Close This

‘शिक्षार्जन गर्न पाउनु सबैको नैसर्गिक अधिकार’

शुक्रबार असोज १९, २०७५/ Friday 10-05-18
Paschim Today

धनगढी, १९ असोज । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ स्थित सामरचौरामा रहेको श्री जनता आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शुक्रवार शिलान्यास गरिएको छ । 
    संघीय संसद सदस्य नारदमुनि राना, प्रदेश सांसद् नेपालु चौधरी र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरे । उक्त भवन कैलारी गाउँपालिका, विल्ड अन नेपाल र जनश्रमदानबाट निर्माण गर्न लागिएको हो । 
    कार्यक्रममा सांसद् नारदमुनि रानाले शिक्षा हासिल गर्न पाउनु सबैको नैसर्गिक अधिकार रहेको बताए । उनले शिक्षाबाट कोही बञ्चित हुन नपरोस भन्दै सरकारले माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको उल्लेख गरे । 
    सांसद् रानाले अब जनताको सहभागितामा विकासका कार्यक्रम हुने भन्दै अगाडि थपे–‘त्यस्तो विकासको सुरुवात गाउँघरबाटै हुनेछ ।’ सांसद् रानाले चुनावमा भएको आफ्नो जित जनताको जित रहेको बताए । 

 


    यसैगरी, प्रदेश सांसद् नेपालु चौधरीले घुरहा नदीको किनारमा रहेको जनता आधारभूत विद्यालयको संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताए । उनले भने–‘नदीबाट जोगाउनका लागि प्रदेश सरकारले पहल गर्नेछ ।’ सांसद् चौधरीले आउने वर्ष विद्यालय आसपास घुरहा नदीमा तटबन्ध गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाए । 
    कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर विद्यालयलाई सहयोग गर्ने उल्लेख गरे । उनले खानेपानीको व्यवस्था समेत गरिने प्रतिबद्धता जनाए । 
    ‘हामी प्रदेश सरकारसंग समन्वय गरेर विद्यालयको भौतिक विकासका लागि सहयोग गर्नेछौं’, अध्यक्ष चौधरीले भने । 

 


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसमझ चौधरीको अध्यक्षतामा भएको भवन शिलन्यास कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु, वडा नम्बर ९ का अध्यक्ष खेमराज चौधरी, विल्ड अन नेपालका यज्ञराज चौधरी, गाउँका भलमन्सा मानबहादुर चौधरी लगायत विद्यालय परिवार, गाउँवासीको उपस्थिति रहेको थियो । शिक्षिका गुणपति चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक रामबाबु चौधरीले गरेका थिए । 
    विविध माग सहित विद्यालयले प्रदेश सांसद् चौधरी र गाउँपालिकालाई ज्ञापनपत्र समेत बुझाएको छ । 

 


    यसैबीच, गहुँ सुपरजोन कार्यक्रमका प्रतिनिधि र स्थानीय सरकारबीच शुक्रवार गहुँ सुपरजोन विस्तारबारे लौसामा छलफल भएको छ । छलफलले कैलारी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६ र ९ गहुँ सुपरजोन कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ । यसका लागि केन्द्रमा लिखितपत्र पठाउने जनाइएको छ । गाउँपालिकाको वडा नम्बर २ र ८ मा यसअघि नै गहुँ सुपरजोन कार्यक्रम लागू भएको थियो । 
    छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु, कार्यक्रम विस्तार हुने सम्बन्धित वडाका वडा अध्यक्षहरु, गहुँ सुपरजोन कार्यक्रमका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।