Close This

हैटीको भूकम्पमा १० को मृत्यु

सोमबार असोज २२, २०७५/ Monday 10-08-18
Paschim Today

हैटीमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेटमा सो भूकम्प गएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षणसम्बन्धी संस्थाका अनुसार पोर्ट–डी–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

भूकम्पबाट घर, भवन, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ । भूकम्पबाट धेरै मानिस घाइते भएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी पोर्ट–ओ–प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म अनुभव गरिएको थियो । हैटीमा यसअघि सन् २०१० मा गएको ७ म्याग्निच्युडको विनाशकारी भूकम्पमा करिब तीन लाख मानिसको मृत्यु भएको थियो ।

यसैबीच, जापानको नागानोमा आइतबार ५.१ म्याग्निच्युडको भूकम्प गएको जापानको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सो भूकम्प आइतबार बिहान १० बजेर १४ मिनेटमा गएको थियो । भूकम्पबाट धनजनको कुनै ठूलो क्षति नभएको स्थानीय अधिकारीहरूले बताएका छन् ।