Close This

माया मेट्रोमा कलेजोको जटिल शल्यक्रिया गरियो

सोमबार असोज ८, २०७५/ Monday 09-24-18
Paschim Today

धनगढी, ८ असोज । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा हालैबाट सञ्चालनमा आएको माया मेट्रो अस्पतालमा दुर्लभ र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । 
    अस्पतालले कलेजोको जटिल र दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेको हो । उक्त शल्यक्रिया दुरबिन प्रविधिबाट भएको थियो । बझाङको सुर्मा गाउँपालिकाकी २२ वर्षीया सेतु बोहराको शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र साउँदले जानकारी दिए । 
    अस्पतालका अनुसार उनको कलेजोमा ठूलो ‘किस्ट’ र त्यसभित्र पानीका स–साना थोपाहरु रहेको थियो । ‘हिडाटाइड किस्ट’ बाट लामो समयदेखि पीडित उनी विभिन्न अस्पतालमा उपचार गराउँदा गराउँदै थकित भएकी थिइन् । पेट दुख्ने, खाना अरुचि हुने र शरीर डुब्लाउँदै जाने समस्याले पीडित उनी अन्ततः माया मेट्रोमा आएर समस्याबाट छुटकारा पाएको साउँदले जानकारी दिए । 
    वरिष्ठ शल्यचिकित्सक डा. विनय तिमिल्सिना र वरिष्ठ एनेथेटिस्ट डा. मोहन भट्टराई सहितको चिकित्सकको टिमले चार घण्टा लगाएर उक्त शल्यक्रिया गरेको थियो । विरामीको जटिल समस्याको सफलतापूर्वक शल्यक्रिया भएपछि उनका आफन्त समेत खुशी भएका छन् । विरामीका आफन्त विनय लामाले जटिल समस्याको शल्यक्रिया धनगढीमै हुँदा ठूलो राहत महसुस गरेको बताए । ‘अब यस्ता शल्यक्रियाका लागि काठमाण्डौं र भारत धाउनु पर्दैन’, उनले भने । 
    डा. तिमिल्सिनाले केही दिन अगाडिमात्रै दुरबिन प्रविधिबाट ‘एपेण्डिक्स’ को सफलतापूर्व शल्यक्रिया गरेका थिए । माया मेट्रो यो प्रदेशमा एक सुविधा सम्पन्न अस्पताल हो ।