयोग गर्न पनि नगरप्रमुख वडले नगरवासी संग आग्रह गरे । 
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले हेर्दा सामान्य जस्तो लागेपनि वेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली महत्वाकांक्षी योजना भएको बताए । 

उनले पारदर्शिता र जवाफदेहिताबाट मात्र सुशासन प्रबद्र्धन हुने बताउदै आईएमएसले सुशासनकाक्षेत्रमा केहि समय भित्रै प्रतिफल दिने बताए ।
कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरी सिंह साउँदले स्थानीय सरकारले हिजो कै शैलीमा काम गरेमा चाहेको उपलब्धी हात नपर्ने बताए । उनले भने,‘लोकतन्त्रको संस्थागत बिकास गर्नका लागि पनि वेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणालीले सहयोग गर्ने छ ।
धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशिला मिश्र भट्टले वेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली सुरु गर्ने देशकै पहिलो नगरी बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिईन । यो हाम्रा लागि राम्रो अवसर त हो नै, उनले भनिन्‘यसको उपयोग गर्नका लागि नागरिक तहमा जानकारी दिनु कम्ति चुनौतीपूर्ण भने छैन । 
वेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणालीले नगर क्षेत्रमा संचालन भएका योजनाको सुरुवाती चरण देखि कार्यान्वयनको चरणहरुको जानकारी मोवाईल एप्सको माध्यमबाट लिन सकिने योंग ईन्नोभेसनका प्रमुख कार्यकारी अधिकृत बिभुषण बिष्टले बताए ।
उनले आईएमएसका माध्यमबाट घरमै बसेर नगरका हरेक नागरिकले आफ्नो टोलका योजना, त्यसको बजेट, त्यसको भौतिक र वित्तिय अवस्थाको जानकारी लिन सक्ने बताए ।
उनले आईएमएसले स्थानीय सरकारलाई पारदर्शी र जवाफदेही बनाउने विश्वास गरे ।
प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री पठान सिंह बोहराले धनगढी उप–महानगरपालिकाले सुरुवात गरेको आईएमएस अन्य स्थानीय तहमा सञ्चालन गर्न आवश्यक भएको बताए ।
आईएमएस उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका ईञ्जिनियर द्धिजराज भट्ट, कैलाली निर्माण व्ववसायी संघका ओम पाठक, उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुमाल र पत्रकार दीर्घराज उपाध्यायका बीचमा आईएमएसको आवश्यकता र यसको महत्वका साथै भौतिक पूर्वाधार निर्माणमा सूचनाको पारदर्शिताका विषयमा छलफल भएको थियो । जसको सहजीकरण सेसीका सुशासन सल्लाहकार बिनोद उपाध्यायले गरेका थिए । कार्यक्रममा सहभागीहरुले आइएमएसका बारेमा आफ्ना जिज्ञासा समेत राखेका थिए ।
पूर्वाधार ब्यबस्थापन प्रणाली विकासमा योङ्ग ईन्नोभेसन कम्पनीले प्राबिधिक सहयोग गरेको छ । सेसीको सहकार्यमा ग्राम विकास तथा अनुसन्धान केन्द्र र धनगढी उपमहानगरपालिकाको साझेदारीमा यसको सञ्चालन भएको हो । जसमा किङ्गस् कलेज काठमाण्डौको समेत सहकार्य रहेको छ ।