Close This

तरकारी खेतीले फेरियो महिलाको दैनिकी

बिहीबार असोज ४, २०७५/ Thursday 09-20-18
Paschim Today

डडेल्धुरा, ३ असोज । तीन वर्ष अघिसम्म दाउरा बिक्री र मजदुरी गरेर विहान साँझको छाक टार्ने रत्ना ऐर पछिल्लो समय दिनहुँ ७ क्वीन्टल भन्दा बढी तरकारी बिक्री गर्छिन । विहान झिसमिसेमा जंगलबाट दाउरा ल्याउनु र १० किलोमिटर दूरीमा रहेको सदरमुकाममा बिक्री गर्नु उनको दैनिकी थियो । गाउँमा सामूहिक तरकारी खेती सुरु भएपछि उनको दैनिकी परिवर्तन भएको हो । 
शोभादेवी पनि ३ वर्ष यता तरकारी कृषक बनेकी छिन । उनी पनि दैनिक १० क्वीन्टलसम्म तरकारी बिक्री गरेर मनग्य आम्दानी गरिरहेकी छिन । यस अघि परम्परागत खेतीपाती गर्ने शोभा पनि दाउरा बिक्री र मजदुरी गरेर गुजारा गर्ने मध्ये एक हुन । शोभा र रत्ना जस्ता ४२ जना महिलाको तरकारी खेती समूह रहेको छ । 
समूहमा २२ वर्षीया युवती देखि ६८ वर्षीया बृद्धासम्म रहेका छन । सबैले मिलेर काम गर्न थालेपछि समयको पनि बचत भएको  र गाउँमा सदभाव पनि बढेको समूहमा आबद्ध महिलाहरुले बताएका छन । बिगतमा गाउँमा हुने सामान्यखाले झैझगडा पनि बन्द भएका छन । 
शोभा र रत्ना मात्र नभइ अमरगढी नगरपालिका वडा नम्बर १ भेटाका ३७ परिवारका महिलाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत तरकारी खेतीका लागि तालिम र प्राविधिक सहयोग पाएपछि उनीहरुको जीवनशैली फेरिएको हो । हरेक परिवारले ५ देखि १० रोपनी जमिनमा सामूहिक तरकारी खेती गरेका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासंगै उनीहरुलाई अमरगढी नगरपालिकाको कृषि शाखाले पनि सहयोग गरिरहेको छ । बीउ बिजन, प्राविधिक सहयोगदेखि समय समयमा आवश्यक परामर्श मात्र होइन तरकारी ढुवानी गर्न परियोजनाले गाडी समेत उपलब्ध गराएको छ ।
‘गाउँबाट दैनिक २ वटा गाडीमा ५० क्वीन्टल तरकारी निकासी हुन्छ’ कृषक रत्नादेवीले भनिन ‘दुइ वर्षमा २ करोड बढीको तरकारी बिक्री गरिसकेका छौं ।’ झण्डै दुई सय रोपनी जग्गामा सामूहिक रुपमा तरकारी खेती गरिएको उनले बताइन । 
रत्नाले भनिन–‘तरकारी खेती सामूहिक हुन्छ तर बिक्री गर्दा आफ्नो आफ्नो जमिनमा फलेको  तरकारी टिपेर बिक्री गर्ने गरेका छौं ।’ यसले सामूहिक रुपमा काम गर्ने अभ्यास पनि भएको छ भने एक्ला एक्लै गरेको खेती भन्दा तेब्बर बढी उब्जनी हुने गरेको उनले बताइन ।  एक्ला एक्लै तरकारी खेती गर्दा हुने समस्या पनि नहुने र सवैले मिलेर काम गर्दा धेरै फलदायी भएको रत्नाले बताइन ।
महिलाहरुको समूहले उत्पादन गरेको तरकारी अहिले धनगढी, महेन्द्रनगर हुँदै नेपालगंजसम्म पुग्ने गरेको छ । दुइ वर्षयता महिलाको उक्त समूहले सबैभन्दा बढी टमाटार उत्पादन गरेका छन । टमाटारसंगै आलु, सिमी, काउली, सिमला मिर्च, भन्टा, भिन्डी उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका हुन ।
परम्परागत रुपमा लगाइने धान, गहुँ र मकै बंदेलसंगै अन्य जंगली जनावरले सखाप गर्न थालेपछि तीन वर्ष अघिदेखि उनीहरुले खेतीपाती गर्न छोडेका थिए । स्थानीय शोभादेवी ऐरले भनिन–‘बँदेल लगायतका जंगली जनावरका कारण गाउँको सबै जग्गा बाँझो थियो ।’ 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि वांझो जमिनमा सामूहिक तरकारी खेती सुरु गरिएको हो । यस वर्षमात्र उनीहरुले दैनिक ५० क्वीन्टल तरकारीका दरले एक करोडको तरकारी बिक्री गरिसकेको उनले बताइन । गत वर्ष सबैै मिलाएर १ करोड २० लाख भन्दा बढीको तरकारी बिक्री गरेका थिए । 
जिल्लामा लामो समयदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएका कृषक भन्दा महिलाहरुको समूहले उदाहरणीय रुपमा तरकारी खेतीबाट आम्दानी गर्न सफल भएका छन । अमरगढी नगरपालिका कृषि शाखाका एक कर्मचारी टेकबहादुर बिष्टले भने–‘भेटा गाउँ तरकारी खेतीका लागि नमूना गाउँ बनेको छ ।’ 
थोरै लगानीमा धेरै उत्पादन हुन थालेपछि अन्य गाउँमा पनि सामूहिक तरकारी खेतीतर्फ कृषकहरु आकर्षित हुन थालेको पनि बिष्टले बताए । नगरपालिका सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उत्पादनमा मात्र ध्यान नदिइ बजार व्यवस्थापन र उत्पादनको उचित मूल्यको समेत व्यवस्थापन गर्न थालेपछि कृषकहरु काम गर्न उत्साहित भएको उनले बताए ।