Close This

कैलाली क्याम्पस : आंगिक बारेको बहस

सोमबार असोज १, २०७५/ Monday 09-17-18
Paschim Today

कैलाली बहुमुखी क्याम्पस देशमै प्रतिष्ठीत क्याम्पस हो । यस क्याम्पसले शैक्षिक जगतमा यस क्षेत्रको शिर उचो बनाएको छ । कैलाली बुहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी अन्तीम चरणमा पुगिरहेको बेला यस लाई आंगिक क्याम्पस बनाउन हुने र नहुने भन्नेमा सामाजिक स्तरमा बहस,छलफल, विवाद शुरु भएको छ । धनगढीका चिया पसल देखी महत्वपूर्ण जमघटहरुमा समेत यो बिषयले निकै चर्चा पाईरहेको छ । सबैमा आंगिक बनाउन हुने वा नहुने बारेका आ आफ्नै तर्क रहेका छन् । यो क्याम्पसलाई आंगिक बनाउदा के फाईदा हुने, किन आंगिक बनाउने,भन्ने बिषयमा जनस्तरबाट छलफल हुन आफैमा राम्रो कुरो पनि हो । यो चाँसो चिन्ताका पछाडी यस क्षेत्रका बासिन्दाहरुको कैलाली बहुमुखी क्याम्पसल प्रतिको बिश्वास पनि हो । सुदूरको एउटा कुनामा रहेको यो सामुदायीक क्याम्पसललाई देशमै राम्रो शैक्षिक संस्थाको रुपमा स्थापीत गर्नमा समेत यहाँका बासिन्दाहरुको ठूलो हात रहेको छ । 
यस क्षेत्रको आवश्यकतालाई मध्य नजर राख्दै तिन दशक अघि उच्च शिक्षाका लागि स्थापना गरिएको कैलाली क्याम्पस पछि कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको हो । स्थापना ताका कैलाली क्याम्पस हालको पञ्चोदय स्कुलमा संचालन गरिएको थियो । अहिले क्याम्पस भएको स्थानमा २०४० तिर स्थानान्तरण गरिएको हो । समुदायीक तहबाट संचालन गरिएको यो संस्था अहिले गुणस्तरिय शिक्षा, पर्याप्त भौतिक पुर्वाधार, सस्तो शुल्क लिने क्याम्पसको नामले चिनिन्छ । यसका पछाडी यस क्षेत्रका बासिन्दा, क्याम्पस प्रशासको निकै ठूलो भूमिका रहेको छ । त्यसैले अहिले सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पस बनाउँदा कैलाली बहुमुखी क्याम्पसको अबस्था के हुने भन्ने बिषयमा नागरिक तहमा उठीरहेका प्रश्नलाई अन्यथा लिनु पनि हुदैन । बरु बुझाउनका लागि छलफल चलाउनु आवश्यक हो । अहिले आंगिक बनाउन हुने र नहुने बिचको दुरी बढ्न गएमा त्यसको नकारात्मक प्रभाव शैक्षिक संस्थामा पर्न सक्छ । आंगिक बनाउने नबनाउने भन्दा पनि पहिले संस्थालाई बिवाद मुक्त बनाउनु अहिलेको आवश्यकता हो ।
स्वार्थ संग जोडिएका तर्क :
अहिले क्याम्पस प्रशासन र प्रध्यापकहरु आंगिक क्याम्पस बनाउनु पर्ने पक्षमा छ । यहाँका कतिपय सामाजिक अगुवा भने आंगिक क्याम्पस बनाउन नहुनेमा पक्षमा छन् । आंगिक बन्नु पर्ने  र बन्न नहुने भन्ने सामाजिक संजालहरुमा समेत बहसको विषय बन्न थालेको छ । राज्यको लगानीमा संचालन हुँदा विद्यार्थीहरुले कम शुल्कमा पढ्न पाउनुका साथै क्याम्पसले नयाँ–नयाँ विषय र संकाय थप्न पाउने भएकाले विश्वविद्यालयको आंगिक क्याम्पस बन्नु उपयुक्त हुने तर्क क्याम्पस प्रशासनको छ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पनि नदिने र नयाँ विषय र संकाय पनि थपको अनुमति नदिने भएकाले अहिलेकै संकायले मात्र भविष्यमा क्याम्पस संचालनमा समस्या आउन सक्ने भनाई प्रशासन छ । अहिले कैलाली बहुमुखी क्याम्पसमा शिक्षा संकाय, मानबिकी संकाय, बिज्ञान संकाय र ब्यबस्थापन संकाय गरि ४ वटा संकायको प्रध्यापन भैरहेको छ । यस क्षेत्रको माग अनुसार नयाँ संकाय थप गर्न सकिने र घट्दो बिद्यार्थीदरलाई रोक्न सकिने तर्क क्याम्पस प्रशासनको छ । अहिलै कैलाली बहुमुखी क्याम्पसमा ८ हजार भन्दा बढी बिद्यार्थी अध्ययनरत रहेका छन् । अन्य बिश्व बिद्यालयबाट सम्वन्धन लिएर खुल्न लागेका क्याम्पसहरुले यहाँ आउने बिद्यार्थीहरुलाई तान्न थालेको छ । 
तर आंगिक क्याम्पस बनाउदा पढाई भन्दा राजनीति बढी हुने भएकाले शैक्षिक गुणस्तर खस्किनुका साथै छुट्टै विश्वविद्यालय बन्न सक्ने संभावना रहेकोमा आंगिक बने संगै कैलाली बहुमुखी क्याम्पसको त्यो संभावना पनि समाप्त हुने तर्क कतिपय नागरिक अगुवाले गरिरहेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बनाईनु हुन्न भन्ने पक्षमा रहेकाहरुले आंगिक बन्दा कर्मचारी बाहेक कसैको पनि हित नहुने तर्क गर्दै आएका छन् । ‘त्रिभुवन विश्वविद्यालयको एउटा प्रतिष्ठीत क्याम्पसको भबिष्य सुदूरपश्चिम बिश्वविद्यालयको आंगिक भएपछि अन्यौल हुने तर्क तेर्साउनेहरु पनि धेरै रहेका छन् । शैक्षिक क्षेत्रका बिज्ञहरुको बुझाईमा विश्वविद्यालय शिक्षामा सुदूरपश्चिममा राज्यको लगानी नै छैन । आंगिक क्याम्पस बन्दा यहाँ शिक्षामा राज्यको ठूलो लगानी भित्रिन्छ र विद्यार्थीहरुले सहुलियत शुल्कमा पढ्न पाउँछन् ।’ कतिपय सामुदायिक क्याम्पस संचालन गर्न धौं–धौं भईरहेको अबस्थामा आंगिक बनेपछि सबै खर्च सरकारले व्यहोर्ने हुँदा त्यो अवस्था रहदैन ।’ यद्यपि सरकारी क्याम्पसमा प्रशासन खुकुलो हुने र राजनीति बढी हुने भएकाले शैक्षिक गुणस्तर खस्किने संभावना पनि रहने विज्ञहरुको बुझाई छ । सरकारले सहयोग गरे कैलाली बहुमुखी क्याम्पस छुट्टै विश्वविद्यालय बन्नसक्ने संभावना रहेकाले यसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाइनु हुँदैन भन्ने तर्क पनि रहेको छ । कैलाली बहुमुखीलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन २०४२ सालदेखि पहल भइरहेको त्रिविले आंगिक नदिएको अवस्थामा सुप विश्वविद्यालयको आंगिक क्याम्पस बन्दा राम्रै हुने एक थरीको बिचार रहेको छ  । ‘त्रिविले आंगिक पनि नदिने र नयाँ विषय पनि थप नगर्नाले भोलि क्याम्पस चलेन भने समस्या हुन सक्छ भन्ने त्रास एक थरीले समुदायमा फैलाएका छन् ।
आंगिक बनाउदा कति फाईदा ?
कुनैपनि क्याम्पस आंगिकहुनु भनेको समुदाय क्याम्पस व्यवस्थापनको झन्झटबाट मुक्त हुनु हो । यसबाट क्याम्पसका प्रध्यापक र कर्मचारीहरुलाई तलव भत्ता कहाँबाट खुवाउने भन्ने झण्झट समुदायलाई हुदैन । अहिले समुदाय तहबाट जोहो गरेर तलव खुवाउनु पर्ने बाध्यता हट्ने छ ।  बिश्वविद्यालय स्वायत्त हुन्छन् । कर्मचारीको ब्यबस्थापन र भर्ना छानौट पनि त्यतैबाट हुन्छ । समुदायको ब्यबस्थापनबाट सेवा सुविधा लिईरहेका कर्मचारी तथा प्रध्यापकहरुले सरकारी मापदण्ड अनुसारको सेवा सुविधा पाउने हुन्छ । यसले स्वभावतः कर्मचारीहरुलाई फाईदा पुग्ने देखिन्छ । अहिले समुदायीक तहबाट भर्ना गरिएका प्रध्यापक र कर्मचारीहरुको पेशागत सुरक्षा हुन्छ । क्याम्पसको भौतीक पूर्वाधार निर्माण देखिका बिभिन्न कुरामा  सरकारी सहयोग रहन्छ । त्रिभुवन बिश्व बिद्यालयले नयाँ संकाय अध्यापनको अनुमती नदिदा बिद्यार्थी घटीरहेको अबस्थामा सुदूरपश्चिम बिश्वविद्यालयले नयाँ नयाँ संकाय अध्यापनको लागि अनुमती दिन सक्ने सम्भावना देखिन्छ । कैलाली बहुमुखी क्याम्पसले इन्जीनियरिङ्ग, बन बिज्ञान, कृषी विज्ञान जस्ता प्राविधीक बिषयहरुको पनि पठनपाठन गराउन सक्छ । यस्ले कैलाली बहुमुखी क्याम्पसमा बिद्यार्थीको चाप बढाउन सक्ने हुन्छ । यहाँका बिद्यार्थीहरुले आवश्यक उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुन सक्छ । यसले अभिभावकको खर्च कटौती हुन्छ । त्यसैगरी सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पस बनाईएमा अहिले बिद्यार्थीले तिरिरहेको शुल्क समेत घट्ने हुन्छ । 
आंगिक बनाउँदा हुनसक्ने बेफाईदा  ः
आंगिक बनाउँदा प्राध्यापक र कर्मचारीलाई फाइदा भए पनि राज्यलाई ठूलो व्ययभार पर्दछ । क्याम्पसका कर्मचारी र  प्राध्यापकले सरकारी कोषबाट तलबभत्ता लिन पाउँछन् क्याम्पस प्रति समुदायको अपनत्व घट्दै जान्छ । अहिले सामुदायीक क्याम्पस संचालन गर्ने समुदाय निष्कृय हुन्छ । विद्यार्थी अभावका कारण त्रिविले समेत कतिपय विषयको पढाइ बन्द गर्नुपर्ने अवस्था अहिले रहेको छ । हालै स्थापना भएको सुदूरपश्चिम बिश्व विद्यालय प्रति विद्यार्थीले कति बिश्वास गर्लान भन्ने कुरो महत्वपूर्ण छ । नयाँ विषयको पढाइ सञ्चालन गरेर विद्यार्थी आकर्षण बढाउ सकेन भने विद्यार्थी अभावमा सम्बन्धित विषयका प्राध्यापकलाई अनावश्यक रूपमा तलब खुवाइरहनु पर्ने झन्झट निम्तीन सक्छ । 
अर्को कुरो विश्व विद्यालय स्वायत्त हुन्छ । उस्ले आफ्नो छुट्टै पाठ्यक्रम बनाउनु पर्नेहुन्छ, आफ्नो शैक्षिक पात्रो बनाउने,  निर्धारीत समयमा परिक्षा संचालन गर्ने, समयमै नतिजा प्रकाशन गर्ने, प्रध्यापकलाई अभिमूखिकरण गर्ने जस्ता कार्य गर्नु पर्ने हुन्छ । जो सुदूरपश्चिम बिश्व विद्यालय भन्दा पहिले नै स्थापना गरिएका स्वयं त्रिभूवन विश्वविद्यालय, पूर्वाअंचल बिश्व बिद्यालय, पोखरा बिश्वविद्यालयले गर्न सकिरहेको छैन । अहिले पनि धेरै विद्यार्थीको रोजाईमा त्रिभूवन विश्व विद्यालय बाहेक अन्य विश्वविद्यालयबाट सम्वन्धन पाएका क्याम्पस पर्दैनन् । अन्तराष्ट्रिय तहमा परिचय कमाएको त्रिभूवन विश्व विद्यालयको विद्यार्थी भन्दा गर्भित हुने विद्यार्थीलाई सुदूरपश्चिम विश्व विद्यालय प्रतिको बिश्वास जगाउन निकै गाहे हुन सक्छ । पुराना विश्व बिद्यालयले पढाई गरिरहेका संकायका पाठ्यक्रम र पाठ्यपुस्तक विद्यार्थीले समयमा नपाउने झन्झट यहाँ पनि रहन सक्छ ।
त्यसैले कैलाली क्याम्पसलाई सुदूरपश्चिम विश्व विद्यालयको आंकिक बनाउने वा नबनाउने भन्ने बिषयमा बौद्धिक छलफल हुनु जरुरी छ । ग्रामिण भेगमा समुदायले चन्दा उठाएर संचालन गरेका, समुदायीक बन, तालतलैयाको आम्दानीबाट संचालन गरेका क्याम्पसको भन्दा कैलाली बहुमूखी क्याम्पसको बिषयमा फरक ढंगले छलफल गरिनु पर्छ । श्रोतसाधनको अभावले बन्द हुने अबस्थामा पुगेका क्याम्पसका लागि भने सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पस हुन पाउनु समुदायलाई संचालनको दृष्टीले सजिलो हुने छ । अहिले कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम बिश्व विद्यालयको आंगिक बनाउने कुरो सरकारी जागिरको स्वार्थ संग जोडिएर उठाईएको हो भने त्यसले कालान्तरमा डोटी क्याम्पस र डडेल्धुरा शिक्षा क्याम्पसको हालत बनाउन सक्छ । जहाँ विद्यार्थीहरु भन्दा प्रध्यापकहरुको संख्या धेरै छ । क्याम्पसमा बहालै हुदा प्रध्यापकहरु दलका उम्मेदवार र अमुख पार्टिका पदाधिकारी हुन्छन् । त्यसैले लहडमा लाग्नु भन्दा बौद्धिक बहसले यो बिषयलाई किनारा लगाउनु जरुरी छ ।