खमौरा घट्नामा माईती भन्छन्,आत्महत्या होईन, हत्या हो 

आइतबार भदौ ३१, २०७५/ Sunday 09-16-18
Paschim Today


धनगढी, ३१ भदौ ।
कैलालीको गोदावरी नगरपालिका—१० खमौरामा भएको एक महिलाको रहस्यमय मृत्युलाई उनका पतिले आत्महत्या भनेपनि माईती पक्ष भने मान्न तयार छैनन ।
माईती पक्षले उनको हत्या भएको दावी गर्दै महिलाको पतिका बिरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीका आधारमा उनका पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खमौराकी २५ वर्षीया तलुसी फुलारा भट्टको भदौ २९ गते शुक्रवार मध्य राति मृत्यु भएको थियो । उनका पति प्रशान्त भट्ट ‘केशव’ले आफ्नी पत्नीले हत्या गरेको भन्दै राति नै प्रहरीलाई खवर गरेका थिए । 
राति नै प्रहरी घट्नास्थल पुगेपनि शनिवार दिउसो मुचुल्कापछि शव उठाएर पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल ल्याइएको थियो ।
घट्नास्थलको अवस्था र तुलसी र उनका पति प्रशान्तबीचको तिक्ततापूर्ण सम्बन्धका कारण माईती पक्ष उनले आत्महत्या गरेको मान्न तयार छैनन ।
मृतक भट्टका दाई प्रभात भट्ट( मामाको छोरा ) ले ज्वाई प्रशान्तले नै बहिनी तुलसीको हत्या गरेको दावी गरे ।
आत्महत्या गर्ने जस्तो त ठाउ नै छैन, बेडमा पल्टिएको अवस्थामा शव छ ।,मृतक तुलसीका भिनाजु रुद्र शर्माले भने, बेडसंग जोडिएको झ्यालमा झुण्डिएर आत्महत्या गर्ने अवस्था नै देखिदैन । घाटीको दोपट्टा झ्यालमा बाधिएको पाईएको छ । कोठाका झ्याल ढोका खुला अवस्थामा थिए । कोठाभित्र श्रृंगारका सामानहरु यत्रतत्र छरिएका थिए । दराज पनि तोडफोड गरिएको छ । तुलसीको पेट र पिठ्युमा डाम छन् । 
उनले पहिले पनि पटक पटक तुलसीलाई प्रशान्तले यातना दिने गरेको सुनाए । 
प्रशान्तले तुलसीका माईतीले दिएका दाईजोका सामानहरु पनि जलाएको बताईएको छ ।
माईती पक्षको उजुरीपछि नियन्त्रणमा लिईएका प्रशान्तमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरी बहादुर वलीले बताए ।
उनको पोष्टमार्टम रिपोर्ट र प्रशान्तसंग सोधपुछका आधारमा उक्त घट्नाका विषयमा बोल्न सकिने डिएसपी ओलीले बताए ।

२५ वर्षीय प्रशान्त कम्प्युटर ईञ्जिनियर हुन् । यद्दपि उनी कुनै रोजगारीमा थिएनन । उनीहरुको १९ महिना अघि बिबाह भएको हो । घरमा केशव र उनकी पत्नी तुलसी मात्र बस्थे । त्यो राति उनीहरु दुई जना पती पत्नी मात्र थिए । ११ बजे तीज हेरेर फर्केकी तुलसीले आफ्नै आँखा अगाडि आत्महत्या गरेको प्रशान्तले प्रहरीलाई बताएका थिए ।
प्रशान्तले बिभिन्न बहानामा तुलसीलाई पटक पटक कुटपिट गरेको पनि माईती पक्षले आरोप लगाएको छ ।
कुटपिट पछि माईती आउने गरेकी तुलसीलाई प्रशान्तले माईती पक्षसंग अव कुटपिट नगर्ने बाचा गर्दै तुलसीलाई घर लैजाने गरेको बताईएको छ ।
माईती पक्षले प्रशान्तले नै तुलसीको हत्या गरेको आरोप लगाउदै उनीमाथि कडा भन्दा कडा कार्बाहीको माग गरेको छ ।
मृतक तुलसीको शवको पोष्टमार्टम भईसकेको छ । रिपोर्ट आईसकेको छैन । रिपोर्टपछि शव आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ ।