Close This

वन क्षेत्रमा राजधानी बनाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट

सोमबार असोज २२, २०७५/ Monday 10-08-18
Paschim Today

धनगढी, २२ असोज । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा बनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । 
    उक्त वडामा पर्ने अन्तर्राष्ट्रिय महत्वको जैविकमार्ग अन्तर्गतको चुरे भावर क्षेत्रको वन मासेर राजधानी बनाउन नहुने भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल काठमाण्डौंमा बस्दै आएकी अधिवक्ता देवीकुमारी जोशीले सोमवार सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन । उनले ‘उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरी पाउँ’ भनेर रिट निवेदन दर्ता गराएकी छिन् ।  


    अधिवक्ता जोशीले रिट निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार काठमाण्डौंलाई विपक्षी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक सांसद् तारा लामा तामाङ्गलाई प्रतिवादी बनाएकी छिन् ।