Close This

अढाई सय व्यक्तिमाथि छानविन

बिहीबार असोज २५, २०७५/ Thursday 10-11-18
Paschim Today

महेन्द्रनगर, २५ असोज । निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा बुधवारसम्म दुई सय ५० व्यक्तिमाथि अनुसन्धान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृत डिएसपी कृष्णराज ओझाले यो तथ्यांक साउन ११ गते यताको भएको बताए । उनले घटनामा शंकास्पद् व्यक्तिहरुमध्ये धेरैलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर नै सोधपुछ तथा अनुसन्धान गरिएको बताए । उनले भने–‘अनुसन्धानका क्रममा सोधपुछ गर्ने, छोड्ने र निगरानीमा राख्ने काम भइरहेको छ ।’ दोषी पत्ता नलाग्दा सम्म आफुहरुले अनुसन्धान जारी राख्ने पनि ओझाले बताए । जिल्लामा खटाइएका सबै अनुसन्धान टोलीहरु सक्रिय पूर्वक लागेका छन् ।
दोषी पत्ता नलागेसम्म यो नै अनुसन्धानको उपलब्धी हो भनेर कसरी भन्ने अनुसन्धान अधिकृत ओझाले भने–‘त्यसैले कतिपयले प्रहरीले प्रभावकारी अनुसन्धान गरेन भन्ने आरोप लगाइ रहेका छन् ।’ 
घटनामा संलग्नको आशंका गरिएका ब्यक्तिहरुको डीएनए म्याच नभएपछि निर्मलाले न्याय पाउदैन की भन्ने चिन्ता समेत व्यक्त गरिन थालिएको छ । प्रहरीले अनुसन्धान बिभिन्नकोणबाट भैरहेको बताएपनि सफलताको नजिक पुग्न सकेको छैन । 
यसैबीच, निर्मला पन्तको न्यायका लागि भीमदत्तनगरमा भैरहेको आन्दोलन कोजाग्रत पूर्णिमासम्मका लागि स्थगित गरिएको छ ।
नागरिक संघर्ष समिति र दबावमूलक संघर्ष समितिले निरन्तर आन्दोलन गरिरहेका थिए । विज्ञप्ती जारी गर्दै दशैको अवसरमा सर्वसाधारणलाई मार्का पर्न सक्ने भन्दै आन्दोलन कोजाग्रत पूर्णिमासम्मलाई आन्दोलन रोकिएको महिला मानव अधिकारकर्मी हेलन श्रेष्ठले बताइन ।  गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो ।