अमेरिकामा ख्याती कमाएका बझाङ्गी भूगोलविद्

SITENAME

दीर्घराज उपाध्याय ।

८० वर्षअघि बझाङको व्यासी गाँउ पञ्चायत (हाल छविस पाथिभेरा गाँउपालिका) को तामाखानीमा कहलिएका एक व्यापारी थिए, भानुभक्त जोशी । साहुजी–उनको परिचय थियो ।कतिपयले पसले भन्थे । नामले कमैले चिन्थे ।  साहुजी भनेपछि नचिन्ने कमै हुन्थे । उनको पसल थियो । अहिलेको डिपार्टमेण्टल स्टोर जस्तो । जहाँ नुनदेखि सुनसम्म पाईन्थ्यो । गाँउमा कोही बिरामी हुदा ओखती पाईने ठाँउ पनि त्यही पसल थियो । उनले जडिबुटी बनाउथे । तिनै साहुजीका दुई छोरा र तीन छोरी थिए । जेठा थिए, तुलसीराम जोशी ।

भनिन्छ, उनीहरु काठमाण्डौंका रैथाने नेवार जोशी थिए । व्यापार जसको पुस्तैनी पेशा थियो । बझाङी राजाले उनका पुर्खालाई व्यापारका लागि काठमाण्डौंबाट ल्याएका थिए ।    तुलसीरामका हजुरबुवा उद्धवभक्त तामाखानीमा व्यापार गर्थे । त्यतिबेला तामाखानी बझाङको केन्द्र थियो । बझाङी राजाको दरवार त्यहि थियो । अदालत, माल अड्डा र जेल पनि त्यही । उनका बुवा भानुभक्त तामाखानीमै जन्मिए । त्यही हुर्के । र त्यही व्यापार सम्हाले । ठूलो बुवा देवीभक्तले चैनपुरमा व्यापार फैलाए । व्यापारकै सिलसिलामा डोटी सिलगढी पुगे, साहिलो बुवा । तामाखानीमा चार घर थिए । एक घर भानुभक्त जोशीको ।  भट्टका दुई घर । र एक घर बोगटीको ।

देशकै बिकट बझाङको तामाखानीमा ८१ वर्षअघि जन्मिएका तुलसी राम बझाङबाट पढ्न नेपाल पुगे । त्यतिबेला काठमाण्डौंलाई नेपाल भनिन्थ्यो । र नेपाल जाने कुरा बझाङीका लागि सपना जस्तै । सपनाको आयतन र उचाई गौण हुन्छ । जव ईच्छाशक्ति मजबुत हुन्छ । ईच्छा शक्ति भए असम्भव र पुरा हुन नसक्ने सपना केही छैन । तुलसीरामले यो कुरा सावित गरे । पढ्ने सपनाले बझाङबाट काठमाण्डौं पुगे । र काठमाण्डौंबाट अमेरिका । ५४ वर्षअघि अमेरिका पस्दा त्यहाँ मुस्किलले १५ जना नेपाली थिए । राजा जयपृथ्वी बहादुरसिंहपछि अमेरिका पुग्ने उनी दोस्रो सुदूरपश्चिमेली बने ।

साहुजी पिताको सोच थियो– छोरो पढोस । तर पढेर साहुजी नै बनोस । उनको सोच भने बेग्लै थियो । उनी त एउटा परिधि र भूगोलमा खुम्चिएर बस्ने मध्येका थिएनन । बझाङका आम जनताको भन्दा उनको सपना फरक थियो । शिवखेडाले भनेका छन्, जित्ने मान्छे कुनै अलग काम गर्दैन । उ हरेक काम अलग ढंगले गर्छ । तर तुलसीरामको भने काम पनि अलग थियो । काम गर्ने तरिका पनि अलग । त्यही अलग काम । र काम गर्ने अलग तरिकाले उनले अमेरिकामै अलग पहिचान भए । उनको कठिन संघर्ष र मिहिनेतको प्रतिफल । भूगोल विषयमा विद्या वारिधी (पिएचडी) गरे । बझाङ तामाखानीको कहलिएको साहुजीको छोरो अमेरिकामा कहिलिएको भूगोलवीद भए । प्रा.डा. तुलसीराम जोशी उनको नयाँ परिचय बन्यो । त्यतिमात्र होईन, अमेरिकाको पश्चिम भजिर्नियामा अलग पहिचान बनाए ।  उनले बनाएको ईतिहास र हासिल गरेको सफलता बिकट बझाङमा जन्मिएको एउटा सामान्य परिवारको छोराका लागि सगरमाथा भन्दा अग्लो छ ।   

स्मृतिमा तामाखानी

छ बीस दरा । उहिलको बझाङको शक्ति केन्द्र थियो । अहिलेको छविस पाथिभेरा गाँउ पालिका( यसअघि व्यासी,कडेल र मटेना गरी तीन वटा गाँउविकास समिति) ले ओगटेको भूगोल नै छ बीस दरा हो ।

पहिले बझाङी राजाको दरवार मेल्लेक (हाल जयपृथ्वी नगर) थियो । जसलाई जयपृथ्वी बहादुर सिंहले बनाएका थिए । मेल्लेकबाट हिमालहरु प्रष्टैसंग देखिन्थे । सधै जनतामाझ रहेका राजा पछि सुरक्षाका दृष्टिकोणले कोटमा सरे । मेल्लेकबाट पश्चिममा मुम्ला । मुम्लाबाट मोतई । मोतईपछि पाटा गाँउ । पाटागाँउको पश्चिम, बान्नीचौरको मुन्तिर पाताल चौर । बाटोको मुन्तिर बाहुन गाँउ । बाहुन गाँउबाट सोझै तामाखानी जाने एउटा बाटो छ । अर्को बाटो पाताल गाँउबाटै सोझै गएपनि तामाखानी पुगिन्छ । तामाखानी भन्दा केही मुन्तिर सत्यवादी पाठशाला । पाठशाला छेउमै कारागार । कारागारबाट पश्चिम केही मुन्तिर १० मिनेटको दूरीमा दलितवस्ती । त्यही वस्तीभन्दा केही पल्तिर ठिंग उभिएको पहाड । र त्यो पहाडको टाकुरामा थियो, बझाङी राजाको कोट । कोट जाने एउटा मात्र बाटो थियो । दुइ तिर भीर । एकतिर जंगल । राजा ओमजंग शिकार खेल्न मन लागे, जंगल पस्थे । चराहरु उडाउथे । र उड्दै गरेका चराहरुलाई निशाना लगाउथे । भनिन्थ्यो, राजा ओमजंगको निशाना अचूक हुन्थ्यो । बन्दुक पड्कियो । चरा भुईमा खस्यो ।

८१ वर्षको उमेरमा पनि तुलसीरामको स्मृतिमा तामाखानी मात्र होईन, बझाङी राजासंग जोडिएका धेरै यादहरु पनि ताजै छन्, उनी सुनाउछन्, राजा बाहिर निस्किदा एक जना राजाको सहयोगी हुन्थ्यो, जसले छाता ओढ्याउथ्यो । चाँदीको डण्डी भएको त्यो छाताको चौडाइ ६ फिट बढि हुन्थ्यो ।

 

राजा जयपृथ्वीबहादुर सिंह उनले देखेनन । उनी त सुनेरै राजा जयपृथ्वी बहादुर सिंहको मानवतावादबाट प्रभावित भएका थिए । पहिलो विश्वयुद्धमा लाखौ मान्छे मारिए । त्यही खवरले राजा जयपृथ्वी बहादुर सिंह बिरक्तिए ।  संसारभरी मानवतावादको सन्देश दिन उनी दरवार छोडेर निस्किए । कोट र राजाको मोह भंग भयो । सौतेला भाई देवीजंगलाई राजपाट सुम्पे । देवीजंगपछि उनका छोरा रामजंग बझाङी राजा भए । र रामजंगको उत्तराधिकारी भए ओमजंग ।

रामजंगले कलकत्ता युनिभर्सिटीबाट हाईस्कुल पास गरेका थिए । ओमजंग लखनउ युनिभर्सिटीबाट स्नातक थिए । दुईटैको अंगेजी राम्रो थियो । भारतमा पढेर आएकाले राजा रामजंग र ओमजंगले शिक्षाको महत्व बुझेका थिए । तुलसीरामले राजा रामजंग देखे । ओमजंग भोगे । उनले नजिकबाट चिन्न र बुझ्न पाएका राजा ओमजंग थिए ।

बझाङमा शिक्षाको शुरुवात

तुलसीरामका पिताजी पढ्न लेख्न जान्ने थिए । पिताजीले भारतबाट ल्याएको चक्रवर्ती गणित घरमै पढेर उनी हिसाव गर्न सक्ने भैसकेका थिए । शिक्षाको महत्व बुझेका पिताले तुलसीरामलाई घर छेउकै सत्यवादी पाठशाला भर्ना गरे । तामाखानीमा चार कक्षाभन्दा माथि पढाई हुन्थेन । ४ कक्षा पास भएपछि तुलसीराम पढ्न सत्यवादी पाठशाला भोपुर पुगे । भोपुर तामाखानीबाट एक दिनको पैदल दूरीमा थियो । उनी भोपुर पढ्थे । भोपुरमै बस्थे । चैनपुरमा रहेको ठूलो बुवा देवीभक्तको घरमा खाना खान्थे । ठूलो बुवाको घरमा खाना खाएर करीव घण्टामा उनी भोपुर पुग्थे ।

चार कक्षामा भर्ना भए लगत्तै उनी औलोले थला परे । औलो भएपछि राजा रामजंगले उनलाई उपचारका लागि घर पठाए । झण्डै ६ महिना उनी स्कुल जान पाएनन । औलोबाट तंग्रिएपछि स्कुल फर्किदा उनका कक्षाका सहपाठीहरुले पुरै कोर्स पढिसकेका थिए । उनलाई शिक्षक रामदत्त अवस्थीले हिम्मत दिए । अंगे्रजी र गणितमा उनी तेज थिए नै । डेढ महिना शिक्षक अवस्थीले अतिरिक्त पढाएपछि भने उनको हौसला बढ्यो । परीक्षा आयो । उनले परीक्षा दिए । पास भए ।

शिक्षकले डवल कोर्स लिनेहरुको सूचि बनाए । पाँच जना विद्यार्थीले सूचिमा नाम समावेश गरे । तुलसीरामले गरेनन । एकै पटक एक कक्षा नपढेर माथि उक्लिनुलाई डबल कोर्स भनिन्थ्यो । राम्ररी पढ्न नपाएका उनले एक कक्षा नपढेर माथि उक्लिन चाहेनन । शिक्षक रामदत्त अवस्थीले उनको पढाई देखेका थिए । डेढ महिनामा पाँच महिनाको कोर्स पढ्न सक्ने तुलसीरामले डवल कोर्सको क्षमता राख्छन भन्ने अवस्थीको विश्वास थियो । पाँच कक्षामा पास भएका उनलाई अवस्थीले एकै पटक सात कक्षामा भर्ना गरिदिए । यसरी ६ कक्षा नपढेर सातमा भर्ना भए । उनी सहित ६ जना एकैपटक सात कक्षामा पुगे ।

७ कक्षाबाट पास भए । एसएलसी दिने समय आउन दुई वर्ष बाँकी थियो । शिक्षक अवस्थी नेपालको एसएलसीका बारेमा जानकार थिएनन । उनले भारतबाट एसएलसी दिलाउने सोच बनाए । र ८ कक्षामा भारतीय पाठ्यक्रम पढाउन थाले । एक वर्ष सबैले हिन्दी भाषाका पाठ्यक्रम पढे ।

त्यही बेला राजा रामजंगका छोरा ओमजंग एसएलसी दिएर काठमाण्डौंबाट आए । उनले काठमाण्डौंबाटै एसएलसी दिने व्यवस्था मिलाउछु भनेपछि हिन्दी पढाई बन्द भयो । शिक्षक रामदत्त अवस्थीसंग बिबाद भएपछि राजा देवीजंगका भित्रेनी पट्टीका छोरा गगन जंग बहादुर सिंह पढ्नका लागि काठमाण्डौं गएका थिए । उनी पद्मोदय हाईस्कुलमा पढथे । उनी काठमाण्डौं जानु पनि तुलसीरामको व्याचका लागि राम्रो भयो । काठमाण्डौंबाट गगनजंगले एसएलसीको पाठ्यक्रम मात्र पठाएनन । उनले एसएलसी दिन काठमाण्डौं आउन सल्लाह दिए । गगनजंगकै सल्लाह र जानकारीको भरमा हामीले काठमाण्डौं जाने निधो ग¥यौ, उनी भन्छन्, एसएलसी दिन काठमाण्डौं जानुमा गगन जंगको ठूलो हात रह्यो ।

एसएलसीका लागि फाराम भर्नुपथ्र्यो । र फाराममा फोटो चाहिन्थ्यो । बझाङमा त्यतिबेला फोटो स्टुडियो थिएनन । न त कसैसंग क्यामेरा नै थिए । चिनियाहरुलाई निगरानी गर्न भोपुरमा भारतले चेकपोष्ट राखेको थियो । त्यो चेकपोष्टमा आकाशवाणी सुबिधा थियो । क्यामेरा र प्रिन्टरको व्यवस्था पनि थियो । त्यही चेकपोष्टका कर्मचारीले फोटो खिचेर प्रिन्ट गरिदिए । उनीहरुलाई निकै राहत भयो । त्यो चेकपोष्ट पछिसम्म थियो ।

एसएलसी दिने समय आयो । नेपाल जान सात जनाको टोली तयार भयो । पाँच विद्यार्थी । एक जना शिक्षक । र सातौ थिए, तुलसीरामका पिताजी । उनीहरु बझाङबाट टनकपुर पुगे । त्यहाँबाट अमलेखगञ्ज । अमलेखगञ्जबाट हेटौडा । त्यहाँबाट थानकोट हुदै १५ दिनमा काठमाण्डौं । उनले सुनाए, बझाङबाट टनकपुर पुग्न ८ दिन लागेको थियो ।

बझाङबाट काठमाण्डौं एसएलसी दिन जाने उनीहरुको पहिलो व्याच थियो । जसमा स्थीरजंग बहादुर सिंह, तुलसीराम जोशी, गगन बहादुर सिंह, दीर्घराज जैसी र मान बहादुर सिंह थिए । यद्दपि राजपरिवारका सदस्यले उनीहरुभन्दा अघि नै काठमाण्डौं गएर एसएलसी दिईसकेका थिए । तुलसीराम एसएलसीमा आफ्नो व्याचमा टप भए । फेल भएका स्थिरजंगबहादुर पनि पछि पास भए । उनले एमए गरे ।

बझाङी राजाको शिक्षा मोह

बझाङी राजा उदार थिए । शिक्षा प्रेमी थिए । जनताको दुःख सुख हेर्थे । कोही अन्यायमा नपरुन राजा चिन्ता गर्थे ।

बझाङमा शिक्षाको जग राजा जयपृथ्वी बहादुर सिंहले बसाले । त्यतिबेला न स्कुल थिए । न त पाठ्यक्रम । राजा जयपृथ्वी बहादुर सिंहले वि.स.१९५८ मा अक्षरांक शिक्षा नामक पुस्तक प्रकाशन गरे । बालबोध, ज्ञानमाला,श्रेस्ता दर्पण, पदार्थ तत्वबोध, भूगोल शिक्षा,प्राकृतिक व्याकरण,शिक्षा दर्पण,तत्व प्रशंसा, व्यवहार माला लेखे । वि.स.१९६२ मा काठमाण्डौंको नक्सालमा रहेको निवासमा सत्यवादी पाठशाला खोले । जनताका छोराछोरी पढ्न थाले । राणाहरुलाई यो कुरा मन परेन । उनले बझाङको तामाखानी, मेल्लेक र भोपुरमा सत्यवादी पाठशाला खोले । भारतको पिथौरागढको अस्कोटबाट शिक्षक रामदत्त अवस्थीलाई ल्याए । अवस्थी राजाको आग्रहमा सरकारी जागीर छोडेर आए । 

अवस्थीले सत्यवादीपछि केही वर्ष डोटीमा पढाए । तर त्यहाँबाट उनी फेरि बझाङ गए । बझाङ जादा उनलाई फर्काउन डोटीबाट केही विद्यार्थी पनि संगै गएका थिए । तर उनी फर्किन माननेन । उनको राजा जयपृथ्वीसंग भावनात्मक सम्बन्ध थियो । र फेरि बझाङमै पढाउन थाले । बझाङको शिक्षाको विकासको ज्योती थिए, रामदत्त अवस्थी । उनी बिना बझाङको शैक्षिक विकासको चर्चा अधुरो हुन्छ ।

राजा जयपृथ्वी बहादुर सिंहपछि उनका सन्तानहरुले बझाङको शैक्षिक विकासमा ईटा थपे । शिक्षामा सरकारी सहयोग थिएन । शिक्षकको तलव खुवाउन गाह्रो भयो । राजा ओमजंगले पाठशाला चलाउन गाह्रो भएपछि गाँउ गाँउमा चन्दा उठाए । खेतमै गएर धान उठाए । विद्यार्थी र स्थानीयले राजालाई साथ दिए । त्यो ईतिहासका साक्षी जोशी भन्छन्, राजाले धान बेचेर शिक्षकलाई तलव खुवाए ।

राजा ओमजंग विद्यालयको पढाईका बारेमा बुझ्थे । तिमीले के पढ्यौ, एकदिन राजाले सोधे । रविन्द्रनाथ टैगोरको एउटा च्याप्टर पढ्न लगाए, जोशी भन्छन्, जुन च्याप्टर पढ्न पर्दैन भनेर हामीलाई शिक्षकले पढाएकै थिएनन ।

पूर्बाधार र शिक्षकको तलवमा मात्र राजाको चिन्ता हुन्थेन । विद्यार्थी के पढिरहेका छन् ? कसरी पढिरहेका छन् ? राजा ओमजंगले सधै चासो राख्थे । ओमजंग सरल थिए । सहज थिए । बझाङी जनता शिक्षित भएको हेर्न चाहन्थे । र जनताका समस्यालाई आफ्नै समस्या ठान्थे ।

बझाङी राजाका मेल्लेक, तामाखानी, चैनपुर, भोपुरमा दरवार थिए । चैनपुरको दरवारलाई हात्तीसार भनिन्थ्यो । जहाँ हाल जिल्ला प्रशासन कार्यालय छ । भोपुरमा केशरजंग बहादुरको दरवार थियो । राजा ओमजंग विद्यालयको अवस्था सुधारका लागि त्यही विद्यालयको एउटा कोठामा धेरै समय बसेको जोशी सुनाउछन् ।

उनी काठमाण्डौमा पढ्दै थिए । राजा ओमजंग मारिएको खवर सुने । त्यो खवरले उनी अत्यन्त दुःखी भए ।

त्यो सत्यवादी पाठशाला

भोपुरको सत्यवादी पाठशाला तिन तलाको थियो । पहिलो तलामा चार वठा कोठा । तीन वटा बरण्डा । दोस्रोमा पनि चार वटा कोठा । तीन बरण्डा । तीन वटा कोठामा विद्यार्थी सुत्थे । एउटा शिक्षक रामदत्त अवस्थी । सबैभन्दा माथिल्लो तलामा खाना खान्थे ।

दिउसो माथिल्ला कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई पढाउथे । राति माथिल्लो कक्षाका विद्यार्थीलाई शिक्षकले पढाउथे । बिजुली थिएन । सल्लाको झरोको उज्यालोमा राति अवेरसम्म पढ्थे । बिहान त्यो झरोको असर देखिन्थ्यो । विद्यार्थीहरुको नाकबाट कालो धुवा आउथ्यो ।

शिक्षकको अभाव थियो । शुरुमा रामदत्त अवस्थीले एक्लै पढाए । विद्यार्थीहरुलाई बरण्डामा राखेर पढाउथे । र कहिल्यै चौरमा पढ्थे । ढुंगाको सिलेट र चुनको चकले विद्यार्थीहरु पढ्थे । हप्ता दिनमा एक पटक विद्यार्थीहरुले चौर सफा गर्थे ।

माथिल्लो कक्षामा विद्यार्थीको संख्या कम थियो । ८ कक्षामा ६ विद्यार्थी थिए । छात्र थिए । छात्रा थिएनन । तर पछि स्थानीयले छोरीलाई पढाउन थाले  । राजपरिवारका छोरीहरुसंग जनताका छोरीहरु पाठशाला आउन थाले । वि.स.२०१४ सालतिर पाठशालामा ७÷८ जना छात्रा थिए । विद्यार्थीको संख्या ४० को हाराहारीमा । विद्यार्थीको संख्या बढेपछि शिक्षक रामदत्त अवस्थीले भारतबाट तीन जना शिक्षक थप ल्याए । एक जना उनका नातेदार थिए ।

कक्षा १० मा विज्ञान विषय थियो । तर पढाउने शिक्षक थिएन । शिक्षक नहुदा विज्ञानको सट्टा विथार्थीहरुले सामान्य ज्ञान विषय लिए । र एसएलसीमा त्यही विषयको परीक्षा दिए ।

सन १९५० मा टोनी हेगन बझाङ आएका थिए । हेगनले सत्यवादी पाठशाला समेत अवलोकन गरेका थिए । उनी बझाङ आउने पहिलो विदेशी थिए ।

साहुजीको छोराको पढ्ने सपना

उनका पिताजी साहुजी थिए । छोरा केही पढोस । अनि व्यापार सम्हालोस भन्ने चाहन्थे ।  तर उनी भने पढ्न चाहन्थे । उनको एउटै सपना थियो । पढ्ने । पढ्ने । मात्र पढ्ने ।

एसएलसीसम्म त ठिकै थियो । एसएलसी पास भएपछि उनले थप पढ्ने ईच्छा व्यक्त गरे । र त्यसका लागि उनको रोजाई थियो–नेपाल । त्यतिबेला काठमाण्डौंलाई नेपाल भनिन्थ्यो । पिताजी नेपाल पठाउन अनिच्छुक । उनले जिद्दी गरे । छोराको हठका अघि पिताजी गले । पिताजीले हुन्छ भने । खुशीले उनको खुट्टा भुईमा रहेनन । यद्दपि अन्तिमसम्म नेपालभन्दा नजिक भएकोले उनका पिताजीले छोरा नैनिताल पढोस भन्ने चाहेका थिए । उनका पिता व्यापारका सिलसिलामा बझाङबाट ब्रह्मदेव पुग्थे । टनकपुर पुग्थे । किनमेलका लागि ब्रह्मदेव पुग्दा छोरालाई भेट्न सजिलो हुने उनको भित्री मनशाय थियो ।

नेपालको भूगोल भित्र बझाङ त थियो । तर बझाङका लागि त चन्द्रमा नजिक, सूर्य नजिक, जसलाई छुन नपाए पनि हेर्न त पाईन्थ्यो । जसलाई लिएर कल्पना गर्न त पाईन्थ्यो, तर काठमाण्डौं त न हेर्न मिल्ने । न टेक्न मिल्ने । यस्तो लाग्थ्यो, बझाङका मान्छेका कुनै सपना थिएनन । जन्मिनु । मर्नु । बस यही प्रकृया चलिरहेको थियो । जीवनको यो प्रकृयामा पढ्ने, नेपाल जाने सपना कही पर्थेनन । 

सपना देख्नु पनि अपराध जस्तो । जिन्दगी नै श्यामश्वेत भएपछि रंगिन सपना कसले देख्ने ? जिन्दगी दुःखसुखको ईन्द्रणी हो । तर उनीहरुको दुःखसुखको ईन्द्रणी कहिल्यै रंगिन भएन ।

तुलसीराम भने अपवाद थिए । उनी सपनाको ईन्द्रेणी छुन चाहन्थे । उनले आफ्नो सपनाको ईन्द्रेणीमा आफैले रंग भरे । र तिनलाई आफैले रंगिन बनाए ।

उनको सपनाको उडान बझाङबाट काठमाण्डौं पुगेर पनि थामिएन । र उनी पुगे, सपनाको देश अमेरिका ।

काठमाण्डौंको संघर्ष

उनी पढाईमा अब्बल थिए । उनको ध्यान पढाईमा हुन्थ्यो । त्रिचन्द्रबाट आईएस्सी गरेपछि उनले जागीर पाए, आफैले पढेको कलेजमा । आईए पढ्दा उनी बझाङी राजाको नक्सालमा रहेको दरवारमा बस्थे । उनका अभिभावक थिए,हरी बहादुर थापा । पैसाको समस्या परे उनका पिताजीले भोपुरमा रहेको भारतीयहरुको चेकपोष्टमा दिन्थे । चेकपोष्टमा बुझाएको पैसा उनले काठमाण्डौंमा रहेको भारतीय दुतावासमा गएर पाउथे । त्यसरी उनी आईए पास भए ।

बीएको पढाईसंगै उनले त्रिचन्द्रमा जागीर शुरु गरे । ल्याव डेमोनस्टे«र । मासिक तलव दुई सय रुपैया । उनी ट्युसन पनि पढाउथे । उनको डेरा कमलपोखरीमा थियो । साघुरो कोठा  । एक खटिया र एक सानो स्टुल मात्र अट्ने । बेडमै बसेर पढ्ने । बेडमै बसेर गृहकार्य गर्ने । सुत्ने र पढ्ने त्यही एउटा बेड थियो । मासिक कोठा भाडा थियो, १० रुपैया । घरबेटीले घर भाडा बृद्धि गरे । १२ पु¥याए । उनले भने–मान्दैन । घरबेटी पछाडि हटे । भाडा पूर्ववत भयो ।

एमएम पढ्दा उनी काठमाण्डौंमा जमिसकेका थिए । काठमाण्डौंका रैथानेहरु उनका साथी भईसकेका थिए । मंगलसिद्धी मानन्धर, रत्न सम्शेर राणा, दमननाथ ढुंगानाहरु उनका सहपाठी थिए । पढ्नेक्रममा उनी झण्डै एक वर्ष ढुंगानाको घरमा बसे ।

रत्न सम्शेर उनीसंगै छात्रबृति पाएर अमेरिका पुगे । अमेरिका बसाईका क्रममा राम्रो सम्बन्ध रहेका शरचन्द्र शाहले उनी छोरी र पत्नी सहित सन १९८७ मा काठमाण्डौं आउदा भव्य पार्टी दिएका थिए । जसमा बिभिन्न देशका राजदुत समेत सहभागी थिए ।

अमेरिकाको संघर्ष

उनले जिन्दगीमा धेरै हण्डर खाए । तर उनी कहिले आत्तिएनन ।  छात्रबृति पाएर अमेरिका पुगेपनि उनले नेपालीबाट दुःख पाए । शिक्षा मन्त्रालयले उनको नेपालमा आवश्यकता भएको भन्दै कलेजलाई पत्र पठायो, उनलाई नेपाल फिर्ता पठाउन । उनी त्रिचन्द्रको प्रयोगशालामा डेमोनस्टे«टर थिए । अमेरिका गएपनि उनले त्यो जागीर छोडिसकेका थिएन । शिक्षा मन्त्रालयको त्यो पत्रका कारण युनिभर्सिटीले उनलाई फिर्ता पठायो । उनी पढाई छोडेर काठमाण्डौं आउन बाध्य भए । किर्तिनिधि बिष्ट प्रधानमन्त्री थिए । जसका मातहतमा शिक्षा मन्त्रालय पनि थियो । उनले प्रधानमन्त्री बिष्टलाई भेटे । आफू पढिरहेको बेला बीचमै शिक्षा मन्त्रालयका कर्मचारीले दुःख दिने नियतले फिर्ता पठाउन छात्रबृति दिने ईष्ट वेष्ट सेन्टरलाई पत्र पठाएको गुनासो गरे ।

प्रधानमन्त्री बिष्टले तुलसीरामलाई दुःख दिने ती कर्मचारीलाई जागीरबाट झण्डै बर्खास्त गरेका थिए । उनले नै कारबाही नगर्न भने । बरु भिसामा आफ्नो समयावधी थप्न र अमेरिका फर्किन खर्च उपलब्ध गराई दिन प्रधानमन्त्रीसंग आग्रह गरे । प्रधानमन्त्री बिष्टले उनलाई पत्र मात्र दिएनन । अमेरिकाको आवातजावत भाडा पनि दिलाए ।

बुद्धिमान मान्छे दुश्मनले अवरोध गर्न हानेका ढुंगाहरु जम्मा गरेर सिढी बनाउछ । उनले पनि त्यही गरे । उनी निरन्तर अघि बढिरहे ।

नेपाली विद्यार्थीहरुका अभिभावक

उत्तर अमेरिकामा रहेको नेपालीहरुको पुरानो संस्था एशोसियसन अफ नेप्लिज ईन द अमेरिकाज (एएनए) जसको उनी ३० वर्षअघि कोषाध्यक्ष थिए । त्यो संस्थाको उद्देश्य नेपालको धर्म,संस्कृतिको जगेर्ना गर्ने थियो । नेपालीलाई सहयोग गर्ने थियो । उनको भने एउटै चिन्ता हुन्थ्यो, बझाङको शैक्षिक विकासमा कसरी सहयोग गर्न सकिन्छ ? उनले बझाङका विद्यार्थीहरुलाई छात्रबृति दिन शुरु गरे ।

३० वर्षदेखि देखि बझाङका विद्यार्थीहरुलाई छात्रबृति दिदै आएका उनले यो अबधिमा १५ जनालाई उच्च शिक्षामा सहयोग गरेका छन् । उनको सहयोगमा बझाङका डबल धामी डाक्टर भएका छन् । महेश बहादुर सिंह ईञ्जिनियर छन् । रमिता पुजारा उनकै छात्रबृतिले नर्स भईन । कृतिका सिंह पब्लिक हेल्थमा स्नातक गरिरहेकी छन् । सुरेश राणा उनकै सहयोगमा अमेरिकामा न्युक्लियर अंकोलोजी पढिरहेका छन् ।

उनी आफू मात्र पढेनन । उनले आफ्ना भाई बहिनीहरुलाई पनि पढाए । र आफ्ना नजिकका आफन्तका छोराछोरीलाई पढाउन अमेरिका लगे ।

त्यस्तै नेपालका ४० जनाभन्दा बढि विद्यार्थीलाई छात्रबृति दिएर अमेरिका पढाए । छात्रबृति पाएका अधिकांशले ग्राजुयट गरेका छन् ।

उनले विद्यालयहरुमा समेत अक्षयकोष स्थापना गरेका छन् । शान्तिमावि चौघान पाटालाई बुवा भानुभक्त जोशीका नाममा र बान्नीचौर उच्चमाविमा आमा महालक्ष्मी जोशीका नाममा अक्षयकोष स्थापनाका लागि १२÷१२ लाख रुपैया दिएका छन् । त्यस्तै सत्यवादी उच्च माविमा ठूलो बुवा देवीभक्त जोशीका नाममा  अक्षयकोष स्थापना गर्ने योजनामा छन् ।

आफ्नो कमाईबाट छात्रबृतिमा दुई करोड रुपैया सहयोग गरिसकेका उनले बिभिन्न कलेज तथा युनिभर्सिटिका तर्फबाट नेपाली विद्यार्थीहरुलाई १० करोडभन्दा बढिको छात्रबृति दिलाएका छन् । अमेरिकामा झण्डै ५ लाख नेपाली रहेको अनुमान छ । उनीभन्दा धेरै कमाउनेहरु पनि छन् । तर नेपाल र नेपालीलाई सहयोग गर्न हरदम तयार रहने अपवाद थोरै छन् । जसमध्ये तुलसीराम पनि हुन् ।

सामाजिक संस्थामा सक्रियता

प्रा.डा जोशीले अमेरिकामा थुप्रै संघसंस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरे । नेशनल एड्भाईजरी काउन्सिल फर साउथ एसियन अफेयर्स वासिङटन डिसीको सदस्य रहेर काम गरे । फेयरमाउण्ट सिटीको योजना आयोगको सदस्य भएर काम गरे ।

भारतमा सन २००१ मा उनी भारत भुकम्प पिडित राहत कोष फेयर मण्ट पश्चिम भर्जिनियाको अध्यक्ष भए ।

सन २००४ मा वेष्ट भर्जिनिया कमिसन अन द ईन्टरनेशनल कमिसनको सदस्य रहेर समेत काम गरे ।

उनले काउन्सिल फर जियोग्राफिक एजुकेशन पश्चिम भर्जिनियाका सदस्य, उपाध्यक्ष र अध्यक्ष र कार्यक्रम संयोजक भएर बिभिन्न समयमा काम गरे । एशोसियसन अफ अमेरिकन जियोग्राफर्स, नेशनल जियोग्राफर्स सोसाईटी वासिङटन डिसीका सदस्य उनी  नेपाल जियोग्राफिकल सोसाईटीका संस्थापक सदस्य पनि हुन् ।

छात्रबृति सम्मान

उनी पढाईमा मेधावी थिए । एसएलसीमा आफ्नो व्याचकै उत्कृष्ट । आईए छात्रबृति पाएर त्रिचन्द्रमा पढे । त्यतिबेला भारतको पट्ना युनिभर्सिटि अन्तर्गत नेपालमा पढाइ हुन्थ्यो । उनको आईएको सर्टिफिकेट पट्ना युनिभर्सिटीकै नामबाट छ । स्नातक र स्नातकोत्तर पनि त्रिभुवन विश्वविद्यालयमा छात्रबृतिमै पढे । उनको विषय थियो,भूगोल ।

ईष्ट वेष्ट सेन्टरबाट पूर्ण छात्रबृति पाएर अमेरिका पुगेका उनले पिट्सवर्ग युनिभर्सिटीबाट भूगोल विषयमा पिएचडी(विद्या वारिधी) गरे । पिएचडी गर्दै गर्दा उनले पिट्सबर्ग युनिभर्सिटीमा आंशिक समय काम गरे । पछि क्यालिफोर्निया युनिभर्सिटीमा र पिट्सबर्ग युनिभर्सिटीमा ईन्सट्रक्टर भएर काम गरे । एरिजोना स्टेट युनिभर्सिटी, न्यु फाउण्डल्याण्ड युनिभर्सिटि, सिपेन्सवर्ग स्टेट कलेजमा भिजिटिङ प्रोफेसर, ईन्सट्रक्टर र एसिसटेण्ट प्रोफेसरका रुपमा समेत काम गरे ।

सन १९७० मा  सेन्टर फर ईकोनोमिक डेभलोपमेण्ट एण्ड एडमिनिष्टे«सनको एक वर्षे फेलोसिपमा नेपाल बसे ।

उनले राजा महेन्द्रवाट सन १९६४ मा महेन्द्र विद्या भुषण पाए । एशोसियसन अफ नेप्लिज ईन द अमेरिकाज(एएनए) ले उनलाई संगठनका लागि उत्कृष्ट काम गरेको भन्दै सन १९९१, १९९३ र २००२ मा सम्मान ग¥यो ।

उनले अध्यापन गर्ने युनिभर्सिटि अफ फेयर मण्ट स्टेटले उत्कृष्ट उपलब्धी हात पार्न योगदान पु¥याएको भन्दै १९९५–९६ मा सम्मान ग¥यो । सोही युनिभर्सिटिले उनलाई सम्मान मात्र गरेन । उनको कदर गर्दै चाँदीले कुदिएको सम्मान पत्र युनिभर्सिटिमा राखेको छ ।

उनी सन २०१५ मा प्रेसिडेन्सियल भोलेन्टियर अवार्डबाट सम्मानित भए । नेपाल बाहिर बसेर नेपालको शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई दिईने यो अवार्ड पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सिकागोमा आयोजित एक समारोहमा उनलाई प्रदान गरेका थिए ।

शिक्षा क्षेत्रमा पु¥याएको योगदान वाफत उनी पश्चिम भर्जिनियाका ३ वटा गभर्नरबाट सन २००२,२००७ र २०१२ मा सम्मानित भए । पश्चिम भर्जिनिया स्टेटबाट यति धेरै अवार्ड र सम्मान पाउने उनी पहिलो नेपाली हुन् ।  

सन २०१५ मा उनलाई सिकागोमा द एशोसियसन अफ अमेरिकन जियोग्राफरले सम्मान ग¥यो । भूगोलवेत्ताहरुलाई प्रदान गरिने यो अवार्ड पाउने पश्चिम भर्जिनियाका उनी पहिलो व्यक्ति हुन् ।

साईरस आरभ्यांस अवार्ड फर ईन्टरनेशनल एजुकेशन २०१३ लाई पाँच हजार डलर सहितको पुरस्कार दिएको थियो । जुन शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई राज्यले प्रदान गर्ने सम्मानित अवार्ड हो । त्यसबाहेक पनि उनी थुप्रै सम्मानबाट सम्मानित भएका छन् ।

जीवनको ठूलो हिस्सा फेयरमाउण्ट स्टेट युनिभर्सिटीमा अध्यापनमा विताए । भूगोल बिभागमा उनले सन १९७२ देखि प्राध्यापक २०१५ रुपमा काम गरे । जहाँ उनले १० हजारभन्दा बढि विद्यार्थीलाई पढाए ।

उनले भूगोल सम्बन्धि मात्र नभएर अन्य सामाजिक संस्थाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र सेमिनारमा समेत कार्यपत्र प्रस्तुत गरे । थुप्रै कार्यक्रममा अतिथि वक्ता रहे ।

 

जोशीको बैबाहिक जीवन

उनी अमेरिकामा बस्थे । मन त नेपाली नै थियो । उनले नेपालीसंगै बिहे गर्ने अठोट गरेका थिए । सन १९७० मा फेलोशिप पाएर एक वर्षका लागि नेपाल आएका बेला उनले बिहा गर्न थुप्रै केटीहरु हेरे । अन्तिममा कसैसंग पनि बिहा हुन सकेन । अमेरिका फर्किनुभन्दा एक महिनाअघि उनले असनकी केटीसंग बिहा गरे । बिहापछि दुबै अमेरिका गए । एक वर्षपछि उनीहरुले छोरी जन्मिईन । छोरी जन्मेको केही समयपछि उनकी पत्नी छोरीसंगै काठमाण्डौं फर्किन । उनले अमेरिका फर्किनका लागि एक वर्ष अवधिको राउण्ड टिकट पठाएका थिए । छोरी बिरामी भएकोले उनले छोरीलाई अमेरिका फिर्ता पठाईदिईन । तर दुबैजनाबीच कुरा नमिल्दा उनीहरुको सम्बन्ध बिच्छेद भयो ।  त्यसको केही समयपछि उनले अमेरिकामै म्यारलिनसंग बिहा गरे । उनी स्कुल पढाउथिन । म्यारलिनबाट एक छोरी जन्मिईन । पहिलो पत्नीकी छोरीले पढाई पुरा गरेर । त्यहीको केटासंग बिहा गरिन । र म्यारलिनबाट जन्मिएकी छोरीको बिहा भईसकेको छ । पहिलो छोरीबाट उनका एक नाति र एक नातिनी छन् । दोस्रोबाट भने दुई नाती । म्यारलिन र तुलसीराम दुबै जनाले जागीरबाट अवकाश लिईसकेका छन् । जागीरबाट अवकाश लिएपनि आर्थिक अभाव र गरीवीका कारण पढ्न कठिनाई झेलिरहेका नेपाली विद्यार्थीहरुलाई पढाउने कार्यबाट भने उनीहरुले अवकाश लिएका छैनन ।

जन्मेको माटोको माया

पश्चिम भर्जिनियाको फेयरमाउण्टमा बस्दै आएका तुलसी राम जीवनको उत्तराद्र्धमा छन् । उनलाई अचेल तामाखानीको यादले सताउछ । बझाङको बिकटता उनको आँखामा घुमिरहन्छ । गरीवी,अभाव, अशिक्षा र पछौटेपनले उनलाई चिमोट्छ । ओहो, आफ्नो जन्मभूमिका लागि केही गर्न सकिएन ? बझाङका लागि केही गर्न पाए हुन्थ्यो, उनी घोत्लिन्छन । फनफनी घुमिरहन्छ, आँखामा त्यो सत्यवादी पाठशाला । नोष्टाल्जियाले सताउछ ।

जन्मिएको माटो बिकट हुन सक्छ । तर त्यो माटोसंग जोडिएका यादहरु मेटिदैन, मेटाएर । माटो र पसिनाका यादहरु त आगोका फिलिंगो जस्ता हुन्छन । जसले राप दिईरहन्छ, मन मस्तिष्कमा ।

पढ्ने सपना पुरा गर्न बझाङबाट काठमाण्डौं गए । र त्यहाँबाट अमेरिका त पुगे । उनले ५४ वर्ष नेपाल त छोडे । तर यहाँको यादहरुले उनलाई छोडेनन । उनी अमेरिकाको त्यो सुख सयलमा पनि बझाङ बाँचिरहे । बझाङ साचिरहे ।

उनी बिर्सेका छैनन, बान्नीकी चैतली । तामाखानीको सिरानमा मष्टाको माडु । मष्टाको माडु र पाटागाँउको बीचमा रहेको तोलेनी । उधुमसंग लाग्ने चैतली । डाडैभरी मान्छे । महिषासुरको बधसंग जोडिएको किम्वदन्ती । र त्यसैसंग जोडिएको बान्नीकी चैतली । ५० फिट लामो सल्लाको लिंगो(काकर) तोलेनीको एक किनारबाट घिसारेर अर्को किनारमा पु¥याएर खसाल्न चैतलीमा उर्लिने त्यो भीड । महिषासुरको छाती चिरेर मष्टाको माडुमा लिंगो(काकर) पु¥याउदा मनाईने उत्सव । मेला भर्न आउने राता मान्छेहरु । र ती मान्छेलाई लक्षित गरी थापिएका पसलहरु । अझै पनि उनका आँखामा चैतलीको झल्झली बाँकी छ । अझै ताजै छ, उनका आँखामा, चैतली 

उनी अमेरिका गएपछि काठमाण्डौं पटक पटक आए । तर बझाङ उनी एक पटक मात्र पुगे । उनी काठमाण्डौंमा पढ्दै गर्दा आमाको मृत्यु भयो । अमेरिकामा छदा उनका पिताजीको । अन्तिम पटक उनी २००८ मा नेपाल आएका थिए । उनको धोको त,एक पटक बझाङ जाने छ । तर शारीरीक अस्वस्थताका कारण जान सकिदैन कि ? उनको संशय छ । बझाङ जान नसकेपनि सुदूरपश्चिम टेक्ने उनको ईच्छा छ,भन्छन्, धनगढी त पक्कै आउछु ।

फुलेका केश । बृद्ध काया । शरीरसंगै शिथिल हुदै गएको उत्साह । तर त्यसका बीच यादहरु अझै तन्दुरुस्त छन् । सपनाको उडान भर्दै अमेरिका हानिएको ५४ वर्षपछि मुटुभरी जन्मस्थलको माया उर्लिएको छ, बाउली गाड झै । कति हो कति ।  फर्किन मिल्ने भए उनी फर्किन्थे, त्यही तामाखानीमा । जसको सुगन्ध अझै मेटिएको छैन । मागेर मिल्ने भए उनी त्यो बाल्यकालमा फर्किन्थे । र भन्थे, बुवा म कही जादैन । म पनि साहुजी बन्छु बुवा । तपाईजस्तै साहुजी ।

मलाई माफ गर्नुहोस बुवा । म तपाईले नचाहेरै काठमाण्डौं पुगे । अमेरिका भासिए । तपाईको आशिषले मेरा सबै सपना त पुरा भए । तर मेरा सपना पुरा हुदा खुशी साट्न न साथमा तपाई हुनुहुन्छ । न त त्यो तामाखानी ।

ती पाखा, पखेरा बिर्सेका छैनन, बिर्सेका छैनन, त्यो सत्यवादी पाठशालाको धुलो । जहाँ उनले बाल्यकालका महत्वपूर्ण दिनहरु पढेर बिताए । अलिकति भएपनि आफू जन्मेको भूमिका लागि केही गर्न पाए हुन्थ्यो, जीवनको उत्तराद्र्धमा पनि उनको यो धोको उस्तै छ । र त उनी भन्छन्, जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी ।

 

 

 

 

प्रतिकृया दिनुहोस
SITENAME

सुदूरपश्चिमेली नेपाल समाज कतारको तेस्रो वार्षिकोत्सव र गौरा बिशेष कार्यक्रम सम्पन्न

  दोहा,कतार, ६ असोज । सुदूरपश्चिमेली नेपाली समाज कतारको तेस्रो वार्षिकोत्सव तथा गौरा विशेष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । वार्षिकोत्सव तथा

SITENAME

छाउपडी प्रथा उन्मुलनका लागि कतारमा रहेका सुदूरपश्चिमेली जागे

कतार, ३० भदौ । सुदूरपश्चिमेली नेपाली समाज कतार तेस्रो वार्षिकोत्सव तथा गौरा पर्व २०१८ का अवसरमा छाउपडी प्रथा उन्मुलन गर्न जनचेतनामुलक कार्यक्रम

SITENAME

नेपाली विद्यार्थीको नासामा हलचल

टेकेन्द्र देउवा, सानै देखिको जिज्ञासा राख्ने बानी । त्यही उत्सुकताले डोटी महादेवस्थान गाविस १ हिन्नेकाँडाका २२ बर्षिय लुजेन्द्र ओझालाई नासाका