छटकपुर बसन्तामा थारु होमस्टे

बुधबार असोज २४, २०७५/ Wednesday 10-10-18
Paschim Today

धनगढी, २४ असोज । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित छटकपुर बसन्ता गाउँमा ‘बसन्ता कोरीडोर थारु होमस्टे’ सञ्चालनमा आएको छ । 
    ग्रामीण क्षेत्रमा पर्यटन विकास र अन्तर्राष्ट्रिय महत्वको बसन्ता जैविकमार्गको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो । झन्दै अढाई सय घरधुरी रहेको उक्त गाउँमा हाल २५ घरमा होमस्टे रहेको गाउँका अगुवा लिखराम चौधरीले जानकारी दिए ।  


    बुधवार एक कार्यक्रमकाबीच प्रदेश सांसद् वीरमान चौधरीले बसन्ता कोरीडोर थारु होमस्टेको उद्घाटन गरे । सो अवसरमा उनले बसन्ताका कोरीडोर अन्तर्राष्ट्रिय रुपमा परिचित क्षेत्र रहेकाले होमस्टे आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने बताए । 
    यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बसन्ता कोरीडोर होमस्टे प्राकृतिक र साँस्कृतिक सम्पदाले महत्वपूर्ण रहेका कारण अनुसन्धानकर्ताको लागि पनि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । 


    कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाले ग्रामीण क्षेत्रमा पर्यटन विकासका लागि नीतिगत व्यवस्था गरेकाले होमस्टेको विकासका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘हामी कार्यविधि बनाएर सहयोग गर्नेर्छौ’, उनले भने–‘तर, होमस्टे गाउँपालिकाको कानून अनुसार सञ्चालन हुनुपर्छ ।’
    उद्घाटन कार्यक्रममा अधिवक्ता डा. जानकी तुलाधर, भादा थारु होमस्टे गाउँका अध्यक्ष लक्ष्मीनारायण चौधरी लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा थारु सखिया र झुमरा नाच देखाइएको थियो । 


    बसन्ता कोरीडोर थारु होमस्टेमा बसन्ता जैविकमार्ग, तालतलैयाको अवलोकन तथा परम्परागत थारु खानपानको व्यवस्था रहेको होमस्टे सञ्चालक समितिका जालुराम चौधरीले जानकारी दिए ।  
    बसन्ता कोरीडोर थारु होमस्टे गाउँ कैलालीको धनगढीबाट करिब ४० किलोमिटरको दूरीमा पर्दछ ।