Close This

‘सेवा गुणस्तरीय नहुँदा स्वास्थ्य बीमा प्रभावहीन’

शुक्रबार असोज १९, २०७५/ Friday 10-05-18
Paschim Today
स्वास्थ्य बीमा प्रभावकारी बनाउन प्रदेश स्तरीय छलफल गरिदैं । 

पश्चिम टुडे, धनगढी १९ धनगढी । 
सूचीकृत स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय र प्रभावकारी बन्न नसक्दा सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । 
    बीमा गराए वाफत बिमितले तोकिए अनुसार स्वास्थ्य सेवा नपाएपछि बीमा कार्यक्रमप्रति जनताको उत्साहजनक रुपमा आकर्षण बढ्न नसकेको हो । भनिए अनुसार स्वास्थ्य सेवा पाउन नसक्दा अघिल्लो वर्ष बीमा गराएका बिमितले पछि बीमा सदस्यता नविकरण नगराउने परिपाटी पनि देखिएको बताइएको छ । 
    सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच जिल्लामा बीमा कार्यक्रम लागू भएको छ । प्रदेशभरी एक लाख २४ हजार ६६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सबैभन्दा पहिले २०७२ सालमा लागू भएको कैलालीमा ८० हजार ७२२ जनाले स्वास्थ्य बीमा गराएका छन् । यस्तै, बैतडीमा छ हजार १६६, अछाममा १२ हजार ८७, बाजुरामा १४ हजार ६० र बझाङमा ११ हजार ६२९ जनाले स्वास्थ्य बीमा गराएको कार्यक्रमका प्रदेश संयोजक जनक साउँदले जानकारी दिए ।   
    यसैबीच, बिमित व्यक्तिले बीमा सदस्यता नविकरण नगराउने देखिएको भन्दै सरोकारवालाले चिन्ता पनि व्यक्त गरेका छन् । 
    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको गुणस्तर र स्तरोन्नति नभएकाले स्वास्थ्य बीमामा असर परेको बताए । प्रदेश स्तरीय स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘अस्पतालको सेवा प्रवाहमा गुणस्तर बढ्न नसक्दा बीमा सदस्यले नविकरण नगराउने परिपाटी देखिएको छ ।’
    मन्त्री सोडारीले बीमा गरेका विरामीलाई प्राथमिकता दिएर उपचार गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए । उनले बीमा सदस्यता नवीकरणमा सबैभन्दा बढी ध्यान दिन स्वास्थ्य बीमा बोर्डलाई आग्रह गर्दै भने–‘स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन भने झनै समस्या हुनेछ ।’
    स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन कर्मचारी, प्रदेश मन्त्रालय, सङ्घीय मन्त्रालय सबैको उत्तिकै दायित्व रहेको मन्त्री सोडारीको भनाइ थियो । उनले स्वास्थ्य बीमालाई लक्षित गरेर प्रदेश स्वास्थ्य सुरक्षा संयोजन समिति बनाउन पनि स्वास्थ्य बीमा बोर्डलाई आग्रह गरे । 
    स्वास्थ्य बीमा कार्यक्रम प्रभावहीन देखिनुमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको पनि आफ्नै किसिमको गुनासो छ । विभिन्न स्वास्थ्य संस्था आबद्ध स्वास्थ्यकर्मीले स्थानीय सरकारले पर्याप्त बजेट नछुट्टयाउँदा औषधि खरिद गर्न नै समस्या भइसकेको बताएका छन् । 
    टीकापुर अस्पतालका डा. नरेन्द्रकुमार खनालले सरकारले निःशुल्क दिने भनेको औषधि खरिद गर्नका लागि पर्याप्त पैसा उपलब्ध नहुने गरेको बताए । ‘स्थानीय सरकारले जम्मा पाँच लाख रुपिया बजेट दिएको छ । यसले के नै हुन्छ र ?’ उनले भने । 
    सरकारले स्वास्थ्य संस्थाको मूल्याङ्कन नगरिकनै कार्यक्रम थुपारेको थुपा¥यै गरेको चिकित्सकले बताएका छन् । ‘कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य संस्था कतिको सक्षम छ भनेर मूल्याङ्कन गरिदैन’, डा. खनालले भने–‘तर, कार्यक्रम भने धेरै लागू गर्दै जाँदा समस्या भइरहेको छ ।’
    अस्पताल हाताभित्र सञ्चालन गरिएको फार्मेसीका लागि औषधि खरिद टेन्डर प्रक्रिया साह्रै गाह्रो रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यस्ता विविध समस्याका कारण अस्पतालमा फार्मेसी चलाउन गाह्रो भइ सेवा पनि राम्रो हुन नसकेको उनीहरुको बुझाइ छ । 
    स्वास्थ्य बीमा कार्यक्रमका लागि विभिन्न उपकरण उपलब्ध गराउने तर त्यो सञ्चालनका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि नगर्दा पनि समस्या भइरहेको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रका डा. अश्विनी चौहानले बताए । 
    ‘हामी कहाँ पनि विभिन्न उपकरणहरु आएको छ, तर, दक्ष कर्मचारी नहुँदा त्यतिकै थन्किएको छ’, उनले भने–‘उपकरण दिएपछि काम गर्ने व्यक्तिको क्षमता अभिवृद्धि गर्न पनि जरुरी रहेको छ ।’ स्वास्थ्य बीमा गरेका विरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रले बढी सेवा दिन नसकेका कारण गत आर्थिक वर्षमा मात्र २१ हजार रुपिया आफ्नो संस्थाले दावी गरेको डा. चौहानले उल्लेख गरे । 
    प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा खासै प्रगति नभए पनि कैलालीको जोशीपुर गाउँपालिकालाई सबैभन्दा पहिले पूर्ण स्वास्थ्य बीमा गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको छ । गत आर्थिक वर्षदेखि उक्त गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । तर, छोटो समयमा २० प्रतिशत गाउँपालिकावासीले स्वास्थ्य बीमा गराएको अध्यक्ष रामकृष्ण चौधरीले बताए । 
    लक्ष्य प्राप्तीका लागि सो गाउँपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झन्डै दुई करोड रुपिया बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा मात्रै पाँच प्रतिशत गाउँपालिकावासीले स्वास्थ्य बीमा गराएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म बढेर २० प्रतिशत पुगेको सो गाउँपालिकामा कार्यरत डा.सञ्जय कुमार जयसवालले बताए ।  
यसैगरी, भजनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सुधार आएको नगर स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए । ‘भजनी पीएचसीको आफ्नै फार्मेसी पनि भएकाले स्वास्थ्य सेवामा सुधार आएको छ ।’, उनले भने । 
सेवा प्रदायक स्वास्थ्य संस्थामा देखिएको गुणस्तरी सेवा सम्बन्धीको समस्या सबैको साझा रहेको स्वास्थ्य बीमा बोर्डले दावी गरेको छ । बीमा बोर्डलेमात्रै यसलाई समाधान गर्न नसक्ने बताउँदै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमाशङ्कर प्रसादले तीनै तहका सरकार र सम्बन्धित अस्पतालले भूमिका खेल्नु पर्नेमा जोड दिए ।  
विभिन्न कमीकमजोरी रहे पनि स्वास्थ्य बीमाको विकल्प नरहेको अध्यक्ष प्रसादको भनाइ थियो । ‘जनता स्वस्थ भएनन् भने मुलुक अगाडि बढ्न सक्दैन’, उनले भने ।