‘संविधान कार्यान्वयन मुख्य दायित्व’

बिहीबार असोज ४, २०७५/ Thursday 09-20-18
Paschim Today

धनगढी, ४ असोज । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानको कार्यान्वय गर्नु वर्तमान सरकारको मुख्य दायित्व भएको बताएका छन् ।
संविधान दिवस मूल समारोह समिति प्रदेश नं ७ ले आयोजना गरेको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री भट्टले संविधानमा भएका व्यवस्थाहरुको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
 उनले भने–‘हाम्रो संविधान विश्वमै उत्कृष्ट छ भनेर मात्रै हुदैन त्यसको उपभोग गरेर हरेक नागरिकले अधिकार सम्पन्न बन्नु पर्छ ।’
नेपालको संघीयता तीनै तह सरकारको सह अस्तित्व सहितको संघीयता भएको बताउँदै मुख्यमन्त्री त्रिलोचन भट्टले यसको कार्यान्वयनका लागि पनि समन्वय आवश्यक रहेको छ । संविधानको कार्यान्वयनले मात्रै समाजमा रहेको विभेद, कुरीतिको अन्त्य हुने मुख्यमन्त्री भट्टले बताए । समाजमा घरेलु हिंसा, सामाजिक र लैङ्गिक बिभेद रहेको मुख्यमन्त्री भट्टले बताए । उनले भने–‘अबसमाज परिवर्तनका लागि जनप्रतिनिधिहरु लाग्नुपर्छ ।’
संविधान दिवस मूल समारोहमा स्वागत मन्तव्य राख्दै प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले तीनै तहको निर्वाचनपछि संघीयताले एउटा आकार लिएको बताए । उनले भने–‘तीनै तहका सरकारले अहिले कानून निर्माण गर्ने काम पनि गरिरहेका छन् ।’
संविधान दिवस समारोहमा प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लको पनि सहभागिता रहेको थियो । उनलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । त्यसैगरी कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, धनगढी उपमहानगरपालिकाका प्रमुख, मन्त्रालयका सचिव तथा कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।  संविधान दिवसको अवसरमा विहान प्रभातफेरि समेत गरिएको थियो ।