Close This

एक जना प्रतिपक्षी भएपछि सदन संचालन

बिहीबार असोज १८, २०७५/ Thursday 10-04-18
Paschim Today

धनगढी, १८ असोज । प्रतिपक्षका एक जना सांसद भएपछि संसद बैठक संचालन भएको छ । राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरी सहभागी भएपछि प्रदेश सभा बैठक बसेको हो । संसद संचालनका लागि प्रतिपक्षीको उपस्थिति अनिवार्य मानिन्छ ।
    राजधान सारिएको विरोधमा काँग्रेसले भने बैठक बहिष्कार गरेको छ । बैठक शुरु हुने वित्तिकै काँगे्रस सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि बोल्दै काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सत्ता पक्षले दुई तिहाइ दम्भका आधारमा राजधानी तोकेको बताए ।
    उनले विधि र प्रकृया विपरित निर्णय गरिएकाले आफ्नो पार्टीले त्यसको विरोध गरेको बताए । सत्ता पक्षको दुई तिहाइ बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव पारित गरेको थियो । काँग्रेस र राजपाले उक्त बैठक बहिष्कार गरेका थिए ।
     त्यसयताका बैठक बहिष्कार गर्दै आएको राजपा बुधबारको बैठकमा भने सहभागी भएको छ । संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने भनेर आफूहरु संसद सुचारु गर्ने पक्षमा उभिएको राजपा सांसद चौधरीले बताए । दुई सांसद रहेको राजपाका अर्का सांसद मालामती राना भने बुधबार अनुपस्थित थिइन ।
    विशेष समयमा बोल्दै चौधरीले राजधानीप्रति आफ्नो पार्टीको असहमति रहे पनि संसदलाई बन्धक बनाउन हुँदैन भन्ने पक्षमा आफूहरु रहेको बताए । बुधबार बिहानसम्म काँग्रेसले संसद सुचारु गर्ने बताए पनि एकाएक बैठक बहिस्कार गरेको उनले बताए ।
     राजधानी दुई तिहाई बहुमतबाट पारित भएपछि असोज १४ बोलाईएको बैठक काँग्रेस र राजपा सांसदले रोष्टम घेराउ गरेपछि बैठक स्थगित गरिएको थियो । त्यसपछि असोज १६ गते सहमतिका लागि दुई पटक बैठक सारिदा पनि बैठक बस्न सकेको थिएन । 
    सरकारले सदन सुचारु गर्नेबारे मंगलबार काँग्रेससँग छलफल गरेको थियो । काँग्रेसले भने नाम र राजधानी तोक्ने निर्णय प्रक्रिया र पद्धति विपरित भएको भन्दै सच्याउनुपर्ने बताएको छ ।
    यस्तै संसदमा बोल्दै सामाजिक विकास मन्त्री दीर्घ सोडारीले संसदलाई अनिर्णयको बन्दी नबनाउन प्रमुख प्रतिपक्ष दललाई आग्रह गरे । उनले सविधानको व्यवस्था अनुसार प्रदेश राजधानी तोकिएको बताउँदै काँग्रेसले जनमतको सम्मान गर्नुपर्ने बताए ।
    काँग्रेसले सत्ता बाहिर बस्दाको छटपटाहट देखाउन थालेका आरोप सोडारीले लगाए । संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा अवरुद्ध र बहिष्कार नगर्ने भन्ने गरेको र संसदमा आएर विरोध र बहिष्कार गर्नु केटाकेटीको खेलजस्तो भएको टीप्पणी उनले गरे ।
    सत्तापक्ष र प्रतिपक्ष एउटै डुङगाका यात्रुजस्तै रहेको भन्दै मन्त्री सोडारीले विरोधका लागि मात्रै विरोध नगरी प्रदेशको विकासमा सहयोग गर्न समेत आग्रह गरे ।
    विशेष समयमा बोल्दै सत्ता पक्षका सांसदहरुले दुई तिहाइ जनमतको कदर गर्न काँग्रेसलाई आग्रह गरेका छन् । राजधानीका नाममा जंगलै सखाप पार्ने, चुरे विनास हुनेजस्ता हल्ला गलत भएको सांसदहरुको भनाइ थियो । सांसद कृष्ण सुवेदीले गोदावरी बाघको बाटो भएको भन्ने संचार माध्यममा आएका खबरहरु गलत भएको दावी गरे ।
     दुधुवासँग जोडिएको डोकेबजारदेखि बेलौरीसम्म मानव बस्ती रहेको उल्लेख गर्दै उनले भने, ‘दुधुवाको बाघ गोदावरी कहाँबाट जान्छ, उडेर जान्छ ?’ सांसद लिलाधर भट्टले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले दिएको सांसदलाई आगो लगाउनेजस्ता अभिव्यक्ति खेदजनक भएको बताए ।
    संविधान विपरित अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने उनले बताए । भट्टले दुई तिहाइ जनमतको कदर गर्नसमेत काँग्रेसलाई आग्रह गरे । सांसदहरुले समसामयिक विषयमासमेत आवाज उठाएका थिए ।
     यस्तै बैठकमा सभामुख अर्जुनबहादुर थापाले संसदीय विषयगत समितिको निर्वाचनको मिति घोषणा गरेका छन् । यही असोज २२ गते निर्वाचनको मिति घोषणा गरिएको हो । निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्न उनले सचिवालयले निर्देशन दिए ।