Close This

कम्युनिष्ट सरकारले जनभावना अनुसार काम नगरेको आरोप

मंगलबार असोज १६, २०७५/ Tuesday 10-02-18
Paschim Today

धनगढी, १६ गते । विवेकशिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले दुई तिहाइको कम्युनिष्ट सरकारले आठ महिना बित्दासम्म जनभावना अनुसार काम गर्न नसकेको बताएका छन् । 
सरकार दलालको इसारामा चलेकाले सुरुवाती निर्णय कार्यान्वयनमा समेत असफल भएको बताए । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी पुगेका संयोजक मिश्रले दुई तिहाइको सरकारबाट जनताले ठूलो आशा बोके पनि आठ महिना बितिसक्दासम्म जनभावना अनुसार कुनै कामको सुरुवात नभएको दावी गरेका हुन । 
४० वर्षदेखि नेपाली जनताले सही नेतृत्व नपाएकाले जनताका दुख उस्तै रहेको उनले बताए । सरकारमा हुँदापनि नेताहरुले नेता मात्रै बन्न जाने, तर राजनेता बन्न नसकेको उनले टिप्पणी गरे । सरकारले सिण्डिकेट तोड्ने, निर्माणमा ढिलाई गर्ने ठेकेदारलाई कार्वाही गर्ने लगायतका केही सकारात्मक कामको शुरुवात गरेपनि अन्तमा दलालकै इसारामा चल्दा सो निर्णय कार्यान्वयन हुन नसकेको उनको भनाई छ । 
मेडिकल कलेजको विषयमापनि पुरानै सरकार जस्तै यो सरकारपनि मेडिकल माफियाको इसारामा चलेको उनको आरोप छ । संयोजक मिश्रले विवेकशिल साझा पार्टीले इमान्दारीताका साथ काम गर्ने, संगठन बलियो बनाउने र ५ वर्षभित्र जनताको मन जितेर ठूलो पार्टी बन्ने दावी गरे । 
विवेकशिल साझा पार्टी प्रदेश नम्बर ३ प्रदेशसभामा संसदीय दलका नेता रमेश पौडेलले शुरुवाती चरणमै पार्टीले राम्रो संगठन निर्माण गर्न सकेको दावी गरे । इमान्दार व्यक्तिहरु विवेकशिल साझा खोज्दै आइरहेकाले पक्कै पनि ५ वर्षभित्र ठूलो पार्टी बन्ने उनले विश्वास व्यक्त गरे ।
प्रदेशसभामा सरकारले गरेका काम कारबाहीको निगरानी संगै आवाज उठाउँदा सरकार सचेत भएको उनले बताए । त्यस्तै प्रतिनिधिसभा सदनमापनि सरकारलाई सचेत गराउने संसद भएमा सरकारले गलत निर्णय गर्न नपाउने उनले बताए । 
वर्तमान सरकारले दुई तिहाइको दम्भमा कार्यक्रर्ता पाल्ने काम गरिरहेकाले ५ वर्षभित्रै जनताले सरकार ढाल्न सक्ने उनले चेतावनी दिए । ५ वर्षका लागि दुई तिहाइले सरकार गठन भएपनि सरकारका काम जनतालाई सही नसक्नु भएमा जनताले सरकार ढाल्न समेत सक्ने उनको भनाइ छ ।